काठमाडौं- नेपालको हवाई इतिहासमा दर्जनौँ जहाज दुर्घटना भए, सयौँ नागरिकले ज्यान गुमाए। प्रायः प्रत्येक दुर्घटनापछि गठन हुने जाँचबुझ आयोगले लापरबाही, प्राविधिक कमजोरी, मानवीय त्रुटि, नियामकको कमजोरीजस्ता निष्कर्ष निकाल्ने गरेका छन्। आयोगले दिएका सुधारका सिफारिस भने कहिल्यै कार्यान्वयनमा जाँदैनन्।
गत वर्ष साउन ९ गते सौर्य एयरलाइन्सको सीआरजे-२०० जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए। दुर्घटनाको विषयमा जाँचबुज गर्न गठन भएको आयोगले अन्तिम अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। जसले उक्त दुर्घटना आकस्मिक नभइ लापरबाहीको नतिजाको रुपमा औँल्याएको छ।
नियमन, सुरक्षा प्रक्रिया, अपरेटरको अनुशासन र उद्धार संयन्त्र चारै तहको गम्भीर लापरबाही उक्त दुर्घटनामा देखिएको छ। नेपालको हवाई उड्डयनमा सेफ्टी प्रक्रियालाई प्रणालीगत ढंगले बेवास्ता गरिँदै आएको उदाहरण सौर्यको दुर्घटनामा प्रस्ट देखिन्छ।
जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषयमा प्रतिवेदन केन्द्रित रहेको छ।
जहाजमा राखिएको कार्गोको तौल ननापिनु, गलत स्पिडकार्ड प्रयोग, सुरक्षात्मक चेकलिस्टबिना फेरी फ्लाइटको अनुमति, टेकअफ अघि पिचको असामान्य गति, उद्धार संरचनाको अभाव जस्ता लापरबाही देखिएको छ। यी सबै विषय एकअर्कामा गाँसिएर एक भयावह दुर्घटनामा परिणत हुने गरेको आयोगका संयोजक रतिशचन्द्र लाल सुमन बताउँछन्।
नेपालमा सेफ्टी सर्टिफिकेसन, अपरेटर अनुमति, लोडिङ प्रक्रिया, मर्मत जाँच र आपतकालीन तयारीलगायतका विषय कागजमा मात्र कडा देखिन्छन्। व्यवहारमा भने लापरबाही, सेटिङ र प्रक्रिया छल्न सुविधा खोजिने प्रवृत्ति हाबी भएको सुमनको बुझाइ छ।
नियामकको निरीक्षण प्रणाली कागजीमात्रै
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हवाई सुरक्षाको प्रमुख नियामक निकाय हो। सौर्यको दुर्घटनामा देखिएको क्यानको निरीक्षणको स्तर आफैमा आपत्तिजनक छ।
फेरी फ्लाइटको अनुमति दिँदा कुनै चेकलिस्ट नहुनु, कार्गोको निरीक्षण नगर्नु, नियमित ‘र्याम्प इन्स्पेक्सन’ नगर्नु, टेकअफ प्रक्रिया अनुगमन नगर्नुमा गल्ती देखिएका छन्।
यी सबै कमजोरीहरू हेर्दा क्यानले सुरक्षामा भन्दा पनि प्रक्रियागत मिलोमतोमा ध्यान दिएको देखिन्छ। यो प्रवृत्तिले आइकाओको अन्तर्राष्ट्रिय मापदण्डमाथि समेत प्रश्न खडा गरिरहेको छ। नेपाल अझै आइकाओको सूरक्षा सूचीबाट पूर्णरूपमा मुक्त हुन सकेको छैन।
दुर्घटनामा उद्धार टिम समयमै दुर्घटनास्थल पुग्न नसक्नु, फायर गेट बन्द हुनु, स्ट्रिप क्षेत्र मापदण्डअनुसार नबन्नु, उद्धारमा समन्वयको कमी हुनु जस्ता समस्या सोर्यको दुर्घटनामा देखिएको थियो। ‘यी सबै नेपालका विमानस्थलहरूमा आपतकालीन पूर्वतयारी नभएको प्रमाण हुन्’ आयोग संयोजक सुमनले भने।
विमानस्थलको पूर्वपट्टि दुर्घटनास्थलमा ढल्किएको र जोखिमपूर्ण जमिन थियो, जुन आइकाओको मापदण्डअनुसार रनवे स्ट्रिपको अंश बन्न नसक्ने देखिन्छ। यस्तोमा समयमै उद्धार टोली नपुग्दा केही व्यक्तिको ज्यान बचाउन सकिने सम्भावनासमेत गुम्यो।
सौर्य एयरलाइन्सले कार्गो तौल यकिन नगर्नु, यात्रु क्याबिनमा उपकरण र तेलजस्ता वस्तु अव्यवस्थित रूपमा राख्नु, प्राविधिक हैसियत नभएका १५ जना अनावश्यक व्यक्ति जहाजमा चढाउनुजस्ता काम गरेको थियो। जुन व्यवहार अपरेटरको चरम गैरजिम्मेवारी र व्यावसायिक नैतिकतामाथि प्रश्न उठाउने खालका छन्। स्पिडकार्ड त्रुटि, टेकअफ अनुमति प्रक्रियाको बेवास्ता, म्यानुअल उल्लंघन हुनु जस्ता विषयले कम्पनीभित्रकै सुरक्षा व्यवस्थापन प्रणालीमा समेत जोखिम देखाउँछ।
सुधार सिफारिस : कागजमा मात्र?
सौर्यको दुर्घटनापछि आयोगले ४१ बुँदामा विभिन्न सुधारका लागि सिफारिस दिएको छ। तर यस्ता सिफारिस अघिल्ला जहाज दुर्घटनापछि पनि दिइएका थिए, जुन कार्यान्वयन भएका छैनन्।
यदि सुरक्षा सुधारका लागि दिइएका सिफारिसहरू मन्त्रालय र नियामक तहमा ठोस योजना बनाएर लागु गरिएन भने त्यसको कुनै उपयोगिता हुने छैन।
सौर्य एयरलाइन्सको दुर्घटनाले हवाई सुरक्षाको कमजोर अवस्था, नियामक निष्क्रियता र व्यावसायिक बेवास्तातर्फ संकेत गरेकोसमेत संयोजक सुमनको बुझाइ छ।
जहाज सुरक्षितरुपमा उड्नका लागि प्रविधिमात्रै होइन अन्य पाटोहरू पनि हेरिनुपर्छ। जबसम्म सुरक्षा प्राथमिकता नभइ औपचारिकतामात्रै रहन्छ, नेपालका आकाशमा यस्तो बिडम्बना फेरि दोहोरिन सक्ने खतरा रहन्छ।
अपरेटरले लापरबाही दोहोर्याए, नियामकले आँखा चिम्लिए
सन् २०१० मा अग्नि एयरको डोर्नियर २२८ जहाज मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको ज्यान गयो। त्यसयता लुक्ला, जोमसोम, ताप्लेजुङ, पोखरासहित काठमाडौंमै भएका जहाज दुर्घटनामा पाइलटको त्रुटि, उपकरणको गडबडी, मौसमको बेवास्ता, लोडिङको लापरबाही र नियमनकर्ताको निष्क्रियता दोहोरिएका छन्।
पछिल्ला १० मध्ये ९ दुर्घटनामा अपरेटर (विमान कम्पनी) ले लोडिङ, कार्गो सुरक्षा, चालक दलको मनस्थिति र टेक्निकल मर्मतजस्ता विषयमा गम्भीर लापरबाही गरेका छन्। कार्गो तौल नगर्ने, सुरक्षात्मक जाँच नगर्ने, अनावश्यक व्यक्ति जहाजमा राख्ने जस्ता गल्तीहरू सौर्य, सिता, यति, तारा, अग्निलगायतका सबै कम्पनीमा दोहोरिएका छन्।
अपरेटरमात्र होइन नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पनि लगातार उस्तै लापरबाहीमा मुछिएको छ।
उद्धार संरचना झनै जोखिमपूर्ण
अधिकांश दुर्घटनामा उद्धारमा ढिलाइ भएको पाइएको छ। सौर्यको दुर्घटनामा ‘फायर गेट’ बन्द हुँदा उद्धार टोली समयमै पुग्न सकेन। यति एयरलाइन्सको पोखरा दुर्घटनामा उद्धारको पूर्वाधार नै थिएन। ताप्लेजुङ र लुक्ला दुर्घटनाहरूमा जंगल वा पहाडी क्षेत्र भएकाले उद्धार ढिलो भएको थियो।
नेपालका विमानस्थलहरूमा आइकाओ मापदण्डअनुसारको सुरक्षा स्ट्रिप, दमकल र आपतकालीन पूर्वतयारी अझै कमजोर रहेको तथ्य प्रतिवेदनहरूले बारम्बार औँल्याएका छन्।
पाइलटलाई उचित तालिम नदिने, प्रशिक्षण ‘रिफ्रेसर कोर्स’ नगर्ने, पर्फर्मेन्स एसेस्मेन्ट नगर्ने प्रवृत्ति देखिएका छन्।
पछिल्ला १० दुर्घटनाको अवस्था (सन् २०१०-२०२४)
क्र.स. |
दुर्घटना |
मिति (नेपाली/ई.सं) |
कम्पनी |
ज्यान गुमाएका |
प्रमुख कारण/कमजोरी |
नियामक लापरबाही |
अपरेटर लापरबाही |
उद्धार/पूर्वतयारी |
1 |
अग्नि एयर डोर्नियर 228 |
२०६७/६/११ (2010-09-25) |
अग्नी एयर |
१४ |
खराब मौसममा जबर्जस्ती उडान |
मौसम निगरानी प्रणाली कमजोर |
पाइलट दबाबमा उडानमा |
उद्धार ढिलो |
2 |
तारा एयर, लुक्ला-काठमाडौं |
२०६८/४/२९ (2011-08-24) |
तारा एयर |
१९ |
मौसम खराब हुँदा जोखिमपूर्ण रुट |
आईएफआर अनुमतिबिना उडान |
पूर्वसूचना नबुझी उडान |
जंगल क्षेत्र, उद्धार कठिन |
3 |
सिता एयर, लुक्ला फ्लाइट |
२०६९/६/१३ (2012-09-28) |
सीता एयर |
१९ |
टेकअफपछि चरा ठोक्किनु, लोडिङ त्रुटि |
रनवे नजिक चरा नियन्त्रण कमजोरी |
अधिक लोड/अनियमित कार्गो |
आगलागी नियन्त्रण कमजोर |
4 |
नेपाल एयरलाइन्स, अर्घाखाँची |
२०७०/११/१८ (2014-02-16) |
नेपाल एयरलाइन्स |
१८ |
नेभिगेसन भ्रम, मौसम चुनौती |
एटीसी सहयोग कमजोर |
मार्ग योजना त्रुटिपूर्ण |
जंगल क्षेत्र, ढिलो उद्धार |
5 |
अग्नि एयर, पोखरा-जोमसोम |
२०७२/२/१९ (2015-06-02) |
अग्नी एयर |
२ |
इन्जिन फेल, सीआरएम कमजोरी |
विमानका पूर्जाको निरीक्षण कमजोरी |
दोहोरो इन्जिन समस्या बेवास्ता |
उद्धार पर्याप्त |
6 |
तारा एयर, पोखरा-जोमसोम |
२०७३/११/११ (2016-02-24) |
तारा एयर |
२३ |
अवस्थित बादलमा नदेखी ठोक्किनु |
टेरिएन अवेरनेस नहुँदा |
पीबीएन उल्लंघन |
उद्धार कठिन, ढिलो |
7 |
यूएस-बङ्गला एयरलाइन्स |
२०७४/११/२८ (2018-03-12) |
यूएस बांग्ला |
५१ |
एटीसी र पाइलट संवाद भ्रम |
एटीसी तालिम र एसओपी कमजोरी |
सीआरएम निष्क्रियता |
उद्धार समन्वय कमजोर |
8 |
समिट एयर, लुक्ला रनवे क्रयास |
२०७६/१/२८ (2019-04-14) |
समिट एयर |
३ |
टेकअफ क्रममा नियन्त्रण गुम्नु |
लुक्ला मा सुरक्षा मेकानिजम कमजोर |
लोड र टेकअफ चेकमा कमजोरी |
सघन उद्धार भए पनि पूर्वतयारी कमजोर |
9 |
यति एयरलाइन्स, काठमाडौं-पोखरा |
२०७९/१०/१ (2023-01-15) |
यती एयरलाइन्स |
७२ |
फ्युल ककट अफ स्विच गल्ती |
ककपिटमा एसओपी उल्लंघन |
पाइलट तालिम त्रुटि |
उद्धार असम्भव, संरचना असक्षम |
10 |
सौर्य एयरलाइन्स, फेरी फ्लाइट क्रयास |
२०८०/४/९ (2024-07-24) |
सौर्य एयरलाइन्स |
१८ |
स्पिडकार्ड त्रुटि, लोडिङ गल्ती |
चेकलिस्ट बिना अनुमति |
कार्गो तौल नगर्नु, अनावश्यक व्यक्ति |