काठमाडौं- करिब आठ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला एयरलाइन्सको विमानमा ज्यान गुमाएका १७ जना नेपालीका परिवारलाई क्षतिपूर्ति दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
२०७४ साल फागुन २८ गते (मार्च १२, २०१८) मा बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको यूएस बंगला एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा चालक दलका चार जना र यात्रु ४७ जना गरी ५१ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा मृत्यु भएका १७ नेपालीको तर्फबाट दायर क्षतिपूर्ति मागसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आइतबार फैसला सुनाएको हो। जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासबाट जारी फैसलामा यूएस बंगला एयरलाइन्सले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने ठहर गरिएको छ।
पीडितको उमेर, पेसा र आर्थिक पृष्ठभूमिलाई आधार मान्दै अदालतले फरक-फरक क्षतिपूर्तिको आदेश दिएको हो। अदालतको आदेशअनुसार बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थीको हकमा प्रति व्यक्ति १ लाख ७० हजार ३८२ अमेरिकी डलर (२ करोड ३४ लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने छ।
त्यसैगरी एमबीबीएस डाक्टरको हकमा १ लाख ७९ हजार ४१८ डलर (२ करोड ४७ लाख रुपैयाँ), एक न्यूरो सर्जनको हकमा २ लाख ७७ हजार ५४८ डलर (३ करोड ६७ लाख रुपैयाँ), एक वृद्ध नर्सको हकमा ४५ हजार ३०१ डलर (६२ लाख रुपैयाँ) र एक जना घाइतेको हकमा ४४ हजार २९० डलर (६१ लाख रुपैयाँ) क्षतिपूर्ति तोकिएको छ।
यस्तै हिमालयन एयरलाइन्सका कर्मचारी प्रसन्न पाण्डेको परिवारलाई १ लाख ७ हजार १७० डलर (१ करोड ४७ लाख रुपैयाँ) क्षतिपूर्ति दिलाउने आदेश पनि अदालतले दिएको छ।
अदालतले सन् १९२९ मा भएको हवाई यात्रासम्बन्धी अन्तरराष्ट्रिय संधी ‘वार्सा कन्भेन्सन’को प्रावधानअनुसार उक्त फैसला सुनाएको हो।
पीडित परिवारले २०७६ सालमा यूएस बंगला एयरलाइन्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। अदालतले करिब चार वर्षपछि उनीहरूको पक्षमा फैसला सुनाएको हो।
बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको यूएस बंगला एयरलाइन्सको क्यानेडाली बमबार्डियर ड्यास-८ क्यू४०० विमान काठमाडौंमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर आगलागी भएको थियो। विमानमा ७१ जना सवार थिए, जसमा अधिकांश नेपाली विद्यार्थी, चिकित्सक र ती पेसासँग सम्बन्धित व्यक्तिहरू थिए।