‘जंगबहादुर’ ध्वनी जब आसापास गुन्जन्छ, तत्क्षण अधिकांशको कल्पनामा सुदूरबाट एक ‘क्रूर’ व्यक्तित्वको पदार्पण हुन्छ। अतीतमा पूर्वजमाथि तिनले गरेका दमन र शोषणका खाटा बसिसकेका श्रुतिहरू स्मृतिमा बहन थाल्छन्।
हृदयमा गढेका क्रोधमिश्रित कौतूहल पुनः प्रश्नचिह्नसहित सतहमा तैरन्छन् - मानिस यतिविघ्न निर्दय, व्यभिचारी, कपटी, अत्याचारी, निरंकुश, क्रूर कसरी हुन सक्छ?
तर, कतिपय इतिहासकार भने जंगबहादुर राणालाई ‘युगले मागेको नेता’ भन्न रुचाउँछन्। तत्कालीन समयको चरम राजनीतिक विचलनका बीच शासन सत्ता यिनको हातमा परेपछि नै स्थिरता आएको उनीहरूको तर्क छ।
पृथ्वीनारायण शाहको निधनपश्चात् नेतृत्वमा आएका राजा प्रतापसिंह शाहको समयदेखि नै शक्तिका लागि दरबारमा सुरु भएको हानाथाप र षड्यन्त्र यिनको देहान्तपछि झनै चर्किन पुग्यो। राजाहरू नाबालक हुनु, राजमाताहरूको हस्तक्षेप बढ्नु, तीनमुखे सत्ताधिकार, बढ्दो गुटबन्दी, परिवारभित्रै शक्तिको होडबाजी, मौलाउँदो दरबारिया षडयन्त्र र सबै सत्ता हत्याउने दाउमा लाग्दा अस्थिर बन्दै गएको नेपालको राजनीतिलाई थिर बनाउन एक सबल र सक्षम नेतृत्वको खाँचो परेको थियो। जसको पूर्ति जंगबहादुरबाट भयो।
राजनैतिक अस्थिरताले उग्ररुप लिएको परिस्थितिमा अवसरवादीहरू गतिशील हुँदा भारदारहरू, प्रधानमन्त्रीहरू मारिनु, राजा राजेन्द्रको अस्थिर मनस्थिति र कमजोर व्यक्तित्वका कारण दरबारभित्रै एकपछि अर्को बीभत्स घटना घटिरहेको समय जंगबहादुरको उदय हुनु र एकतन्त्रीय हुकुमी शासन ‘जहानियाँ राणा शासन’ को जग बस्नु ‘समयको माग’ का रुपमा पनि कतिपयले अर्थ्याएका छन्।
‘जंगबहादुर अधिनायकवादी र निरंकुश शासक अवश्य थिए, यसमा शंका छैन। तर आफ्नो निजी स्वार्थलाई मात्र सर्वोपरी ठानेर राष्ट्रको इज्जत र मर्यादामा आँच आउने काम कहिल्यै गर्दैनथे। नेपालको गौरव र प्रतिष्ठा बढाउन उनी हरदम तत्पर रहन्थे’, 'राणा शासनको वृत्तान्त' पुस्तकमा प्रमोदशमशेर राणाले लेखेका छन्।
हृदय कोमल कम कठोर ज्यादा भएका यिनको प्रशंसा, यिनले गरेका सुकर्मको चर्चा खासै सुन्न-पढ्न जुर्दैन। प्रजातन्त्र प्राप्तिपश्चात् पढाइएको इतिहासमा यिनको सम्झना केवल ‘क्रूर शासक’ उदाहरणार्थ प्रस्तुतिमा साँघुरिएको छ। जबजब कुनै शासकको अत्याचारले सीमा पार गरेको भान हुन्छ तबतबमात्र ‘जंग अतीत’ को स्मृति वर्तमानमा हुन्छ। यिनले गरेका सुकृत्य यिनैका कुकृत्यको छायामा छेलिँदै आएको छ।
त्यसो त आजको युगलाई हिजोको युगसँग तुलना गर्दा उनका सुधारका काम उति उम्दा नलाग्न सक्छन् तर त्यस कालमा पुगेर एक क्षण उभिने हो भने उनले थालेका पहल प्रंशसनीय छन्। उनले आफ्नो ३१ वर्ष लामो शासनकालमा केही राम्रा थिती बसाउने प्रयत्न गरेका छन्। उनका सुकीर्ति पनि चर्चा गर्नलायक छन्।
हृदयले कठोर, बुद्धिले कुटिल र स्वभावले वीर प्रकृतिका अति महत्वकांक्षी व्यक्ति थिए जंगबहादुर। कोतपछि उदाएका यिनलाई भण्डारखाल घटनाले शक्तिको शिखरमा पुर्यायो।
सत्ता शक्ति आफूमा निहित भएसँगै यिनले धेरथोर न्यायिक, सामाजिक, आर्थिक सुधारका कार्य पनि अघि बढाए। तारिफयोग्य पहिलो काम यिनले छरिएर रहेका नियमकानूनलाई एकत्रित गरी विसं १९१० मा ऐनको प्रकाशन गरे, जुन कानून मुलुकी ऐनका रुपमा प्रख्यात छ।
पहिले राजा, मुख्तियार, प्रधानमन्त्रीहरूले धार्मिक मान्यता, प्रथा र परम्परामा आधारित भइ दिने हुकुम, उर्दी, आदेशमा मुलुकको शासन व्यवस्था सञ्चालन गरिँदै आइएको थियो। बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकको भ्रमणबाट फर्किएपछि भने त्यहाँका राजनीतिक र भौतिक विकास नियालेका जंगबहादुरलाई ‘आफूहरू त पाषाण युगमै रहेछौँ’ भन्ने लाग्यो। उर्दी र आदेशको सट्टा लिखित विधानबाट शासन सञ्चालन गर्नु उचित ठानी ऐन तर्जुमा गर्न कौशल अड्डा खडा गरे।
तीन वर्षसम्मको ठूलो परिश्रमपछि एउटा विस्तृत ऐन तयार भयो। महल-महल, दफा-दफा छलफलपछि 'मुलकी ऐन' नामाकरण गरियो। यसमा १० पटकसम्म संशोधन गरिएको थियो। राजा सुरेन्द्र र युवराज त्रैलोक्यसमेतले हस्ताक्षर गरी लालमोहर लागेको दिनदेखि नै विसं १९१० पुस ७ गते नेपाल अधिराज्यभर यो मुलुकी ऐन लागु भयो।
झन्डै १ हजार ४ सय पृष्ठको लिखित ऐनमा देशमा कानूनी समानता ल्याउन, कानून जनसमक्ष पुर्याउन, चोरीडकैती, हत्याहिंसा, अंगभंगजस्ता अपराधमा आर्थिक दण्ड दिन, जग्गाको किसिम, खरिदबिक्री, भूमिपति र मोहीबीचको सम्बन्ध, कर न्याय र सार्वजनिक प्रशासन, व्यापार, ठगी, बलात्कार, विवाह, सतीप्रथा, दासप्रथा, जुवा, पारिवारिक सम्पत्ति, करार इत्यादी विषयहरू समावेशले तत्कालीन समाजमा नयाँ आयाम थपेको पाइन्छ।
भनिन्छ, त्यतिबेला नेपालको दण्ड प्रणाली कठोर ठानेर भारतस्थित इस्ट इन्डिया कम्पनीले नेपाल सरकारसँग अपराध सुपुर्द सन्धि गर्न हिचकिचाएको थियो। यिनको संग्रहित ऐनमा न्यायनिसाफ दिने न्यायाधीशसमेतलाई पनि कठोर दण्डको व्यवस्था गरिएको पाइन्छ।
विदेशमा स्वदेशको सम्पत्ति राख्न नपाउने नियम बनाउनु त्यसबखतका उनका उपलब्धिमूलक कार्यहरू थिए। विदेशबाट पैठारी हुने कतिपय सामानहरूमा पनि भन्सार महसुल वृद्धि गरी स्वदेशी सामानलाई प्रोत्साहन दिने नीति अपनाइएको थियो।
यस्तै, उद्योग वाणिज्य क्षेत्रमा सकभर विदेशी लगानी र विदेशी व्यापारीहरूलाई प्रोत्साहन दिनु हुँदैन भन्ने नीति त्यसबखत अपनाइएको थियो।
नेपालजस्तो सानो देशमा विदेशीहरूको प्रवेशमा केही नियन्त्रण नगरेमा सम्पूर्ण उद्योग व्यवसाय विदेशीकै हातमा पर्न गइ देशको अर्थतन्त्र खलबल पर्छ भन्ने विचार त्यतिबेला प्रभावित देखिन्छ। यसकारण पनि सन् १८५८ मा विलियम नोरिस नामका एकजना अंग्रेज उद्योगपतिले नेपालमा टिम्बरसम्बन्धी काठको व्यवसाय चलाउन भाइसरायलर्ड क्यानिङको सिफारिससहित निवेदन गर्दा जंगबहादुरले अनुमति दिएनन्।
