सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ५ २०८२
images
images
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम

पटक-पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र संघीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए।

images

बागलुङ- निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ। अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ।

images
images

अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ। निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ, भने भित्तामा घाँस उम्रेको पाइएको छ। दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीन पटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ। 

images
images

भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ। पटक-पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र संघीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए।

images
images

उनका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको बताए। उनले नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उनको भनाइ छ।

पटक-पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो। अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बिचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ। १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो। भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर घर्तीको भनाइ छ। 

बागलुङ-१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्नेगरी २०७८ मा सम्झौता भएको थियो । 

बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको बताए।

बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि १२ करोड ८७ लाखमा श्री महालक्ष्मी/जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो।

काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिए।

'काम गर्दा समयमै भुक्तानी पाइदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ' उनले भने।
 
छ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ। निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँच/छजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका-१३ का वडाध्यक्ष  नारायण पौडेलले बताए।  

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुंगो लाग्न नसकेको हो। सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो।

अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend