शुक्रबार, वैशाख २८ गते २०८१    
images
images
चक्रपथ विस्तार

दोस्रो खण्डको डिजाइन नआउँदा सुधारको ठोस योजना बनाउन सकिएन : मेघराज मरासिनी [अन्तर्वार्ता]

images
images
images
दोस्रो खण्डको डिजाइन नआउँदा सुधारको ठोस योजना बनाउन सकिएन : मेघराज मरासिनी [अन्तर्वार्ता]
images
images

उपत्यकामा बढ्दो ट्राफिकलाई सहज बनाउन सरकारले विभिन्न योजना सार्वजनिक गरेको छ। चक्रपथ विस्तार, करिडोरहरू निर्माणदेखि बाहिरी चक्रपथसम्म योजनामा छन्। त्यसमध्ये चक्रपथ विस्तारका लागि चीन सरकारको सहयोगमा पहिलो खण्ड निर्माण भइसकेको छ भने दोस्रो खण्ड निर्माणको पर्खाइमा छ। 

images
images
images

पहिलो खण्डमा केही त्रुटि हुँदा सडक दुर्घटना बढेको गुनासो आइरहेको छ। दोस्रो खण्डमा पहिलोमा जस्तो समस्या नआओस् भनेर सरोकारवालादेखि सरकारी तवरमा पनि छलफल भइरहेका छन्। यही विषयमा चक्रपथ विस्तार आयोजनाले पहिलो खण्डको कमजोरी सुधार गरेर दोस्रो खण्डको विस्तारका लागि के प्रयास भइरहेको छ भन्ने विषयमा चक्रपथ सुधार आयोजना प्रमुख मेघराज मरासिनीसँग बिजनेस न्युजले गरको कुराकानी :   

images

चक्रपथ सुधार आयोजना अन्तर्गतको दोस्रो चरणको विस्तारको काम कसरी अगाडि बढिरहेको छ?

images

चक्रपथ विस्तारमा दोस्रो चरणको कुरा गर्दा कलंकीको स्युचाटार जाने पुलबाट धोबीखोलासम्मको सडक खण्ड ८ लेनको बनाउने हो। सुरुमा ११.४६ किलोमिटर सडक खण्ड विस्तार गर्ने भन्ने हो। अहिले फेरि यसलाई घटाएर बसुन्धरा चोकसम्म मात्र सडक ८ लेनको बनाउने तयारी रहेको छ। 

images
images

अहिले बसुन्धरासम्मको ८.२ किलोमिटर मात्रै विस्तार गर्ने कुरा चिनियाँ पक्षबाट आएको छ। सडको मुख्य लेनलाई चीन सरकारको सहयोगमा विस्तार गर्ने हो। जसरी पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म विस्तार भएको थियो। यसका लागि दुई महिना अगाडि चीनबाट सरकारी प्रतिनिधि स्थलगत अध्ययन गर्न र वस्तुस्थिति बुझ्न आएका थिए।

उनीहरू सडक विस्तार हुने खण्डको साइट क्लियर भएको छ कि छैन भनेर नै बुझ्न आएका थिए। उनीहरूले मुख्य गरी दुईवटा विषय उठाएका छन्। पहिलो स्वयम्भू क्षेत्रको दायाँपट्टिको भगवान बुद्धको मूर्तिहरू रहेको क्षेत्र हो। दोस्रो भनेको ६६ केभीको प्रसारण लाइनको दुईवटा टावर छन्। यी दुई विषयमा बढी चासो देखाएका छन्। 

उनीहरूको चासोलाई सम्बोधन गर्नेगरी नै हामीहरू सम्पर्कमा छौँ। छलफल पनि भइरहेको छ। स्वयम्भू क्षेत्रलाई उनीहरूले पनि पुरातात्विक क्षेत्र भएका कारणले यसलाई चलाउन नहुनेमा सहमत छन्। उनीहरूले त्यो क्षेत्रको डिजाइन नै केही परिर्वतन गर्नुपर्ने भएमा पनि गरौँला, यो विषयमा हामीले हेरिरहेका छौँ र हेर्छौं पनि भनेका छन्। 

तर लिखित रुपमा कुनै सहमति भने भइसकेको छैन। दुई ठाउँको विद्युतको टावर व्यवस्थापनको विषयमा हामीले नेपाल विद्युत प्राधिकरणलाई पटक पटक पत्राचार र समन्वय पनि गरिरहेका छौँ।

पछिल्लो सयममा आएर चिनियाँ पक्षले छिटो काम गरौँ भन्दै के के भइरहेको छ, साइट क्लियर गर्ने विषयलाई विशेष प्राथमिकता दिएर सोधिरहेका छन्। दुईवटा विद्युतको पोललाई हटाएर मनो पोल तथा सिंगल पोलमा सट्टापट्टा गर्ने भन्ने विषय पनि प्राधिकरणले हामीलाई आश्वसन दिएको छ। यही कामलाई छिटो गर्नका लागि हामीले पनि बारम्बार ताकेता गरिरहेका छौँ।

जहाँसम्म लाग्छ यो काम विद्युत प्राधिकरणबाट अब छिटै हुन्छ होला। चीन सरकारले पनि यसको सुनिश्चतता खोजिरहेको छ। तर हामी आफैले त्यो काम नगर्ने भएको हुँदा यो समयसम्म गर्न सक्छौँ वा गर्दिन्छौँ भन्न भने सकिरहका छैनौँ। हामीले त्यही भएर विद्युत प्राधिकरणसँग केहिलेसम्म काम सकिन्छ सोहीअनुसारको योजना पाउन पाए हामी चिनियाँ पक्षलाई सोको जानकारी गराउँछौँ भनेर भनिरहेका छौँ। ठूला समस्या यिनै हो अरु ठूला समस्या छैनन्।

सडक विस्तारमा पर्ने रुख कटानको काम चाहिँ सकिएको हो कि अझै बाँकी छ?

रुख कटानको काम सकिएको छ। रुख कटानको काम करिब दुई वर्षअगाडि नै सकिएको हो। अब रुख कटानको काममा कुनै समस्या छैनन्। 

पहिलो चरणमा चिनियाँ पक्षले काम सुरु गरेसँगै साइट क्लियरको काम सुरु भएको थियो। जसका कारण आयोजनको काममा केही समस्या पनि आएको थियो। के अहिले चाहिँ चिनियाँ पक्षले विगतजस्तै समस्या अहिले पनि नदेखियोस् भनेर पूरा साइट क्लियर खोजेको हो?

पहिलो चरणको काममा केही असहजता भएपछि चिनियाँ पक्षले अहिले शतप्रतिशत नै साइट क्लियर खोजको सत्य हो।

‘लर्निङ वाई डुइङ’ भने जस्तै नेपालमा काम गर्न त्यति सहज रहेनछ। काम सुरु गरेपछि बीचमा साइट क्लियर गर्ने काम सोचेअनुरुप नहुने रहेछ भन्ने कुरा थाह पाएपछि अहिले चिनियाँ पक्षले शतप्रतिशत नै साइट क्लियर खोजका छन्।

विगतलाई सम्झेर चिनियाँ पक्षले हामीले काम गर्ने क्षेत्रको सबै साइट क्लियर गरिदिनुस् अनि मात्रै हामी आउँछौँ भनिरहेका छन्। करिब करिब हाम्रो साइट पनि क्लियर नै भएको छ। 

तपाईंले सुरुमै ११.४६ किलोमिटर विस्तार गर्ने भने पनि उनीहरूले पछि ८.२ किलोमिटर मात्रै विस्तार गर्छौँ भनेका छन्, भन्नुभयो। किन यो दूरी घट्यो?

प्रारम्भिक सम्झौतामा नै दोस्रो चरणमा ८.२ किलोमिटर विस्तार गर्ने भनिएको थियो। हामीले प्रस्ताव चाहिँ धोवीखोलासम्म गरिदिनु पर्‍यो भनेर गरेका थियौँ।

सुरुवाती छलफलमा उहाँहरूले पनि हामीले राखेको प्रस्तावमा हुन्छ भन्नु भएको थियो। तर अहिले सडक विभागको आग्रहअनुसार काम गर्न नसकिने भन्दै सुरु सम्झौताअनुसार ८.२ किलोमिटर मात्रै विस्तार गछौँ भनेका हुन्। सरकार तथा सडक विभागले चाहिँ ११.४६ किलोमिटरको प्रस्ताव गरेका थिए।

पहिलो खण्डको सडक निर्माण भइसकेपछि डिजाइनको विषयमा प्रश्न उठ्यो। के अहिले पहिलो चरणमा भएका कमजोरीलाई सुधार गर्दै डिजाइन हुन्छ कि चिनियाँ पक्षले एकपक्षीय डिजाइन बनाउने हो?

डिजाइनको विषयमा अहिले मैले केही भन्न सक्ने अवस्था छैन। उहाँहरूले अहिलेसम्म हामीलाई डिजाइन दिनु भएको छैन। डिजाइन दिन्छौँ चाहिँ भन्नु भएको छ। उहाँहरूले डिजाइन दिएको अवस्थामा डिजाइनलाई एक पटक अध्ययन गरेर कमीकमजोरी र राम्रा पक्ष के छन् भनेर थाहा पाएपछि राम्रो पक्षलाई ठीक छ र कमजोरीलाई सुधार गरौँ भन्न सक्ने थियौँ। तर अहिलेसम्म डिजाइन नै दिएका छैनन्।

हामीले यसका लागि पटक पटक आग्रह गरिरहेका छौँ। हामीलाई छिटो डिजाइन दिनुस्। एक पटक हामीले पनि अध्ययन गर्न पाएको अवस्थामा तपाईंहरूलाई पनि भोलि आएर काम गर्न सहज हुन्छ भनेको छौँ।

आजसम्म प्राप्त नभएको र कहिलेसम्म प्राप्त हुन्छ भनेर सुनिश्चित्ता पनि भएको छैन। उहाँहरूले कस्तो डिजाइन गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? पहिलो चरणकै डिजाइनलाई नै कपी गर्दै पो हुनुहुन्छ कि नयाँ बनाउँदै हुनुहुन्छ? यो पनि भन्न सक्ने अवस्था छैन। 

यो चासो हामीले मात्रै नभएर सडक विभाग तथा सरोकारमा रहने अरू सबै निकायले गर्दै आएका छन्। सबै पक्षले लौन डिजाइन चाहिँ छिटो पठाइदिनु पर्‍यो भनेर भनिरहेका छन्। तर डिजाइन आउन सकेको छैन। जसका कारण सडक पहिलेकै जस्तो बन्छ कि देखिएका कमजोरी सुधार गरेर हुन्छ भने सक्ने अवस्था छैनन्। 

पहिलो चरणमा विस्तार भएको कोटेश्वर-कलंकी सडक खण्ड अन्तर्गत कलंकी खसी बजारमा त अझै सडक विस्तारको काम पूरा हुन किन सकेन? 

सम्झौता हुँदा पूरै सडक चिनियाँ पक्षले नै बनाउने उल्लेख थियो। कलंकी खसी बजारमा केही समस्या देखा पर्‍यो। सडकमा जोडिएका घरहरूका कारण विवाद भएको थियो। लामो समयसम्म विवाद समाधान हुन सकेन। केही विवाद अझै पनि बाँकी छन्।

सडक विस्तारको काम अहिले आयोजनाले नै गरिरहेको छ। विवादका कारण समयमै साइट क्लियर हुन सकेन। चिनियाँ पक्षको बढी नै समय खेर गयो। चिनियाँ पक्षले त्यो काम नै छोडेर अगाडि बढे। पछि नेपाल सरकार आफैले गर्नुपर्ने बाध्यता आयो। अहिले काम भइरहेको छ। दोस्रो चरणमा चाहिँ नेपाल सरकारले आठ लेनको विस्तारमा काम गर्नुपर्ने ठाउँ छैन।

सरकारले त आठ लेनपछिको दायाँ र बायाँ ६-६ मिटरको सर्भिस लेनको सडकका लागि पहुँच मार्ग बनाउने हो। पहिलो खण्डका कतिपय ठाउँमा त अझै पनि पहुँच मार्ग निर्माणको काम सकिएन, किन?

पहिलो खण्डमा विस्तार भएको ८ लेनको सडकसँग जोडिने दायाँबायाँ ६/६ मिटरको पहुँच मार्ग निर्माणको काम पूर्ण रुपमा हुन नसकेको सत्य हो। साच्चिँकै भन्नुपर्दा ५० प्रतिशत मात्रै काम भएको छ। विवाद नभएको ठाउँमा काम सम्पन्न भएको छ।

विवाद भएको ठाउँमा काम हुन सकेको छैन। व्यक्तिका घर तथा जग्गा भएको ठाउँमा विवाद भएको छ। हामीले त विवाद नभएको र विस्तारका लागि जग्गा भएको ठाउँमा काम गर्ने हो। जग्गा भएको ठाउँमा काम सम्पन्न भएको छ। केही ठाउँमा अहिले पनि काम भइरहेका छ। 

दोस्रो चरणको सडक विस्तारसँगै अब दायाँबायाँ ६/६ मिटरको पहुँच मार्ग नबन्ने हो?

