आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै

बिहीबार , साउन ८ २०८२
व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै

यद्यपि व्यापार घाटाको तथ्यांक केही अस्पष्ट रहेको छ। कतिपय सेवाको आयात पनि वस्तुकै व्यापारमा मिसिएको छ तर सेवा निर्यातको आँकडा त्यहाँ छैन।

काठमाडौं- पछिल्ला दुई वर्षदेखि मुलुकको अर्थतन्त्रको बाह्य अवस्था सुदृढ देखिँदै आएको छ। नेपाली अर्थतन्त्रको सबैभन्दा जोखिमपूर्ण मानिएकै क्षेत्र पछिल्लो समय भने सुधार हुँदै आएको छ। यसका पछाडि उच्च रेमिट्यान्स र न्यून आयात रहेको छ। 

रेमिट्यान्सको प्रवाह पछिल्लो समय फेरि उकालो लागेको छ। यसअघि अर्थतन्त्रको आकारको तुलनामा २५ प्रतिशत पुगेर झरेको रेमिट्यान्स फेरि यो वर्ष हालसम्मकै उच्च बिन्दुमा पुग्ने भएको छ।

११ महिनामै १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रिएको छ भने असारमा कम्तिमा १ खर्ब ५० अर्ब आउँदा यो जीडीपीको तुलनामा २६ प्रतिशतभन्दा माथि पुग्ने देखिन्छ। 

पछिल्ला दुई वर्षदेखि मुलुकको व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स आएको छ। आर्थिक वर्ष २०८०/८१ मा पहिलोपटक व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै आएको थियो। तर यसमा सीमान्त अन्तर थियो।

रेमिट्यान्सको व्यवस्थित तथ्यांक राख्न थालिएदेखि व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स भित्रिएको देखिएको थियो। २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यापार घाटा भएको थियो, जहाँ रेमिट्यान्स भने १४ खर्ब ४५ अर्ब भित्रिएको थियो। 

ik6SY-- (2).png

२०५७/५८ मा व्यापार घाटा र रेमिट्यान्सको आकार उस्ताउस्तै भएपनि थोरैले व्यापार घाटा धेरै रहँदै आएको थियो। २०७७/७८ मा व्यापार घाटा १७ खर्ब पुग्दा रेमिट्यान्स जम्मा १० खर्ब भित्रिएको थियो। 

२०८०/८१ देखि भने रेमिट्यान्सले घाटालाई उछिनेको थियो। २०८१/८२ मा अझ बढी रेमिट्यान्स भित्रिने भएको छ। गत वर्षको व्यापार घाटा १५ खर्ब २७ अर्ब भएको छ। जहाँ ११ महिनाकै रेमिट्यान्स १५ खर्ब ३२ अर्ब छ। 

यद्यपि व्यापार घाटाको तथ्यांक केही अस्पष्ट रहेको छ। कतिपय सेवाको आयात पनि वस्तुकै व्यापारमा मिसिएको छ। तर सेवा निर्यातको आँकडा त्यहाँ छैन। 

एकातिर रेमिट्यान्सले वस्तु व्यापारको घाटालाई पूर्ति गर्दा अर्कोतिर सेवाखाताको घाटा भने विस्तार हुँदै गएको छ। 


प्रकाशित : बिहीबार , साउन ८ २०८२०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend