काठमाडौं- आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न आयोजना निर्माणका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टअनुसार २ खर्ब ५३ अर्ब रुपैयाँ लागत अनुमानका २२ वटा परियोजनाको काम अगाडि बढ्दै छ।
वन तथा वातावरण मन्त्रालयले प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको हो। सार्वजनिक भएका कतिपय रिपोर्टले अन्तिम स्वीकृतिसमेत पाइसेका छन्।
कतिपय आयोजनाको रिपोर्ट स्वीकृत हुने चरणमा छन्। सार्वजनिक भएका रिपोर्टहरुमा रंगशाला, अस्पताल, सडक, हाइड्रोपार, होटल, केबलकार लगायतका छन्।
१.लम्की शाखा नहर विस्तार आयोजना
लम्की शाखा नहर विस्तार आयोजनाको वातावरण प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि २०८१ को साउनमा प्रकाशित भएको थियो। यो आयोजनाको प्रस्तावक रानी जमरा कुलरीय सिंचाइ आयोजना टिकापुर कैलाली रहेको छ।
प्रस्तावित लम्की शाखा नहर विस्तार आयोजनाले मुख्य नहर र पाँच वटा शाखा नहर निर्णमा हुने छ। प्रस्तावित आयोजनाले ५ हजार ३ सय ४७ हेक्टर जग्गा सिंचित गरि खेतीको सघनतालाई १२० प्रतिशतबाट २ सय २६ प्रतिशत सम्म पुर्याउने लक्ष्य राखिएको छ। आयोजनाको लागत २ अर्ब ७१ करोड ८७ लाख ६ हजार ५ सय ३७ रुपैयाँ हुने अनुमान गरिएको छ।
२.दूधखोला जलविद्युत आयोजना
यसैगरी २०८१ को साउनमै ३०.४ मेगावाट क्षमताको माथिल्लो दूध खोला जलविद्युत आयोजनाको पनि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत सार्वजनिक भएको छ।
आयोजना मनाङमा निर्माण हुने छ। आयोजनाको लागत ५ अर्ब २५ करोड रुपैयाँ लगात अुमान गरिएको छ।
३. ११० शैय्याको नेपाल एपीएफ अस्पताल
यसैगरी गत आवमा नै ११० शैय्याको नेपाल एपीएफ अस्पताल स्तरोन्नतिका लागि भन्दै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको थियो। ११० शैय्या बाट ३ सय शैय्या स्तरोन्नति गर्नका लागि रिपोर्ट सार्वजनिक गरिएको छ।
अस्पताल चन्द्रागिरी नगरपालिका रहेको छ। अस्पताल सुरुमा २०६० सालको फागुनमा २५ शैय्याबाट सञ्चालनमा आएको थियो। पछि विस्तार गरी २०६२ माघ देखि ११० शैय्यामा सञ्चालन भएको थियो।
४. १२ सय शैय्याको पाटन अस्पताल
यसैगरी गत आर्थिक वर्षमा नै ३ सय शैय्याको पाटन अस्पताल विस्तार गरी १२ सय शैय्याको बनाउने गरी वातावरणीय प्रभाव मूल्यांकन सार्वनिक भएको छ। अस्पतालमा बेसमेन्ट, ग्राउन्ड फ्लोरसहित ७ तलाको भवन निर्माण हुने छ। भवनको उचाइ ३५ मिटरको हुने छ।
अस्पताल विस्तारको काम ३६ महिनामा सकिने रिपोर्टमा उल्लेख छ। जहाँ ५ सय वटा बाइक र ३ सय वटा कार पार्किङ क्षेत्र रहने छ। १२ सय बेड नै सञ्चालनमा आएपछि जनशक्ति पनि दोबर बढ्ने रिपोर्टमा उल्लेख छ। १० अर्ब ७३ करोड २३ लाख ५४ हजार रुपैयाँको लागतमा अस्पताललाई १२ सय बेड क्षमताको बनाउन लागिएको छ।
५. चम्पादेवीमा केबलकार
संघई र विशाल ग्रुपको मुख्य साझेदारीमा चम्पादेवीमा केबलकार बन्ने भएको छ। यसका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। परियोजनाको लागत ५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ।
केबलकारसँगै डाँडामा रहेको मन्दिरलाई पुनर्निर्माण गरेर सुन्दर बनाउनुका साथै पर्यटकका लागि विभिन्न स्थलहरू निर्माण गरिने रिपोर्टमा उल्लेख छ। श्री चम्पादेवी इको-फ्रेण्डली कम्पनी प्रालिमार्फत निर्माण गर्न लागिएको केबलकार आयोजना कीर्तिपुर-४ देखि दक्षिणकाली-१ बोसनसम्म निर्माण हुने छ।