जग्गा भएको ठाउँमा पहुँच मार्ग बन्छ। जग्गा विवाद रहेको ठाउँमा समाधान गर्ने काम नेपाल सरकारको नै हो। तर अहिले सडक विस्तारसँगै पहुँच मार्गको काम पनि सँगैसँगै बढ्छ। कतिपय ठाउँमा त मेन सडक विस्तारको काम सुरु नहुँदै पहुँच मार्ग निर्माणको काम पनि अगाडि बढ्ने स्थितिमा पुगेको छ। 

दोस्रो चरणको सडक विस्तारको काम सुरु हुन अझै केही सयम लाग्ने अवस्था आएको हो?

अहिले नै यही समयबाट दोस्रो चरणको सडक विस्तारको काम सुरु हुन्छ भनेर भन्न सकिने अवस्था छैन। चिनियाँ पक्षले पूर्ण साइट क्लियर भएपछि मात्रै काम थाल्ने बताएका छन्। ९८ प्रतिशतभन्दा बढी साइट त क्लियर भइसकेको छ। बाँकी रहेको काम पनि प्रक्रियामा छ। आशा गरौँ, छिट्टै सडक विस्तारको काम सुरु हुन्छ।

लकडाउन अगाडि नै साइट क्लियरको एक चरणको काम सम्पन्न भइसकेको थियो। अहिले काम सुरु हुन नसक्नुका प्रमुख कारण के हो? चिनियाँ पक्षले काममा चासो नदेखाएको हो कि हामीले उसले भनेअनुसार काम गर्न नसकेका हौँ?

हामी त सडक विस्तारका लागि सक्रिय रुपमा नै लागि परेका छौँ। वास्तवमै भन्ने हो भने सडक विभागलाई टाउँको दुखाइ नै भइसकेको छ। जनताले धुलो धुँँवा तथा हिलोको समस्या भोग्न बाध्य छन्। हामीलाई एकदमै चासो छ। हामी सक्रिय रुपमा लागिपरेका पनि छौँ। यसका लागि सम्बन्धित पक्षलाई पत्रमार्फत तथा भेटेर नै भनिरहेका छौँ। तर चिनियाँ पक्षले किन काममा चासो नदेखाएका हुन्। हामीले कारण नै बुझन सकेका छैनौँ। 

कारण यही हो भनेर हामीले भन्ने सक्ने अवस्था पनि छैन र भन्न पनि सक्दैनौँ। उहाँहरूले गर्ने कामको डिजाइन मात्रै भए पनि दिनुस् भनिरहेका छौँ। हामीले पनि डिजाइन हेरेपछि सुझाव तथा सुधार गर्ने विषयमा रहला। हाम्रो सुझाव मान्लान् वा नमान्लान् त्यो फरक विषय हो। तर कारण के हो भनेर भन्न सक्ने अवस्था छैन।

पहिलो चरणको सडकमा देखिएको समस्या समाधानका लागि के भइरहेको छ र समस्याहरू के-के देखिएका छन्?

पहिलो खण्डको सडकमा देखिएको समस्या समाधान निरन्तर रुपमा छलफल भइरहेको छ। अहिले ट्राफिक लाइटको व्यवस्थापनका लागि समेत सरोकारवाला निकायसँग छलफल भइरहेका छ।

आवश्यकता अनुसार आकाशे पुल बनाउने काम पनि भइरहेका छ। तर केही ढिलाइ भने भएको छ। थप फेरि यातायात कार्यालय अगाडि पनि आकाशे पुल बनाउने प्रक्रिया सुरु भएको छ। ग्वार्कोमा फ्लाई ओभर बनाउने काम पनि सुरु भएको छ।

सडक लाइट जडानका लागि पनि महानगरिपालिका लगाायतका निकायसँग सम्झौता भइसकेको छ। सडकमा देखिएका समस्या र जनगुनासोलाई सम्बोधन गर्दै लैजाने हो। डिजाइन प्राप्त हुने हो भने हामीले त्यसमा पनि सुधार गर्न सकिने थियो। अब यो विषय भने डिजाइन आएपछि मात्र भन्ने सकिने भयो। 

images

प्रकाशित : आइतबार, फागुन १५ २०७८०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend