काठमाडौं- नेपाली उपभोक्ताबीच विद्युतीय चुलो लोकप्रिय बन्दै गएको छ। हरेक वर्ष विद्युतीय चुलोको आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा नै ९ लाख २६ हजार १३ वटा आयात भएको छ। विभागका अनुसार गत आवमा मात्रै २ लाख ३७ हजार ४ सय ३६ वटा विद्यतुीय चुलो आयात भएको छ।
पछिल्लो पाँच वर्षमा विद्युतीय चुलो आयातमा मात्रै १ अर्ब ८६ करोड ३२ हजार रुपैयाँ बाहिरिएको छ। जसमा गत आवमा मात्रै ४६ अर्ब २३ करोड ७७ हजार रुपैयाँबराबरको विद्युतीय चुलो आयात भएको छ।
पाँच वर्षमा विद्युतीय चुलो आयातबाट सरकारले २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा गत आवमा मात्रै ६ करोड ५५ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
चुलोको प्रयोगकर्ता बढेपनि गुणस्तरमा भने सरकारले कुनै चासो दिएको छैन। बजारमा रहेका कुनै पनि चुलोको गुणस्तर परीक्षण हुने गरेको छैन।
इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढ्दै गए पनि व्यवसायीहरूले गुणस्तर परीक्षण नै नभएका चुलो आयात गरी बिक्री गरिरहेका छन्। नेपालमा विद्युतीय चुलो परीक्षणको मापदण्ड नबन्दा गुणस्तर परीक्षण नभएका चुलो प्रयोग गर्न उपभोक्ता बाध्य भएका हुन्।
हाल नेपाली बजारमा आधा दर्जनभन्दा बढी कम्पनीका विद्युतीय चुलो पाइन्छन्। तीमध्ये अधिकांश चिनियाँ ब्रान्डको चुलो आयात भइरहेको छ।
के नेपालमा आयात भइरहेका इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ? कस्ता चुलो आइरहेका छन्? के अन्य देशमा पनि इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ वा हुँदैन? के निर्माता कम्पनीले जस्तो गुणस्तरको उत्पादन गरेको छ उही गुणस्तरको सामान आयात गरेर बिक्री गर्न पाइन्छ?
पछिल्लो सयमा नापतौल तथा गुणस्तर विभागले चुलोमा न्यूनतम मापदण्ड जारी गरेको छ। तर कार्यान्वयनमा छैन। विद्युतीय चुलोमात्रै नभइ नेपालले आयात गर्ने सबै प्रकारका विद्युतीय उपकरणको निगमनका लागि नेपाल स्टार्न्डर्ड बनाउनुपर्छ। तर अहिलेसम्म उत्पादक कम्पनीले जुन गुणस्तर भनेर घोषणा गरेका छन्, सोहीअनुसार आयात हुँदै व्यापार भइरहेको छ।
एलपी ग्यासको नियमन सुरु भएसँगै ग्यास दुर्घटना कम भएको थियो। अब विद्युतीय चुलोको नियमनका लागि कानूनी व्यवस्था गर्दै नागरिकलाई सुरक्षित हुने आभास दिनुपर्छ।
विस्थापित गर्ला विद्युतीय चुलोले एलपी ग्यास?
सरकारले खाना बनाउने एलपी ग्यास विस्थापित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउने नीति लिएको छ। आगामी साउनभित्रै सिंहरदबारबाट ग्यास विस्थापन गर्ने योजना सरकारको छ। के तत्कालै भान्छाबाट ग्यास विस्थापन गरी इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्न सहज छ? एक गैरसरकारी संस्थाको अध्ययनले सहरी क्षेत्रमा तत्काल नै ८० प्रतिशतसम्म ग्यासको प्रयोग घटाउन सक्ने देखाएको छ। ग्यासको विकल्पमा मुख्यतः ३ प्रकारका विद्युतीय उपकरण प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ। यसबाहेक अन्य विद्युतीय उकरण भान्छामा प्रयोग गरेर ग्यासको प्रयोग घटाउँदै जान सकिने देखिन्छ।
ग्यासको विकल्पमा मुख्य त भान्छामा इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसक कुकर उपयुक्त हुने अध्ययनले देखाएको छ। तर यसका लागि सबैभन्दा पहिले घरमा जोडिएको बिजुलीको क्षमता र वायरिङको विषय महत्पपूर्ण हुन्छ।
ग्यासको तुलनाका कुन उपकरण प्रयोगको लागत कति?
ग्यासको तुलनामा उल्लिखित तीनवटै विद्युतीय उपकरण प्रयोग गर्दा निकै कम लागत लाग्छ। जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)ले गरेको अध्ययनअनुसार सबैभन्दा खाना पकाउँदा सबैभन्दा कम लागत इलेक्ट्रिक प्रेसर कुकरमा पर्छ । त्यसपछि इन्डक्सन र इन्फ्रारेड आउँछन्। ५ जनाको परिवारलाई भात, दाल र मासु पकाउँदा कुनमा कति लागत पर्छ हेरौँ :
ग्यास प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ र बिजुली प्रतियुनिट १० रुपैयाँलाई लिएर लागत हिसाब गर्दा पाँच जनाको परिवारलाई एक छाक भात, मासु र दाल बनाउन १७ रुपैयाँको ग्यास खर्च हुन्छ। तर इन्डक्सन चुलो प्रयोग गर्दा ११ रुपैयाँ ७७ पैसा मात्रै पर्ने पीडाकै अध्ययनले देखाएको छ। सोही खाना इन्फ्रारेड चुलोबाट पकाउँदा १२ रुपैयाँ ६० पैसा र इलेक्ट्रिक प्रेसर कुकरबाट बनाउँदा ६ रुपैयाँ २७ पैसा मात्रै खर्च हुने अध्ययनले देखाएको छ।
बिजुलीको मिटरको क्षमता बढाउनुपर्छ कि सोच्नुहोला
इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर प्रयोग गर्न न्यूनतम १५ एम्पियरको विद्युत् क्षमताको मिटर जडान गरेको हुनुपर्छ। शहरी क्षेत्रका घरमा १५ एम्पिएरको बिजुली गरिने भएपनि ग्रामीण क्षेत्रमा अहिले पनि ५ एम्पियर क्षमताको बिजुली जडान गर्ने गरिन्छ। त्यसो हुँदा गाउँहरुमा तत्काल विद्युतीय चुलो प्रयोगमा ल्याउन कठीन छ।
प्राधिकरणले मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउने सुविधा दिएको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी छैन।
अर्को नेपालको बिजुली वितरण प्रणालीमा नै समस्या छ। अधिकाश ग्रामीण क्षेत्रमा मात्रै होइन शहरमा पनि वितरण प्रणालीले ठूलो मात्रामा विद्युत उपभोग धान्दैन। अहिले पनि हावा हुरी चल्दा तथा भारी वर्षा हुँदा बिजुली जाने समस्या समाधान हुन सकेको छैन।
विद्युतीय चुलोका लागि भाँडा महँगो
इन्डक्सन चुलोका लागि विशेष प्रकारका भाँडा आवश्यक पर्छ, जुन केही महँगो हुन्छ। मध्यम वर्ग र उच्च वर्गका परिवारले चुलो तथा भाँडा खरिद गर्न सक्ने भए पनि तर गरिबीको रेखा मुनी रहेका र निम्न वर्गका परिवारलाई एकै पटकमा ती भाँडा खरिद गर्न सरकारले सहुलियत दिनुपर्ने छ।
शहरी क्षेत्रमा भाडामा बस्नेका लागि घरबेटीले लिन बिजुलीको शुल्क प्रतियुनिट १५ रुपैयाँसम्म लिन्छन्। यो रेटमा विद्युतीय चुलो प्रयोग गर्दा ग्यासको तुलनामा सस्तो नपर्ने पनि अध्ययनले देखाएको छ।
विद्युतीय चुलोको उपलब्धता र मूल्य
भान्छामा ग्यासको विकल्पमा इन्डक्सन चुलो, इन्फ्रारेड चुलो, राइसकुकर, इलेक्ट्रिक प्रेसर कुकुर, विद्युतीय ओभन, माइक्रो ओभन, तातो प्लेट, स्लो कुकर लगायत दर्जन भन्दा विद्युतीय उपकरण प्रयोग गर्न सकिन्छ।
तर, भान्छामा ग्यासको विकल्पमा मुख्य त ३ वटा चुलो प्रयोगलाई प्रमुख रुपमा हेरिएको छः इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर। भान्छामा राइसकुकरको प्रयोग भने पहिले देखि नै भएको छ।
अहिले बजारमा २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका इन्डक्सन चुलो पाइन्छन्। सरकारी व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत ४ हजार रुपैयाँमा नै १९०० वाटको इन्डक्सन चुलो बिक्री गरिरहेको छ। २०७२मा भारतीय नाकबन्दीपछि ग्यासको अभाव भएको बेलामा पनि कम्पनीले इन्डक्सन चुलो बिक्री गरेको थियो।
यसैगरी बजारमा ३ हजार ५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका इन्फ्रारेड चुलो पाइन्छन् भने इलेक्ट्रिक प्रेसर कुकर भने अलि मंहगो छ। बजारमा सामान्यत ६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा नै इलेक्ट्रिक प्रेसर कुकर पाइन्छन्।
कुन चुलोले कसरी काम गर्छ?
इन्डक्सन चुलो
परम्परागत रुपमा प्रयोग भइरहेका चुलो र इन्डक्सन चुलोमा खाना पाक्ने प्रक्रिया एउटै देखिए पनि अन्य प्रविधि र इन्डक्सन चुलोमा बसालिने भाडाले ताप प्राप्त गर्ने प्रक्रिया आधारभुत रुपमा फरक हुन्छ। ग्यास, विद्युतीय हिटरजस्ता चुलोले सिधै आगोको तापले भाडा तताई खाना पकाउँदछन्। तर इन्डक्सन चुलोमा चुम्बकिय आकर्षणको माध्यमबाट भाडा तात्ने गर्दछ। चुम्बकीय आकर्षणबाट भाडा तात्ने भएको हुनाले यो किसिमको चुलोमा खाना पकाउँदा विशेष किसिमको भाडाहरु चाहिन्छ।
इन्फ्रारेड चुलो
इन्फ्रारेड चुलोले भाडा तताउने प्रक्रिया परम्परागत चुलो जस्तै हो। परम्परागत चुलोमा आगोको तापले भाँडा तातेजस्तै इन्फ्रारेड चुलोमा विद्युत आपुर्ति भएपछि यसमा रहेका क्वोइल तातेर यसमा बसालिएको भाडामा तापको प्रसारण हुन्छ। इन्डक्सन चुलोमा खाना पकाउनका लागि चुम्बकीय शक्ति ग्रहण गर्न सक्ने विशेष भाडा चाहिन्छ भने इन्फ्रारेडमा समथल पिँध भएका जुनसुकै भाडामा खाना पकाउन सकिन्छ।
इलेक्ट्रिक प्रेसर कुकर
यो कुकर सबै प्रकारको पकवान बनाउने मिल्ने विद्युतीय उपकरण हो। यसलाई मल्टिकुकर पनि भनिन्छ। यसमा खाना पकाउन, उमाल्न, तार्ने, बफाउन र सुख्खा खाने कुरा बनाउन मिल्छ।
सिंहदरबारबाट ग्यास बिस्थापन गर्ने सरकारी लक्ष्य अपूरै
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत सरकारले एलपी ग्यास छोडौँ, बिजुली जोडौँ भन्ने अभियान सञ्चालन गर्ने उद्घोष गरेको थियो। अभियान सञ्चालन सरकारले सबैभन्दा पहिलो सिंहदरबारबाटै सुरु गर्ने लक्ष्यसमेत लिएको थियो। तर जुन अहिलेसम्म पूरा हुन सकेको छैन।