प्रस्तावित आयोजनाका लागि २.७३ हेक्टर निजी स्वामित्वको जग्गा र ५ हेक्टर वन क्षेत्र प्रयोग गरिने उल्लेख छ। 'मनोकेबल डिट्याचेबल गन्डोला' प्रविधिको केबलकार प्रणाली प्रयोग हुने आयोजनाको कुल लम्बाइ २.०७५ किलोमिटर हुनेछ।
तल्लो स्टेसन दक्षिणकालीको बोसन र माथिल्लो स्टेसन कीर्तिपुरमा रहने व्यवस्था गरिएको छ। यात्रु चढ्ने केबिन ३४ वटा हुनेछन्, जसमा प्रत्येकमा १० जना यात्रु अटाउने छन्। सामान बोक्ने छुट्टै दुईवटा र मर्मतका लागि एउटा केबिन राखिनेछ। केबलकारको अधिकतम गति ६ मिटर प्रतिसेकेन्ड रहनेछ भने एकतर्फी यात्रा समय करिब ७ मिनेट हुनेछ।
तल्लो स्टेसनमा तीनतल्ले मुख्य भवन, दुईपांग्रे सवारीका लागि ४०० र चारपांग्रे सवारीका लागि २०० गाडी अटाउने पार्किङ सुविधा रहनेछ। माथिल्लो स्टेसननजिकै १.८ हेक्टर क्षेत्रफलमा मनोरञ्जन पार्क र मन्दिर परिसरसमेत निर्माण गरिने छ।
६. 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन
ओएसिस होटल प्रालिले काठमाडौंको कान्तिपथमा १६ तले 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन निर्माण गर्ने भएको छ। जसका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।
आवासीय भवनको लागत १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजना निर्माण हुने कुल क्षेत्रफल ७ रोपनी २ आना रहेको छ। कुल मिश्रित आवासीय भवनले ओगटेको जग्गाको क्षेत्रफल १ हजार ४ सय ४७ वर्गमिटर हुने छ। यसैगरी मिश्रित आवासीय भवनको तलाको कुल क्षेत्रफल २२ हजार ७ सय ९ वर्गमिटर हुने रिपोर्टमा उल्लखे छ।
मिश्रित आवासीय भवनको आवासीय क्षेत्रको लागि ५ हजार २ सय ८ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। व्यावसायिक क्षेत्रका लागि ८ हजार ७ सय १ वर्गमिटर तथा खुला र हरियाली बनाइने क्षेत्रका लागि कुल जग्गामध्ये ५९.६४ प्रतिशत जग्गा छुट्याइएको छ। मिश्रित आवासीय भवनको भुँइ तलामा पार्किङ, जिम, कार्यालय, हल र लबी रहने छ। पहिलो तलामा ८ र दोस्रो तलामा ९ वटा पसल रहने छ भने तेस्रो, चौथो,पाँचौ र छैँठौँ तलामा ५/५ वटाका दरले अफिस स्पेस रहने छ।
यसैगरी सातौँ तलामा वेन्क्वेट हल, वेन्क्वेट किचन, स्टोर रुम, मिटिङ रुम र प्रि फंगसनल क्षेत्र रहने छ। यसैगरी आठौँ तलामा लाउञ्ज र स्विमिङ पुल, रिसेप्सन र स्टाफ किचन रहने छ। त्यसमाथिक तेह्रौँ तलासम्म हरेकमा ८ वटा अपार्टमेन्ट रहने छ। भवनको दुई तला भने भूमिगत रहने छ। जहाँ सवारी पार्किङ हुने छ।
७.मल्ल होटल
यसैगरी गत आवमा नै मल्ल होटलले पनि होटल विस्तारका लागि भन्दै वातावरणीय प्रभाव मूल्यांकन तयार पार्दै राय सुझावका लागि सार्वजनिक गरेको छ। होटल २०३२ सालमा दर्ता भएको थियो।
तत्कालीन समयमा रमाकुमारी मल्लले होटल दर्ता गराउँदै सञ्चालनमा ल्याएकी थिइन्। स्थापना कालमा होटलले चारतारेको मान्यता पाएको थियो। होटललाई २०७६ भदौमै पाँचतारे प्रमाणपत्र दिइएको थियो। तर पछि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य भएपछि होटलको पाँचतारे नवीकरण रोकिएको थियो।
होटल स्थापना कालमा ७५ कोठमा सञ्चालन भएको थियो। सन् १९९५ मा मर्मत र विस्तार हुँदा होटलमा १ सय १९ कोठा तथा १ सय ७५ बेड बनाइएको थियो। मल्ल होटलमा बेन्क्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुलको सुविधा छ।
८. डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना
गत आर्थिक वर्षमा नै ९७.४३ मेगावाट क्षमताको डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पनि राय सुझावका लागि सार्वजनिक भएको छ। आयोजना जाजरकोट र रुकुम (पश्चिम)मा निर्माण हुने छ।
आयोजना जाजरकोटको नलगाड र भेरी नगरपालिका र रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका र सानो भेरी गाउँपालिका पर्दछ। आयोजनाका लागि कुल ६२.२२ हेक्टर जग्गा आवश्यक पर्ने छ। आयोजनाको कुल लागत अनुमान २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार ७६ रुपैयाँ रहेको छ।
९.फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान
सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको विशेषतासहितको रंगशाला निर्माण गर्ने भएको छ। गत आवमा नै रंगशाला निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको थियो।
रिपोर्टमा रंगशाला निर्माणका १५ अर्ब रुपैयाँ खर्च लाग्ने उल्लेख छ। रंगशालाको क्षमता ५० हजार सिट क्षमताको हुनेसमेत रिपोर्टमा उल्लेख छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा २५.४८ हेक्टर क्षेत्रफलमा रंगशाला निर्माण हुने छ।
५० हजार जना दर्शक क्षमताको प्याराफिटसहितको मूल क्रिकेट मैदान निर्माण हुने रिपोर्टमा उल्लेख छ। रंगशाला निर्माण पाँच वर्षमा सम्पन्न हुने जनाइएको छ।
१०. तल्लो सेती जलविद्युत आयोजना
तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक भएको छ। १२६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको लागत २३ अर्ब ९४ करोड रूपैयाँ अनुमान गरिएको छ।
यो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको परियोजना हो। तनहुँ हाइड्रोपावर लिमिटेड प्रस्तावक रहेको यो आयोजनामा एसियाली विकास बैंक (एडबी)को समेत लगानी रहने छ। यो आयोजना तनहुँको दमौलीभनेदा २४ किलोमिटर तल सेती नदीमा निर्माण हुनेछ।
३२ मिटर उचाइको उच्च बाँध १२.७ किलोमिटर लामो जलाशय र ६.७५ किलोमिटर लामो सुरुङ रहने रिपोर्टमा उल्लेख छ। अर्धजलाशय एंव पिक रन अफ प्रकृतिको आयोजनाको वार्षिक ऊर्जा उत्पादन क्षमता ५२४.२४ गिगावाट आवर रहेको छ।
आयोजनाले तनहुँ र चितवनको गरी कुल २७१.७६ हेक्टर क्षेत्रफल जमिन ओगट्छ। जसमा १६१.४६ राष्ट्रिय वन र ११०.३० निजी जग्गा पर्नेछ।
आयोजनाले वातावरणीय व्यवस्थापन योजनामा ८८ लाख ५३ हजार डलर खर्च हुने जनाएको छ। आयोजनाको काम गर्दा १९ हजार १ सय १५ वटा रुख कटानी हुनेछ। आयोजना निर्माण गर्न पाँच वर्ष पाँच महिना लाग्ने रिपोर्टमा उल्लेख छ।
११. २७० मेगावाट क्षमताको भेरी-१
कर्णाली प्रदेशका जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा २७० मेगावाट क्षमताको भेरी-१ जलविद्युत आयोजना निर्माण हुने भएको छ। गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजना जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ तथा रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पर्नेछ। प्रतिवेदनमा उल्लेख भएअनुसार आयोजना क्षेत्रका यी वडाहरू प्रत्यक्ष प्रभावित हुनेछन्।
आयोजनामा समुन्द्री सतहबाट १ हजार ३ सय ९३ मिटर उचाइमा बाँध निर्माण गरिनेछ भने विद्युतगृहको आधार सतह १ हजार ७७ मिटर उचाइमा रहनेछ। पिकिङ जलाशयसहित स्पिलवे, इनटेक, टनेल, सेटलिङ बेसिन, सर्ज ट्यांक र पेनस्टकजस्ता संरचनाहरू निर्माण गरिने छन्।
१२. वेदा हस्पिटालिटी होटल
लुम्बिनी प्रदेशको रुपन्देहीमा वेदा हस्पिटालिटीले होटल निर्माणका लागि आवश्यक वातावणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरिसेको छ। होटल रुपन्देही जिल्लाको मायदेवी गाउँपालिका वडा नम्बर ४ मा निर्माण हुने छ।
होटलमा ११ वटा भवनहरु निर्माण हुने छ। जसमा ५ वटा भिल्ला समेत रहनेछ। होटलमा कुल १ सय ७७ वटा रुम तथा २ सय ७० वटा बेड रहने छ। होटलमा ५० वटा दुई पांग्रे र २२० वटा चार पांग्रे सवारी पार्किङ क्षेत्र हुने छ। होटलमा क्यासिनो समेत सञ्चालन हुने छ। होटल निर्माणको लागत ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
१३. इखुवाखोला जलविद्युत आयोजना
४० मेगावाट क्षमताको इखुवाखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत गत आवमा राय सुझावका लागि सार्वजनिक भएको थियो। आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लाको मकालु गाउँपालिक वडा नम्बर ४ मा रहेको छ।
आयोजनाको प्रसेताव अपर अरुण हाइड्रो- इलेक्ट्रिक लिमिटेड रहेको छ। आयोजनाको कुल लागत अनुमान ९ अर्ब १४ करोड ९२ लाख ६४ हजार १ सय ३४ रुपैयाँ गरिएको छ। निर्माण अवधि ४८ महिना राखिएको छ।
१४. ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त मर्स्याङ्दी जलविद्युत आयोजना
९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ। आयोजनाको वित्तिय व्यवस्थापनको काम समेत सम्पन्न भइसेको छ। आयोजनाका लागि आवाश्यक वातावरणीय प्रभाव मूल्यांन रिपोर्ट गत आवमा नै राय सुझावका लागि सार्वजनिक भएको हो।
तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ। आयोजनाको लागत २० अर्ब २५ करोड अनुमान गरिएको छ। आयोजनाबाट २०८६ बैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।
१५. बुटवल-पोखरा सडक
लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको पोखरा जोड्ने बुटवल-पोखरा सडक स्तरोन्नति हुने भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल-पोखरा सडकखण्डको १५७.९५ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो।
सडक स्तरोन्नतिमा १९ अर्ब ७५ करोड ९० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा दीर्घकालीन समस्या समाधानका लागि पुल संरचनाजस्तो पिलरसहित रहने 'भायाडक्ट' र सुरुङको लागत ९ अर्ब ३७ करोड २० लाख रूपैयाँ अनुमान सहितको वातावरणीय प्रभाव मूल्याकन रिपोर्ट समेत तयार भइसकेको छ।
यो सडकखण्ड बुटवल गोलपार्कको समथर भूभागबाट, पाल्पा र स्याङ्जाको पहाडी भूभाग हुँदै कास्कीको पोखराको पृथ्वीचोकमा गएर टुंगिने छ।
सडक रुपन्देही, पाल्पा, स्याङजा र कास्की जिल्लामा पर्ने छ। सडक समुद्री सतहको न्यूनतम १ सय ७० मिटर र उच्चतम १२ सय मिटरको उचाइसम्म पर्दछ। सडक ५० मिटर फराकिलो बन्ने छ। सडक स्तरोन्तिका लागि सार्वजनिक रिपोर्टमा 'डबल बिटुमिन सर्फेस ट्रिटमेन्ट' रहने उल्लेख छ।
१६. पञ्चपुरी नगरपालिका औद्योगिक ग्राम
कर्णाली प्रदर्शको सुर्खेतमा निर्माण हुने पञ्चपुी नगरपालिका औद्योगिक ग्राम आयोजनाको वातावरणीण प्रभाव मूल्यांकन रिपोर्ट गत वर्ष नै राय सुझावका लागि सार्वनजनिक भएको हो।
यो आयोजना सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ र ८ मा पर्दछ। मौरीडाँडा र सिद्धेश्वर सामुदायिक वन क्षेत्रको १०.४४ हेक्टर वन क्षेत्रको प्रयोग गरी न्यूनतम ७८६ मिटर र अधिकतम ८ हजार १ सय ८ वर्गमिटरका औद्योगिक प्लटहरु निर्माण गरिने छ।
जहाँ फलफूलको जुस, मह प्रशोधन, मासुजन्य प्रशोधन, कुचो, दुग्धजन्य, कंक्रिट ब्लक काठ फर्निचर तथा तेल/ पिठो लगायतका बस्तु प्रशोधन हुने उद्योग स्थापन गर्ने लक्ष्य लिइएको छ। आयोजनाको लागत अनुमान १५ करोड ३० लाख ६७ हजार रुपैयाँ गरिएको छ।
१७. रहफ भैरवस्थान-कालिकोट-हिल्सा सडक
सरकारले रहफ-भैरवस्थान-अशारा-तुल्ता-बेलखेत-दुलाकोडा-भानाकोट-कालिकोट-हिल्सा-चीन सीमा सडक स्तरोन्नति गर्ने भएको छ।
८९.५६ किलोमिटर सडक स्तरोन्नतिका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भइसकेको छ।
यो सडक अछाम र कालिकोट जिल्लामा पर्छ। सडकको क्षेत्राधिकार बीच रेखाबाट दायाँबायाँ २५/२५ मिटर गरी ५० मिटर प्रस्ताव गरिएको छ।
प्रस्तावित सडक स्तरोन्नति गर्दा सडकको ट्रयाक खोल्ने, सडक छेउमा नाली निर्माण, क्रस ड्रेनेज र उपयुक्त संरचनाहरु निर्माण हुने छ। सडक स्तरोन्नतिको लागत ७ अर्ब ९२ करोड ७६ लाख २९ हजार ६ सय ६५ रुपैयाँ रहेको छ।
१८. मिर्चैया-कटारी-घुर्मी सडक
मिर्चैया-कटारी-घुर्मी ७२ किलोमिटरको सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि गत आर्थिक वर्ष नै सार्वजनिक गरेको हो।
प्रस्तावित सडकखण्ड स्तरोन्नति कार्यको प्रस्तावक सडक विभाग, आयोजना निर्देशनालय एसियाली विकास बैंक रहेको छ। आयोजना सिराहा जिल्ला (मधेश प्रदेश) र उदयपुर जिल्ला (कोशी प्रदेश) मा अवस्थित छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची २०७८ पुस १ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो।
प्रस्तावित स्तरोन्नतिको काम मधेश प्रदेश सिराहाको मिर्चेया चोकबाट सुरु भइ कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार गइ समाप्त हुन्छ।
रिपोर्टअनुसार आयोजनामा ३ ठूला पुल, ७ साना पुल, २८९ पाइप कल्भर्ट, ८ वक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ कजवेको निर्माण पनि समावेश गरिएको छ। सडक स्तरोन्नतिले मिर्चैया नगरपालिकाको वडा नम्बर ६ र ७ कटारी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ११ र १४ लाई प्रत्यक्ष प्रभाव पार्नेछ।
आयोजनाको अनुमानित लागत ९ अर्ब ४७ करोड (२० प्रतिशत भइपरि आउने खर्चसहित र भ्याटबाहेक) रहेको छ भने निर्माण अवधि ३० महिनाको हुने रिपोर्टमा उल्लेख छ।
१९. मुलपानी क्रिकेट रंगशाला
मुलपानीमा रंगशालाको निर्माणको थालनी २०७१ सालबाट भएको थियो। पूर्वघोषित लक्ष्यअनुसार २०७६ सालमा सम्पन्न हुनुपर्ने रंगशाला तथा एकेडेमी निर्माणका लागि पछिल्लोपटक २०८० असार २४ गते वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो।
उक्त रिपोर्ट स्वीकृत हुँदा आयोजनाको लागत १ अर्ब २८ करोड ६६ लाख ३ हजार ८ सय ३७ रुपैयाँ अनुमान गरिएको थियो। स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा समावेश गरिएअनुसार आयोजनाले ओगट्ने क्षेत्रफल, दर्शक क्षमता, पानीको खपत फेरबदल भएको हुँदा पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ।
सुरुको रिपोर्टमा १ लाख १८ हजार २ सय ३ वर्गमिटर रहेकोमा १ लाख ६ हजार ९ सय ९९ वर्गमिटर रिपोर्ट स्वीकृत भएको १८ महिनामै फेरि पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।
रिपोर्टअनुसार आयोजनाको लागत अस्वभाविक रुपमा बढेको छ। पूरक रिपोर्टमा आयोजनाको लागत ७ अर्ब ३५ करोड ४ लाख २० हजार रुपैयाँ पुर्याइएको छ।
क्षेत्रफल प्रस्ताव गरिएको छ। यसैगरी आयोजनाको संरचना प्याराफिटको क्षेत्रफल स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा १ हजार ७ सय २२ वर्गमिटर रहेकोमा हाल प्याराफिटको क्षेत्रफल १८ हजार ८९ वर्गमिटर प्रस्ताव गरिएको छ।
२०. सुपर बुढीगण्डकी जलविद्युत आयोजना
पर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भइसकेको छ। ३४.३९ मेगावाट क्षमताको जलविद्युत आयोजना रन अफ दि रिभर प्रकृतिको रहेको छ।
प्रस्तावित आयोजनाको डिस्जार्ज ११.४ घनमिटर प्रति सेकेण्ड, ग्रस हेड ३५६.११ मिटर र नेट ३४६.४२३ मिटर रहेको छ। गण्डकी प्रदेशको गोरखा जिल्ला चुमनुव्री गाउँपालिकामा आयोजना निर्माण हुनेछ। आयोजनाको लागत अन्य आयोजनाको भन्दा बढी देखिएको छ।
सामान्यत: पछिल्लो समय निर्माण भइरहेको आयोजनाको लागत प्रतिमेगावाट १९ देखि २० करोड रुपैयाँको बीचमा रहेको छ। तर यसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ रहेको छ। आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ। आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ।
२१. गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला
सरकारले २ अर्ब ८० करोड रुपैयाँको लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। यसका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट गत आर्थिक वर्षमा नै भएको हो। क्रिकेट रंगशाला विराटनगर महानगरपालिका वडा नम्बर १९ को वैजनाथपुरमा निर्माण हुनेगरी प्रस्ताव गरिएको छ।
प्रस्तावित क्रिकेट रंगशाला बहुउपयोगी सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बन्ने छ। १० हजार सिट क्षमताको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला र ५ हजार सिट क्षमताको एथलेटिक ट्रर्याक, फुटबल र रक्वी रंगशालासमेत रहने छ।
रंगशाला निर्माणका लागि १०.३२ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ। प्रस्तावित आयोजनाको करिब १.५ किलोमिटर ८ मिटर चौडाइ भएको पहुँच सडक स्तरोन्नति गरिने जनाइएको छ। रंगशाला निर्माण क्षेत्रमा १ हजार वटा रुखविरुवा तथा १४ हजार ४ सय ८४ वर्गमिटर घाँस रोपण गरी हरियाली गरिने छ।
रंगशाला निर्माणको अवधि ३ वर्षको हुने र रिर्ट पिरिएड ८ देखि १० वर्षको हुने रिपोर्टमा उल्लेख छ। रंगशालामा १ हजार ८ सय १७ वटा दुईपांग्रे र २ सय ९५ वटा चारपांग्रे सवारी साधान पार्किङ क्षेत्र निर्माण हुने छ। आयोजनको कुल लागत २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३ सय ७४ रुपैयाँ रहेको छ।
२२. होटल बाराही काठमाडौं
होटल बाराही काठमाडौंले १६६ शैय्या क्षमतामा स्तरोन्नतीका लागि यसै आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको हो।
होटल सुरुवाती चरणमा ६७ कोठा र ९८ शैय्याको आईई गरिएको थियो। अहिले १०१ कोठा १ सय ६६ शैय्यामा स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो। होटल काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा रहेको छ। होटलको कुल लगानी २ अर्ब ५० करोड अनुमान गरिएको छ।