शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

गत आवमा दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन

images
बिहीबार , साउन ८ २०८२
images
images
गत आवमा दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन

आव २०८१/८२ मा पर्यटक शुल्कबाट २९ करोड ११ लाख रूपैयाँभन्दा बढी संकलन भएको छ।

images

भक्तपुर- गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ। त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ।

images
images

भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए। त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए।

images
images

आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ। आव २०८१/८२ मा पर्यटक शुल्कबाट नगरपालिकाले २९ करोड ११ लाख रूपैयाँभन्दा बढी संकलन गरेको सूचना अधिकारी दामोदर सुवालले बताए।

images
images
images

त्यसमा गैरसार्क पर्यटकबाट २३ करोड ३३ लाख ७८ हजार ७६० रूपैयाँ र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट पाँच करोड ७७ लाख ४३ हजार रूपैयाँ पर्यटन शुल्क उठेको छ। आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले २७ करोड ४५ लाख रूपैयाँ संकलन गरेको थियो। त्यसमा गैरसार्क पर्यटकबाट २० करोड ९९ लाख ७५ हजार ९५० रूपैयाँ र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट ६ करोड ४५ लाख ९६ हजार रूपैयाँ पर्यटन शुल्क उठेको थियो।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक करोड ८३ लाख १२ हजार ४६० रूपैयाँ पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो। नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन। गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार भक्तपुर घुम्नेमा दोस्रोमा चिनियाँ पर्यटक परेका छन्। गत वर्ष ३६ हजार १३५ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए। यसैगरी अमेरिकाका १६ हजार ५५८, जर्मनीका ११ हजार ७८८, फ्रान्सका  ११ हजार ७५४, इटालीका आठ हजार २२८, स्पेनका सात हजार ९८, जापानका ६ हजार ७३३, इंगल्याण्डका ६ हजार ५०२, अस्ट्रेलियाका चार हजार ९६८, ताइवानका चार हजार ६६०, हल्यान्डका चार हजार १६५ नागरिकले भक्तपुर अवलोकन गरेको थियो।

यस्तै, पोल्यान्डका तीन हजार ९३, रसियाका दुई हजार ८८२, थाइल्यान्डका दुई हजार ५९५, दक्षिण कोरियाका दुई हजार ५४३, इजरायलका दुई हजार ५१९, क्यानडाका दुई हजार ३६०, मलेसियाका दुई हजार ९९ र अन्य मुलुकका २९ हजार ५६ जनाले भक्तपुर नगरको अवलोकन गरेका छन्।

नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न चालु आर्थिक वर्ष २०८२/८३ देखि गैरसार्क पर्यटकसँग प्रतिपर्यटक दुई हजार रूपैयाँ र सार्क तथा चिनियाँ पर्यटकसँग ५ सय रूपैयाँ शुल्क निर्धारण गरेको छ।

नगरपालिकाले हाल खौमा, सानो व्यासी, ठुलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको सुवालले जानकारी दिए।

नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ। भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ।

नगरपालिकाले पर्यटकको आकर्षण वृद्धि गर्न नगरभित्रका सम्पदाको पुनःनिर्माणमा जोड दिँदै आइरहेको छ। त्यसअनुसार २०७२ सालपछि हालसम्म ६९ पाटी, ४७ मन्दिर, १५ द्योछेँ, २२ पोखरी, नौ सत्तल, नौ इनार, पाँच मठ, ढुंगेधारा नौ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको तथा हाल १४ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी सुवालले जानकारी दिए।

भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ, झिङ्गटीका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको छ। कला संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयमा सांस्कृतिक गुरुको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति नगरपालिकाले लिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहजरूपमा पुग्न सक्नेगरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्ने योजना नगरपालिकाको रहेको सुवालले बताए। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend