काठमाडौं (फागुन १५) - कोटेश्वर-कलंकी (१०.३९ किलोमिटर) ८ लेनको सडक निर्माण सम्पन्न भएको तीन वर्ष पूरा भइसकेको छ। २७.२ किलोमिटरको रिङरोडलाई ८ लेनको बनाउने योजनाका साथ पहिलो चरणमा कोटेश्वर-कलंकी खण्डलाई ८ लेनको बनाइएको हो।
विसं २०३२ सालमा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटरको चक्रपथ निर्माण भएको थियो। अहिले चीन सरकारको आर्थिक तथा प्राविधिक अनुदानमा चक्रपथ सडक विस्तार योजना अगाडि बढाइएको हो। सन् २०२९ सम्म पूरै रिङ रोड ८ लेनको बनाउन नेपाल सरकारलाई चीन सरकारले अनुदान सहयोग गर्ने सहमति भएको थियो।
सोहीअनुसार सरकारले पहिलो चरणको सडक विस्तारका लागि सन् २०१२ मा चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। कम्पनीले सन् २०१३ को जुनबाट काम थालेर ४० महिनामा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति गरेको थियो।
सम्झौताअनुसार काम गर्न नसकेपछि सरकारले पटक पटक समय थप गरेको थियो। अन्ततः २०७५ माघमा सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो। पहिलो खण्डको सडक हस्तान्तरण भएकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अब दोस्रो खण्डको काम सुरु हुने बताएका थिए।
हस्तान्तरण कार्याक्रमै ओलीले चिनियाँ पक्षसँग दोस्रो खण्डको सडक विस्तारका लागि प्रारम्भिक सम्झौता भइसकेको र उसले विस्तृत विवरणसहितको डीपीआर बनाउन थालेको उद्घोष गरेका थिए।
सोहीअनुसार दोस्रो खण्डको सडक विस्तारका क्रममा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई तीब्रता दिएको थियो। सरकारले सडक विस्तारको दोस्रो खण्डमा पर्ने रुख कटानीको काम पनि सम्पन्न गरिसकेको छ। चक्रपथ सुधार आयोजनाले पनि सडक विस्तार हुने क्षेत्रमा रहेको अवरोध हटाउन थालेको थियो।
अहिले सडक विस्तार गरिने खण्डको ९८ प्रतिशत साइट क्लियर भइएको आयोजना प्रमुख मेघराज मरासिनी बताउँछन्। यसबाहेक सडकमा रहेको पोल सार्ने लगायत ढल व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ। पहिलो चरणमा पहिले नै साइट क्लियर नहुँदा समस्या आएपछि अहिले सुरुमै साइट क्लियर गर्ने विषयलाई प्राथमिकताको साथ अगाडि बढाएको उनको भनाइ छ।
सुरुमा कलंकी स्युचाटारको पुलदेखि महाराजगञ्जसम्मको ११.४६ किलोमिटर सडक विस्तार गर्ने गरी काम अगाडि बढेको थियो। तर चिनियाँ पक्षले सम्झौताअनुसार ८.२ किलोमिटर अर्थात बसुन्धरा चोकसम्म मात्रै सडक विस्तार गर्ने भनेपछि सोहीअनुसार काम अगाडि बढेको उनको भनाइ छ। ‘सम्झौतामा ८.२ किलोमिटर नै थियो,’ उनले भने, ‘तर नेपाल सरकार, सडक विभागको आग्रहमा ११.४६ किलोमिटर सडक नै विस्तार गर्ने मौखिक सहमति भएको थियो। अहिले उसले सम्झौताअनुसार नै सडक विस्तार गर्ने भन्दै आएको छ।’
तर सडक विस्तारको काम सोचेअनुरुप अगाडि नबढेको मरासिनी स्वीकार गर्छन्। सडक विस्तारको काम गर्न नेपाल सरकारको तर्फबाट सक्रिय रुपमा काम भइरहे पनि अहिले चिनियाँ पक्षले शतप्रतिशत नै साइट क्लियरको विषय अगाडि सारेको उनको भनाइ छ।
‘करिब ९८ प्रतिशत साइट क्लियर भएको छ। तर चिनियाँ पक्षले शतप्रतिशत नै साइट क्लियर खोजको छ,’ उनले भने, ‘हामीले पनि बाँकी साइट क्लियरको कामका लागि सम्बन्धित निकायमा पत्रचार लगायतको काम गरिरहेका छौँ। तथापी हालसम्म डिजाइन नै पाएका छैनौँ।’
आयोजनका अनुसार स्वयम्भू क्षेत्रको दायाँक्षेत्रमा बुद्धको मन्दिर रहेको छ। यो क्षेत्रमा डिजाइन परिर्वतन गरेर भए पनि समस्या समाधान गर्ने बाटोमा लागिपरेको मरासिनी बताउँछन्।
अर्काे विषय, विद्युत प्राधिकरणको ६६ केभीको प्रसारण लाइनको दुईवटा पोल हो। अहिले पोल हटाउनका लागि विद्युत प्राधिकरणले टेन्डरसमेत गरिसकेको छ। अहिले रहेको प्रसारण लाइनको पोललाई मनो पोल अथवा सिंगल पोलमा सट्टापट्टा गरेर भए पनि व्यवस्थापन गर्ने विषयमाा छलफल भइरहेको छ।
तर चिनियाँ पक्षले भने डिजाइन माग्दा पनि डिजाइन उपलब्ध नगराइ शतप्रतिशत साइट क्लियरको विषय अगाडि सारिरहेको छ। आयोजना तथा सरकारी पक्षले भने पहिलो चरणमा विस्तार भएको सडक खण्डमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर अध्ययनकै लागि भनेर डिजाइन माग्दा पनि चिनियाँ पक्षले डिजाइन दिएको छैन। जसका कारण सडकको डिजाइन पहिलेकै अवस्थामा उही रुपमा हुने हो कि भने शंका उत्पन्न भएको छ।
सडकमा लागत तथा सडकमा बन्ने आकाशे पुललगायतका विषयमा पनि कुनै जानकारी पाउन सक्ने अवस्था नरहेको आयोजनाको भनाइ छ। जसका कारण पुनः समस्या आउने सक्ने देखिएको छ। साइट क्लियर गरिसक्दा चिनियाँ पक्ष डिजाइन दिएर एकैपटक निर्माणमा जाँदा सुधार गर्नुपर्ने कुरा भए त्यो सुझाव दिन वा कार्यान्वयन गर्न अप्ठेरो पर्ने आयोजनाको भनाइ छ।
चिनियाँ पक्षले त डिजाइनको त कुरै छाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका बारे कुनैपनि कुरा आफूसँग समन्वय नगरी नबोल्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार नै गरिसकेको छ। विस्तारको विषयमा कुनै कुरा नबोल्न नेपाल सरकारका निकायहरूलाई समेत प्रतिबन्धात्मक आग्रहको पत्र पठाएको हो।
के के थिए पहिलो चरणका त्रुटी?
चक्रपथको कलंकी, सातदोबाटो, कोटेश्वर खण्ड जोखिमयुक्त बनेको विज्ञहरूले समेत बताउँदै आएका छन्। पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन। त्यसैले ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौँ मान्छे सडक वारपार गरिरहेका छन्।
कोटेश्वर, ग्वार्को, सातदोबोटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्रै जेब्रा क्रसिङ छ। बाटो काट्ने यात्रुको चाप हेरेर विभिन्न स्थानमा जेब्रा क्रसिङ थप्नैपर्ने आवश्यकता छ। अहिले चार वटा आकाशे पुल बनिसकेको र ७ वटा बनाउने क्रममा रहेको छ।
सडकको डिजाइनमै त्रुटी हुँदा यस्तो समस्याहरू आएको सडक विभागले नै स्वीकार गरिसकेको छ। चक्रपथ सहरी सडक भए पनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिँदा समस्या आएको हो। चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यकता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरूको प्रवृत्ति अनुकुल यो सडक नबनेको विज्ञहरूले विभिन्न छलफलमा बताउँदै आएका छन्।
सडकको बीचका ४ लेनमा ५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारी चलाउन सकिन्छ। यो सहरी सडकमा अत्याधिक गति हो। सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ।
सडकका विभिन्न चोकमा सवारीलाई क्रसिङहरू दिन कुनै पूर्वाधारहरू बनाइएका छैनन्। जसले गर्दा क्रस लिन सवारीहरूलाई पनि ठूलै जोखिम उठाउनुपर्छ। कतिपय स्थानमा त विकल्प समेत छैनन्। सडक पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ।
सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ। २/२ वटा स्पीड लेनहरू छुट्टिने सडकका बीच भागमा ‘मिडियन’हरू राखिएका छैनन् । जसले गर्दा दुईतर्फको लाइट जुधेर दुर्घटनाको जोखिम उच्च हुन्छ।
यसैका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बेला दुर्घटना गराउने जोखिम बढी रहेको छ। रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरूलाई बेवास्ता गरिएको छ। नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ। अझ चक्रपथ फराकिलो हुँदा चालकहरूमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम बढाएको हो।
मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाब पर्छ। बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्काे लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो। तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्नेहरूलाई जोखिममुक्त गराउने कुनै उपाय अपनाइएको छैन।
चिनियाँ पक्षले हालसम्म डिजाइन नदिँदा दोस्रो खण्ड कलंकीदेखि महाराजगञ्जसम्म बन्ने ८ लेन सडकमा समेत पहिलेकै कमजोरी हुने सम्भावना बढेको छ। त्यसैले सरकारले कुटनीतिक रुपमै पहल गरेर डिजाइन मगाए पहिलो खण्डको त्रुटी दोस्रो खण्डमा सच्याउन सहयोग पुग्ने छ।