इस्लामाबाद- पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो संकटको प्रमाण भनेको छ।
पीटीआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरंगजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताए।
उनीहरूले मात्र तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गरेकाे डनले बताएको छ। यसअघि पीटीआईको ६ दशमलव ५ प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताए।
राष्ट्रपति आसिफ जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उनकाे आराेप छ। तीन वर्षमा वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उनको भनाइ थियो। उनका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ।
अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताए। ‘सबै बालीले नकारात्मक वृद्धि देखाए तर, गधाहरूको जनसंख्या बढेको छ’ उनले टिप्पणी गरे। पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्यांकलाई उदृत गर्दै उनले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठ सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताएका छन्। पीटीआई नेताहरूले आर्थिक पतनका कारण ठूलो संख्यामा पलायन हुने चेतावनी पनि दिएका छन्।
अकरमले खराब आर्थिक अवस्थाबाट बच्न मानिसहरू देशबाट भागिरहेको र चाँडै थप आउने बताए।अयुबका अनुसार हालैका वर्षहरूमा ३२ लाख मानिसले रोजगारी गुमाउने, मुद्रास्फीति र खराब जीवनस्तरको कारण पाकिस्तान छोडेका थिए। उनले सत्तारूढ सांसदहरू उनीहरूको असफल शासनका कारण मतदाताहरूको सामना गर्न असमर्थ रहेको बताए। रासस