जंगबहादुरको समयमा आएर नेपालमा बेलायती मोडलको आधुनिक प्रशासनिक संयन्त्रहरू पनि सञ्चालन भएको पाइन्छ। यिनले नयाँ-नयाँ विभागहरूको स्थापना गर्दै प्रशासन यन्त्रमा आधुनिकीकरण गरी देशको दैनिक प्रशासन चलाउनका लागि मुलुकी अड्डा, जंगी अड्डा, कौशल अड्डा, वन विभाग र वन अड्डा, तोपखाना, सराफखाना, किताबखाना, मुलुकीखानालगायत विभिन्न विभाग स्थापना गरेका थिए।
जंगबहादुरद्वारा स्थापित ऐन जंगी अड्डामा सैनिक प्रशासन सञ्चालन गर्न, कौशल अड्डा ऐन बनाउन, ऐनखाना बनाउन र मुलुकी अड्डा तथा दैनिक प्रशासन चलाउनका लागि प्रयोग गरिएको थियो।
त्यसैगरी, वनको संरक्षण गर्न वन विभाग, तोपहरूको व्यवस्थापनका लागि तोपखाना, स्वदेशी तथा विदेशी व्यापारीहरूको हितलाई मध्यनजर गरी हालको राष्ट्र बैंकले गर्ने काम गर्नका लागि सराफखानासहित सैनिक कर्मचारीहरूको लगत राख्न किताबखाना र सरकारी राजस्व जम्मा गर्नका लागि मुलुकीखाना जस्ता नयाँ विभागहरू स्थापना गरेका थिए।
मुलुकीखाना, सराफखाना आदि आर्थिक कामकारोबार हेर्न नयाँ अड्डाहरू स्थापना गरिए। कौसी तोषाखाना राष्ट्रको मुख्य ढुकुटी थियो। यसअघि कौसीबाट रूपैयाँ झिक्नुपरेमा राजाको स्वीकृति लिनुपर्थ्यो। अब त्यस्तो स्वीकृति महाराजाबाट मात्र भए पुग्ने नयाँ व्यवस्था भयो।
सन् १८४८ मा कमान्डरी किताबखाना स्थापना भयो। यो अड्डाले जंगी तथा निजामतीतर्फका सम्पूर्ण कर्मचारीहरूको नामनामेसी, उमेर, जागिर खाएको मिति तथा कर्मचारीलाई पाउने तलब खानकीसमेतको लगत खडा गरी दुरुस्तसँग राख्ने काम तोकियो।
ऐनकानूनमा आवश्यकताअनुसार थपघट गर्नुपर्ने देखिएमा त्यसमा विचार गरी कौशल अड्डामा सुझाव चढाउन ऐनखाना भन्ने नयाँ अड्डा पनि स्थापना भयो। यीबाहेक जिल्ला-जिल्लामा अड्डाअदालतहरू राखिए र सदरमा कौशल अड्डा स्थापना, प्रधानमन्त्रीको निवासस्थानमा खड्गनिसाना अड्डा खडा भयो।
कमान्डर इन चिफदेखि जंगी तथा निजामतीका सम्पूर्ण कर्मचारीको नियुक्ति एक वर्षका लागिमात्रै हुन्थ्यो। प्रत्येक वर्ष दसैँअगाडि पजनी हुन्थ्यो। पजनी हुनु केही समयअगाडि सबै कर्मचारीहरूको कामकाजको रिपोर्ट, हाजिरी र चालचलनसम्बन्धी गोप्य सूचना रिपोर्ट सबै बुझिन्थ्यो अनि यसैका आधारमा राम्रो काम गर्नेहरूलाई नगद पुरस्कार, तलबमा थप तथा बढुवासमेत गरिन्थ्यो। नराम्रो काम गरेका ठहरिएकालाई उनीहरूले गरेको कसुरको मात्रा तथा गम्भीरता हेरी केही दण्ड जरिवाना हुन्थ्यो। ठूलै कसुर गरेको ठहरिन आएमा सेवाबाटै अवकाश पनि दिइन्थ्यो।
राज्यव्यवस्था सञ्चालनमा पजनी अत्यन्तै महत्वपूर्ण अंग मानिन्थ्यो। यसै माध्यमबाट प्रधानमन्त्रीले सम्पूर्ण कर्मचारीमाथि सोझै नियन्त्रण गर्थे। कर्मचारीहरूको नियुक्ति, पदोन्नति र बर्खास्त गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित थियो। सेनाको रिकुटमात्र खुला प्रतियोगिताबाट नियुक्ति हुन्थ्यो।
जंगबहादुरको प्रशासन निरंकुश सैनिक शासन थियो र उनी स्वयम् प्रधानमन्त्री र सर्वोच्च सेनापति समेत हुँदा सम्पूर्ण अधिकार उनैमा केन्द्रित थियो। राज्यको मुख्य-मुख्य तालुक सैनिक कमान्डरहरूकै मातहतमा राखिएका थिए।
राज्यव्यवस्था राम्रोसँग चलाउन राष्ट्रको हिसाबकिताब राम्रोसँग राख्नुपर्छ र सरकारी बिगो-बाँकी नियमबमोजिम तहसिल गरिनुपर्छ भनी साविकको कुमारीचोक अड्डालाई पुनर्गठन गरी सम्पूर्ण स्याहास्रेस्ताहरू ठीक दुरुस्त गरी राख्ने व्यवस्था मिलाइयो। यो अड्डाको राम्रोसँग रेखदेख गर्न कुमारीचोकको तालुक जंगकै भाइ रणोद्दीपसिंहले पाए।
यिनले कचहरी सभाको व्यवस्था गरी ऐनमा ३५ वर्षकी अविवाहित छोरीलाई छोरासरह अंश दिनुपर्ने प्रावधान राखेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
सामाजिक सुधारका रुपमा विवाह प्रथामा सुधार गरी ५ वर्षभन्दा कम उमेरकी नाबालिका छोरीको विवाह गर्न नपाइने, साढे दुई वर्षभन्दा कम उमेरकी छोरीको विवाह गर्ने अभिभावकको सम्पूर्ण सम्पत्ति जफत गर्ने र विधवा विवाहलाई प्रोत्साहन गर्ने परिपाटीको सिर्जना गरेका थिए।
यस्ता सामाजिक कुरिती हटाउने क्रममा उनले सतीप्रथा, जुवा खेल्ने, दासप्रथा प्रथालाई धराशायी बनाउने वातावरण सिर्जना गरे।
सतीप्रथा विकृति हो भन्ने धेरै पहिलेदेखि नै महसुस भए पनि यिनकै पालामा आएर केही प्रतिबन्ध लागेको थियो। मुलुकी ऐनमा जंगबहादुरले सतीप्रथा रोक्नका लागि १६ वर्ष नपुगेकी विधवा सती जान नपाउने, द्विजिया विधवा, धेरै लोग्ने हुने आईमाई, छोराको मृत्युमा आमा र कुमारीहरू सती जान नपाउने नियमलाई ऐनमा समावेश गरेका थिए।
भारतका गभर्नर जनरल विलियम बेन्टिकले सतीप्रथा हटाउने ऐन बनाएर सतीप्रथा रोकेको सुनेर प्रभावित भएका जंगबहादुरले कसैले बलजफ्ती गरी कुनै पनि विधवालाई सती पठाउन पाइँदैन, तर विधवाले जाने हठ गरेमा स्थानीय जिल्ला अधिकारीको पूर्वस्वीकृति प्राप्त गरेर मात्र सती जान दिनू भन्ने व्यवस्था गरे। यो नियमले सती जानमा केही हदसम्म बन्देज भयो।
जंगका भाइहरू बमबहादुर र कृष्णबहादुरको निधन हुँदा विधवा बुहारीहरूलाई सती जानबाट रोकेका यिनले छोरीलाई पनि सम्हाल्न सफल भए भने १८५२ मा बडा कप्तान रणमेहरको मृत्यु हुँदा उनकी पत्नीहरूलाई पनि सती जान नदिएर रोके। यसरी ख्यातिप्राप्त व्यक्तिहरूको मृत्यु हुँदा विधवाहरू सती नगएको देखेपछि बिस्तारै यो कुप्रथा समाजबाट हट्नेछ भन्ने जंगको धारणा थियो। तर विडम्बना, यिनी स्वयम् चितामा जल्दा यिनकी तीन पत्नीहरूलाई पतिका साथ जिउँदै जल्नबाट यिनका भाइ तथा छोराहरूले रोकेनन्।
यद्यपि यिनको अभियान पूर्णरुपमा सफल हुन नसके पनि, सतीप्रथाको मूलोच्छेदन गर्न नसके पनि आफ्नो शासनकालमा उन्मूलनका लागि यिनले गरेका प्रयास सराहनीय मान्न सकिन्छ। सती प्रथा विकृति हो भन्ने कुरा पृथ्वीनारायण शाहको पालादेखि नै महसुस भए पनि भीमसेन थापाको पालामा यो कुप्रथा हटाउन केही प्रयास भएका थिए। जंगबहादुर पनि असफल भएकामा अन्ततः चन्द्रशमशेरले भने पूर्णरुपमा बन्देज गराउँदै यो प्रथालाई उन्मूलन गर्न सफल भए।
जंगबहादुरले समाजलाई जुवामुक्त बनाउन बाह्रमासे जुवामा प्रतिबन्ध लगाउँदै केवल मनोरञ्जनका लागि मात्र १२ महिनामा ११ दिन चाडपर्व पारेर मात्र जुवा फुकाएका थिए। उनले जुवासम्बन्धी ऐन जारी गरेर नियमविरूद्ध जुवा खेल्ने, हेर्ने र जुवा खेलाउने, जुवा खेल्न ऋण दिनेलाई दण्ड सजायको व्यवस्था गरे। यसको अतिरिक्त जिन्सी राखेर जुवा खेल्न नपाउने नियम पनि बनाए। यद्यपि यिनी स्वयम् भने मृत्युपर्यन्त जुवाबाट मुक्त हुन सकेनन्।
दासप्रथा उन्मूलनका लागि पनि यिनको समयमा केही प्रयासहरू भए। मञ्जुरीबेगर दासदासी बनाउन नपाउने नियम बनाइएको थियो। यदि कसैले स्वतन्त्र व्यक्तिलाई दास बनाउँछ भने त्यस्तो व्यक्तिलाई ३५० रूपैयाँ जरिवाना वा ४ महिनाको कैद सजाय हुने नियम बनाएका थिए। सन् १८६७ मा नेपाली व्यापारीले भारतबाट खरिद गरेका करिब ४५० जना दासदासीहरूलाई मुक्त गरेर उनीहरूलाई आफ्नै देशमा फिर्ता पठाएका थिए।
यिनले सरकारी हुलाकी नियुक्त गरी थाप्ले र कागते हुलाकी प्रथा पनि चलाए। थाप्ले हुलाकीले जिन्सी भारी बोक्थ्यो भने कागते हुलाकीले चिठीपत्रहरू बोक्थे।
युरोपेली ढाँचामा सेनालाई तालिम दिने उपयुक्त वर्दीको व्यवस्था गरी नयाँ छाउनी र ब्यारेकहरूको व्यवस्थापनसमेत गरे। सामाजिक क्षेत्रमा यिनले गरेका सुधार प्रयासकै कारण यिनलाई कतिपय इतिहासविदहरूले 'सुधारवादी शासक'का रुपमा पनि व्याख्या गर्ने गरेका छन्।
जंगबहादुरले त्यो समयमा पनि बेलायतको विकासबाट प्रभावित भएर टेलिफोन, रोप्वे र विद्युत सम्भाव्यताको अध्ययन गर्न र स्वयम्भूको मन्दिर जीर्णोद्वार गर्न क्रमशः यूरोपेली विशेषज्ञ र चिनियाँ कलाकारहरू झिकाएका थिए। बेलायतबाट ल्याएको एउटा हाते प्रेसबाट नेपालमा छापाखानाको विकास भएको मानिन्छ।
रणबहादुर शाहको पालामा ब्राह्मणहरूको बासट्ठीहरण गरिएको जमिनको सट्टाभर्ना हुनेगरी बाँझो जग्गा उपलब्ध गराएर गुरुपुरोहितको मन जित्न पनि यिनी सफल भएका थिए। फौजी व्यवस्थालाई सुदृढ पार्न तोप र राइफल मर्मत गर्ने कारखानाको निर्माण कार्य गर्दै मालपोत उठाउन सरकारी कर्मचारीहरूको बन्दोबस्त मिलाएर यिनले नेपालमा सर्वप्रथम जनगणना लिने व्यवस्थाको थालनी गरे।
‘जंगबहादुर अरुद्वारा पत्रपत्रिका पढ्न लगाइ सुन्ने, मितव्ययितामा जोड दिने, पारिवारिक खर्चको कारोबार आफै गर्ने, नेपाली औषधिको मात्र प्रयोग गर्ने बानी थियो। अंग्रेजका कट्टर भक्त बने पनि जंगबहादुरले व्यापार र सेना भर्तिसम्बन्धी विषयमा नेपालको इज्जत र प्रतिष्ठालाई बिक्री गर्ने काम गरेनन्’, नेपालको बृहत् इतिहासमा डा. बमबहादुर अधिकारीले लेखेका छन्।
बेलायतसँग मित्रताको गाँठो बाँधेर नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) लाई पुरस्कारको रुपमा फिर्ता लिन सके र मातृभूमिको स्वतन्त्रता जोगाएर राख्न सकेका थिए। अंग्रेजको स्वार्थविपरीत नेपालको स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई जोगाउन सफल भए।
रक्तकुण्डमा जहानियाँ शासनको जग बसाएका जंगबहादुरको असल कर्मको चर्चा गरिरहँदा यिनी दोष र कमजोरीरहित थिए भन्ने भने होइन। कुटिल छविका निरंकुश शासक जंगबहादुर अत्यन्त महत्वाकांक्षी व्यक्ति भएर पनि यिनको महत्वाकांक्षा देश र जनताप्रति भने खासै देखिँदैन।
जुवा, अफिम र युवती भनेपछि हुरुक्क हुने यिनले नागरिकको नैसर्गिक अधिकार शिक्षा र स्वास्थ्यमा जोड दिन सकेनन्। नेपालमा अंग्रेजी शिक्षाको जग बसाएको श्रेय पाउने गरे पनि त्यो निःस्वार्थ जनहितका लागि भने थालिएको पहल थिएन। आफू अध्ययनबाट वञ्चित भएका जंगले बेलायत भ्रमणबाट फर्किएपछि आफ्ना छोरा-भतिजालाई अंग्रेजीमा शिक्षा दिनुपर्छ भन्ने मनसुबाले विसं १९१० मा थापाथली दरबारभित्रै विधिवतरुपमा दरबार स्कुल स्थापना गराएका थिए। जहाँ केवल राणा, राजपरिवार र त्यहाँका भारदारका सन्तानले मात्र अध्ययन गर्न पाउँथे।
त्यतिबेला नेपालमा अंग्रेजी माध्यमबाट शिक्षा दिने शिक्षकहरू कोही नहुँदा अंग्रेज र भारतीय शिक्षकहरूलाई नेपाल झिकाइएको थियो दरबार स्कुलमा अध्यापनका लागि। देशमा स्कुलहरू खोलेर जनतालाई शिक्षा दिएमा भविष्यमा शिक्षित नागरिकहरू आफ्नो सरकारको विरोधी हुन्छन् भन्ने डरका कारण सर्वसाधारण नागरिकका सन्तानलाई त्यहाँ पढ्ने अनुमति थिएन।
यिनको कार्यकालमा एक दुईवटा नाममात्रका पाठशालाहरू खुले जसलाई स्कुल भन्न सुहाउँदैन। सन् १८६२ मा नेपालमा आएका ब्रिटिस रेजिडेन्सीका डाक्टर ड्यानियल राइटलले नेपालमा शिक्षाबारे व्यंग्य गर्दै ‘आयरल्यान्डमा सर्प खोज्नु र नेपालमा स्कुल खोज्नु एकै हो, कारण यी दुवै छैनन्’ भनी लेखेका छन्। (राणा शासनको वृत्तान्त, प्रमोदशमशेर राणा।)
जंगबहादुरलाई औषधि बनाउनमा पनि ठूलो सोख थियो। यसैले थापाथली दरबारको बगैँचामा एउटा आयुर्वेदिक प्रयोगशाला स्थापना गरेका थिए। तर औषधालयमा पनि सर्वसाधारणका लागि भने प्रवेश निषेध गरिएको थियो। टुँडिखेलको छेउमा एउटा वैद्यखाना थियो, त्यहाँबाट सामान्य औषधी कहिलेकाहिँ सर्वसाधारणले पाउन सक्थे।
चिरफार आदि काम आफैले गर्न यिनलाई ठूलो रुचि थियो। घरभित्रका रानी, नानी, सुसारे र नोकरहरूलाई घाउखटिरा आएमा उनी स्वयम अग्ररस भइ चिरफारसमेत गरी उपचार गर्थे। औषधोपचार गर्नमा आफ्नो विशेष सोख भए पनि यिनले नेपालमा एउटै अस्पताल पनि स्थापना गरेनन्। थापाथली दरबारमा बस्ने राणा परिवारका निम्ति रेजिडेन्सीका डाक्टर बेलाबखतमा बोलाइन्थे। तर सर्वसाधारण नागरिकले भने यस्तो उपचारको सुविधा पाउँदैनथे।
यिनको चासो तथा झुकाव देश विकासमा कम स्त्रीभोगतिर ज्यादा देखिन्छ। भनिन्छ, यिनका आधिकारिक पत्नीमात्रै ४२ जना थिए। कन्या, सधवा, विधवा जोसुकै केटी भेटे भने मौका पर्नासाथ बसउठ गरिहाल्थे र पत्नी बनाएर घरभित्र ल्याउन कति पनि संकोच मान्दैनथे। यसरी यिनले पत्नीहरू बटुलेर बहुविवाहलाई ठूलो प्रोत्साहन दिइरहे।
सरकारी ढुकुटीमा ढलिमली गरेका जंगले सेवन गर्ने रक्सीहरू फ्रान्स र स्वीट्जरल्याण्डबाट आयात गरिन्थ्यो।
'नेपालको इतिहास दिग्दर्शन' मा रामजी उपाध्याय लेख्छन्- ‘निर्घृणी भोग र वासनापूर्ण जीवन बिताउँदै जंगबहादुरले आफ्नो तीस वर्षको अमात्यकालमा असंख्य रत्न, एक अर्ब रूपैयाँ लुटेर कमाएका थिए। राजनीतिक मञ्चमा प्रवेश गरेदेखि नै मृत्युपर्यन्त यिनको समय हिंसा, कपटाचार, हत्या, लुटपाट, बलात्कार, शोषण र देश द्रोहितापूर्ण नीचताले भरिएको छ। जंगबहादुरले प्रजाजनका निमित्त एउटा इनारसम्म बनाएनन्।’
यिनी पढेलेखेका थिएनन् तर क्षमता असामान्य थियो। हातहतियारको सञ्चालनमा मात्र सिद्धहस्त नभएर पौडी, घोडसवारी, हात्ती तथा वन्यजन्तुहरूको सिकार आदि साहसिक काममा पनि यिनी त्यतिकै सिपालु थिए। अनेकौँ साहस र दुस्साहस, जुक्ति र बुद्धिका कारण जंगबहादुर आफ्नो समयमा प्रधानमन्त्रीका रूपमा लामो समय एक्लो अधिनायक बन्न सफल भए।
‘अब यस्तो कहिल्यै नहोस्’मा इतिहासविद् बाबुराम आचार्य लेख्छन् - ‘हँसिला, मिलनसार स्वभावका भएकाले यिनलाई सब मानिसले मन पराउँथे र मानिसलाई आफ्नोअनुकूल बनाउन यिनी बिछट्टै खप्पिस थिए। समयको गतिलाई पहिचान गरेर त्यसैअनुसार काम गर्न सक्ने जुन विशेष गुण यिनमा विकसित थियो, यसै गुणले यिनलाई उन्नति सिँढीमा उकालो लाग्न सघाएको थियो।’
यिनका बाल्य र युवाकालका केही रोचक प्रसंग पनि छन्।
भीमसेन थापाका भाइ नयनसिंहका ज्वाइँ बालनरसिंह कुँवरकी कान्छी पत्नी (गणेशकुमारी) तर्फका माहिला छोरा हुन् जंगबहादुर। जन्मँदा (विसं १८७४) वीरनरसिंह नामाकरण गरिए तापनि यिनको जंगी स्वभावकै कारण मामा माथवरसिंहले राखिदिएको 'जंगबहादुर' नामले नै यिनी प्रख्यात भए। मावली बोर्लाङमा रहँदा कुनै एकदिन जंगलमा आफ्ना भेडाबाख्रा चर्न छाडी ढुंगामा पल्टेर निदाएका समय जंगबहादुरलाई छहारी दिन एउटा नागले छत्र गरेको थियो रे। उनका मावलीघरका बूढा पुरानियाँहरूले जंगेको भाग्य राजा हुने जस्तो पो छ भन्ने भविष्यवाणी गरेका थिए भनिन्छ।
१४ वर्षकै उमेरमा सुवेदारको पदमा नियुक्त भएका जंगबहादुरले भीमसेन थापाको पतनपछि बाबुसँगै यिनको जागिर खोसिनुका साथै सर्वस्वहरण हुँदा यिनको परिवारले आर्थिक संकट भोग्नुपर्यो। बालकालदेखि नै गलत संगतिमा लागेका यिनको अधिकांश समय जुवाखालमै बित्थ्यो।
एकदिन जंगबहादुरलाई जुवाका खालमा कुनै पल्टने जमादारले रूपैयाँ नतिरेबापत मलमूत्रपूर्ण नालमा उभ्याइ राखेका थिए। त्यसबेला जंगबहादुरको दुर्दशाले द्रवित भइ काठमाडौंमा बस्ने धर्मनारायण साल्मीले त्यस जमादारको समस्त कर्जा तिरेर जंगको उद्धार गरेका थिए। त्यसै उपकारलाई सम्झेर पछि आफ्ना अमात्यकालमा जंगले ती धर्मनारायण साल्मीका छोराहरूलाई मानसम्पत्तिसमेत दिइ साल्मीहरूको समेत पानी चलाएका थिए।
उनी जुवाकै ऋणका कारण एकपटक काठमाडौं छाडि हिँड्नुपरेको थियो। पछि माथवरसिंह नेपालामात्य भएपछि तिनैका निगाहले जंग पनि नेपाल फर्कन पाइ थापाथलीमा बाँसगाँस पाएर पल्टनमा सुवेदारको मान पाएका थिए। तर विडम्बना, माथवरसिंहले विसं १९०१ मा आफ्नै अन्नले प्रतिपालित भानिज जंगको हातबाट खोली खाई मर्नुपर्यो। मामाको हत्याको पुरस्कारमा यिनले कर्णेली पाए।
सवारी सदरमा फिरेपछि जंग युवराजको अंगरक्षक दलमा खटिए। एकदिन युवराजको हुकुम पालना गर्दै घोडा चडेर उर्लँदो भेल आएको त्रिशुली नदीमा यिनले हाम फाल्नुपर्यो। यस्तो जोखिम काम गर्दा झन्डै ज्यान गएको थियो। तर भाग्यले बाँचे।
भनिन्छ, अरुलाई दुःख दिएर आफू रमाउने स्वभावका युवराज सुरेन्द्रको चाकरीमा लाग्दाबखत जंगबहादुरले त्रिशुली नदीमा हामफाल्ने, बाघ समात्ने, विशालु सर्प समात्ने, बहुलाएको हात्ती बशमा पार्ने, इनारमा र धरहराबाट हामफाल्ने जस्ता दुस्साहसी कार्यहरू गरेर युवराजलाई खुशी पारेका थिए।
राजा राजेन्द्रमा राजनीतिक चेत थिएन। यस्तोमा अवसरवादी जंग सत्ताशक्ति हत्याउन सफल भए। पूजाकोठे पण्डितलाई विश्वासमा लिँदै बिस्तारै राजेन्द्रकी कान्छी महारानीको विश्वासपात्र बनेका जंगबहादुरले उनै रानीलाई आफू प्रधानमन्त्री बनिसकेपछि देश निकाला गर्न समर्थ भए। आफ्ना छोरा सुरेन्द्रलाई आफ्नो प्रतिनिधिका रुपमा राज्यसम्बन्धी अधिकार दिइ राजा राजेन्द्र पनि महारानीसँगै बनारसतर्फ लागे।
जंगले कास्की र लमजुङको सम्पूर्ण सार्वभौमसत्तासमेत उनैमा निहित हुनेगरी सन् १८५६ मा महाराज पदसमेत राजा सुरेन्द्रलाई घुर्की लगाइ लिएका थिए। राजा सुरेन्द्रले त्यसैदिन अर्को लालमोहर पन्जापत्रसमेत गरी ‘नेपालको प्रधानमन्त्री’ पद जंगका सन्दान-दर-सन्तानमा पुस्ता पुस्तासमेत सरेर जाने अधिकारसमेत दिए। देशमा दण्डसजाय, सन्धिसम्झौता, ऐनकानून बाउने सम्पूर्ण राजकीय अधिकारसमेत प्रधानमन्त्रीमा सुम्पिए। यसै समयदेखि राजा 'नाममात्रका', शक्ति, अधिकार र कर्तव्यविहीन हुन पुगे।
सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि जंगबहादुरले राजाको गतिविधिमा समेत नियन्त्रण गर्न थाले। सार्वजनिक समारोहहरूमा र जनसम्पर्क हुनसक्ने स्थानमा यथासम्भव राजालाई उपस्थित हुन नदिने व्यवस्था मिलाइएको थियो। ब्रिटिस रेजिडेन्ट उपस्थित हुने विशेष दरबार र इन्द्रजात्राजस्ता समारोहमा बाहेक राजा कतै नदेखिने भए।
यसरी राजाबाट सम्पूर्ण शक्ति खोसेर आफूमा निहित गराउन सफल जंगबहादुरको विसं १९३३ मा सिकार खेल्न पथरघट्टामा गएका बखत त्यहीँ निधन भयो। भनिन्छ, मृत्यु शय्यामा यिनले आफ्ना पूर्वकृत पापहरूलाई सम्झी निकै यन्त्रणा भोगेका थिए।