काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ।
भेटका क्रममा नेपाल-चीन सम्बन्ध, हालै सम्पन्न चारवटा द्विपक्षीय समझदारी, विगतका उच्चस्तरीय भ्रमणका क्रममा गरिएका विकास सहकार्यसम्बन्धी सम्झौताहरूको कार्यान्वयनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको दीर्घकालीन मित्रता र आपसी सहयोगको प्रशंसा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको स्पष्ट पारे। रसुवागढी नाका बाढीबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणमा चीनले दिएको प्राथमिकता प्रति धन्यवाद दिँदै प्रधानमन्त्रीले नेपाली पक्षबाट पनि संरचना निर्माणमा आवश्यक तदारुकता देखाइएको बताए।
साथै, भू-परिवेष्ठित नेपाललाई चीनसँगका विभिन्न नाकामार्फत भू-जडित बनाउने कार्यलाई तीव्रता दिनु आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो। उनले किमाथांकालगायतका नाकाहरू सञ्चालनमा ल्याउने र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अन्तर्गतका परियोजनाहरूलाई अवरोधरहित रूपमा अगाडि बढाउन जोड दिए।
भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित थिए।
यसअघि सो प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विकास साझेदारीका विविध पक्षमा छलफल गरेको थियो। उक्त अवसरमा चीनको सहयोगमा सञ्चालित तथा आगामी दिनमा अघि बढाइने चार परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।