काठमाडौं- सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन्। अभाव थियो तर अत्यास थिएन। उल्झन थिए तर अल्झिने फुर्सद थिएन। अपमान थियो, तिरस्कार थियो। जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बसेनन्। समस्यासँग हारेनन्, अभाव देखाएर भागेनन्।
समस्याले थिचि नै रह्यो तर सपनाले निदाउन दिएन। जिम्मेवारीले थाक्न दिएन। सायद सन्तानले पनि बाउभित्रको त्यो ‘जुनुन्’ देखे। बाबुआमाको मुहारमा ‘हाँसो’ नदेखे पनि आँतभित्रको ‘आँट’ देखे। त्यसैले त आज ‘ढुंगाको काप फोरेर पनि निस्किन्छ पीपल, सिर्जना शक्ति संसारमा हुँदैन कहिल्यै विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश यथार्थमा परिणत भएको छ। उनकी एउटा छोरी सम्भवतः नेपालमा चमार समुदायबाट चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गर्ने पहिलो छात्रा बनेकी छिन्।
अरू दुई सन्तानले पनि शिक्षामा राम्रो सफलता हासिल गरेका छन्। माइली छोरी सृजना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआईटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन्। यो परिवारको संघर्ष र सफलताको कथा हाल सबैका लागि उदाहरणीय बनेको छ। यसका पछाडि बुबाआमाको असाधारण संघर्ष छ, अदम्य साहस पनि। त्यो संघर्षको आक्रोशबाट बुबा सन्तराममा ‘अदम्य अठोट’ र सन्तानहरूमा बुबाको सपना पछ्याउने ‘इख’ ले सफलताको बाटो तय गरेको हो।
‘इँटाको भुङ्ग्रोबाट जन्मिएका सपना’
कपिलवस्तुको बहादुरगञ्ज, त्यहाँभित्रको चमारबस्ती। घनघोर पञ्चायतकालीन समय, जात व्यवस्थाको पिँधमा रहनु अर्थात् चमार हुनुका व्यथा सन्तरामसँग कति छन् कति। त्यो क्षण सम्झियो भने अहिले पनि उनको मन भतभती पोल्छ, आँखालाई आक्रोशको आँसुले बिटुलो बनाउँछ। कथित जात र पेसाले कहिल्यै आत्मसम्मानका साथ बाँच्न नदिने। एकातिर जात व्यवस्थाको जाँतो, अर्कोतिर त्यसैले सिर्जना गरेको गरिबीको खाडल। सन्तरामले आफ्ना बुबाको संघर्ष देखे।
इँटाभट्टाको भुङ्ग्रोमा काँध थाकिने र हात ठेला उठ्ने गरी गरेको बाउको संघर्षभन्दा ‘जातका कारण भोगेको अपमान’ को ‘घाउ’ ले सन्तरामलाई भतभती पोल्थ्यो। 'हो त्यहीबाट सपनाको जन्म भएको हो। बुबासँग इँटाभट्टामा मजदुरी गर्दा गर्दै एसएलसी उत्तीर्ण गरेँ। बुबाको इमानको कमाइबाट प्लस टु पढेँ, थप उच्च शिक्षाको सपना देँखे तर अभाव र गरिबीले टाउको उठाउन दिएन। सपना त कति देँखे देँखे तर त्यसलाई पछ्याउँदा सधैँ व्यवधान!', उनले भने।
विसं २०४२ चैत ३१ गते सन्तरामको जीवनले नयाँ मोड लियो। संघर्षकै क्रममा सो दिनदेखि उनी नेपाल प्रहरीको सहायक निरीक्षक बने।
'कलिलो मस्तिष्कमा अभाव र अपमानको पीडा बेस्सरी गडेको थियो। त्यसको समाधानको उपयुक्त माध्यमका रूपमा राष्ट्रसेवामा प्रवेश गरेँ। अभावमा हुर्किए पनि जीवित सपनाले साकार रूप ग्रहण गरेको दिन थियो त्यो', उनी सम्झिन्छन्, 'अब त सपनाले नयाँ उडान भर्ने भयो भन्ने लाग्यो। प्रायः हाँसो नदेखिने बुबाको मुहारमा हाँसो ल्याउने, आमाको गहना बन्धकी राखेर पढेको ऋण तिर्ने र उन्नत भविष्यको कल्पना गर्ने, सन्तानलाई सुखको जीवन दिने। यही त थिए सपना! अहँ, त्यो तीन वर्ष पनि टिकेन। निसाफको कुरा गर्दा जागिरबाट बर्खास्त हुनुपर्यो।'
काठमाडौंको तत्कालीन कमलपोखरी वडा प्रहरी कार्यालयमा कार्यारम्भ गरेका सन्तराम त्यहीबाट बर्खास्तीमा परेर फेरि सडकमै आए। बर्खास्तीको दिन अर्थात् २०४५ साउन १७ गते आज जस्तै लाग्छ उनलाई। सन्तरामले बताएअनुसार उनको कमाण्डमा रहेको टोलीले जबरजस्ती करणीमा एउटा मान्छेलाई पक्राउ गर्यो। कारबाही अगाडि बढायो, पछि ती व्यक्ति तत्कालीन उच्च प्रहरी अधिकारीका आफन्त रहेछन् भन्ने थाहा भयो। यही घटना गिजोलियो र पछि अर्को घटनामा सन्तराम तीन हजार रूपैयाँ घुस लिएको भनेर बर्खास्तीमा परे।
'संघर्ष गरेरै हुर्किएँ। ठूलो सपना बोकेर जागिर गरियो तर त्यो धेरै टिकेन। जबर्जस्ती बर्खास्तीमा परे। यो जीवनको असाधारण मोड थियो तर हिम्मत हारिनँ, फेरि संघर्ष गरेँ। शिक्षण गरेर जीविको चलाएँ', उनी भन्छन्, 'दुःख त भयो तर हार मानिनँ। मसँगै सेवा प्रवेश गरेका कोही एसपी, डिएसपी भएर अवकाश हुँदैछन्। सायद म पनि माथि पुग्थेँ होला! ठीकै छ, जीवन त बाहिर पनि रहेछ नि त! संघर्ष गरेँ, सन्तानलाई शिक्षा र संस्कार दिएँ। अहिले मेरा सपनालाई सन्तानले पूरा गर्दैछन्।'
‘छोरी चमार समुदायबाट पहिलो डाक्टर’
कपिलवस्तुको कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा २०५६ कात्तिक ५ गते जन्मिएकी तिनै सन्तरामकी छोरी स्मृति हरिजन हाल ‘डाक्टर’ बनेकी छिन्। उनी ७२औँ नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण भएकी छिन्। यही जेठ १२ देखि १५ सम्म सञ्चालित परीक्षाबाट उनी उत्तीर्ण भएकी हुन्।
'छोरी डाक्टर बनेको खबर सुनेपछि खुसीको सीमा नै छैन। पत्रपत्रिकामा खबर आइरहेका छन्, विश्वविद्यालय अनुदान आयोगबाट पनि फोन आएको थियो, तपाईँकी छोरी चमार समुदायको पहिलो महिला डाक्टर बन्नुभयो भनेर', बुबा सन्तरामले भने, 'हुन त अन्य सन्तान पनि राम्रै छन्। तीन जनाले सधैँ उत्कृष्ट नतिजासहित उच्च शिक्षा छात्रवृत्तिमा नै पढे। छोरी स्मृतिको सफलताले मेरो छाती गर्वले चौडा भएको छ।'
काठमाडौंको पेन्टागन कलेजबाट ११ र १२ कक्षा छात्रवृत्तिमा अध्ययन गरेकी स्मृतिले नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबीबीएस उत्तीर्ण गरेकी हुन्। उनी यसको सबै श्रेय आफ्नो बुबालाई दिन्छिन्।
'आज म यहाँ एक डाक्टर र महिलाको रूपमा मात्र होइन, मेरो देशको चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा छु। यो मेरा लागि गर्व, भावुक र उत्साहित क्षण हो', डा स्मृति भन्छिन्, 'हाम्रा लागि अध्ययन, अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान, आत्मसम्मान र मुक्तिमार्ग थियो । हाम्रै खुसीका लागि उहाँले जे गर्न सकिन्थ्यो, सबै गर्नुभयो। संघर्ष गर्नुभयो। अपमान सहनुभयो। गहना बेचेर, ऋण लिएर, मजदुरी गरेर सपना बुन्नुभयो। म त त्यो सपनाको माध्यममात्रै हो।'
उनले नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत (चमार, डोम, मुसहर, वादी) दिइने छात्रवृत्तिमा अध्ययन गरेकी हुन्। 'मेरो बुबाआमाको संघर्ष, मेरो मेहनत त छँदैछ, नेपाल सरकारले पनि ठूलो गुन लगाएको छ। यदि यो छात्रवृत्ति नपाएको भए सायद मेरो जीवनको मोड नै अर्को हुन्थ्यो। जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो। त्यसैले सरकारप्रति आभार।'
सरकारले यस छात्रवृत्तिअन्तर्गत मेडिकल कलेज शुल्क, प्रतिमहिना पाँच हजार रूपैयाँ खाजा र स्टेशनरी खर्च दिने गरेको छ। यसर्थ, अब आफ्नो जिम्मेवारी र दायित्व परिवारका लागि मात्र नभइ आफ्नो समाज र सिंगो देशकै लागि थपिएको र त्यो विश्वास कहिल्यै नतोड्ने उनको भनाइ छ।
डा स्मृति जात व्यवस्थामा हेयको दृष्टिले हेरिने समाजमा जन्मिएका हरेक युवाले आँटेमा हरेक कुरा सम्भव हुने भन्दै अब गुनासो गरेर बस्ने छुट कसैलाई नभएको बताउँछिन्। 'मैले गरिब, कथित तल्लो जात र महिला भएकैले दोहोरोतेहेरो उत्पीडन भोग्नु त पर्यो नै। चमार समुदायलाई वर्षौँदेखि सस्तो श्रम र जातीय पूर्वाग्रहको चस्माबाट हेरिएको छ। त्यसैले गुनासा त छन्, समाज, सामाजिक संरचना, हाम्रो व्यवस्थाबारे, तर गुनासो गरेर पुगिने कही होइन', उनले भनिन्, 'मैले मेरो आमाबुवा र शिक्षकहरूबाट सुनेँ, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठूलो हतियार हो’ भनेर। त्यसैले सबै तिरस्कार, अपमान, अभाव र गुनासाहरूलाई छोडेर सपना पछ्याउन हिँडे। त्यही भएर यो स्थानमा छु।'
उनी धेरै मानिसका लागि डाक्टर बन्नु व्यक्तिगत लक्ष्य भए पनि आफ्ना लागि त्यो व्यक्तिगत मात्र नभइ समाजमा आशा जगाउने अभियान भएको बताउँछिन्। आफ्नो सफलता वर्षौंवर्षको मौनता तोड्ने, हिम्मत गर्ने, तिमी सक्दैनौँ भनेर ‘भुइँमान्छे’ लाई हेलोहोचो गर्नेहरूलाई उत्तर पनि भएको डा स्मृतिको बुझाइ छ। उनी भन्छिन्, 'मैले, हामी सक्छौँ भनेर उत्तर दिनु थियो। चुपचाप सपना देखिरहेकी चमार समुदायकी हरेक युवतिलाई भन्न चाहन्छु-तिमी जहाँ जन्मियौँ, त्यो तिम्रो दोष होइन। तिमी जस्तो रहिरहन्छौँ, त्यसको दोषी तिमी पनि हौँ। त्यसैले हिम्मत गर, तिम्रो भाग्य र भविष्य तिमीले नै निर्धारण गर्ने हो। तिमीलाई सपना देख्ने, पढ्ने, नेतृत्व गर्ने र सेवा गर्ने सम्पूर्ण अधिकार छ। बस् अब उठ, जाग।'
अबको योजना
केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार (राष्ट्रिय जनगणना २०७८) नेपालमा १४२ जातिहरू र १२४ भाषाभाषीहरू छन्। १४२ जातिहरूमध्ये १७ औँ नम्बरमा चमार, राम र हरिजन भनेर उल्लेख छ भने यो समुदायको जनसङ्ख्या तीन लाख ९३ हजार २५५ छ। जसमा पुरुषको सङ्ख्या एक लाख ९६ हजार ७९९ र महिलाको सङ्ख्या एक लाख ९६ हजार ४६४ रहेको छ। यो समग्र जनसङ्ख्याको एक दशमलव ३५ प्रतिशत हो।
चमारलाई दलितभित्र पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पिछडिएको,राजनीतिक पहुँचबाट टाढा रहेको र जातीय संरचनाका कारण अत्यन्त पिँधमा रहेको जातिका रूपमा लिइन्छ।
यसैकारण सदियौँदेखि चमार जातिले अनेकौँ सामाजिक तथा सांस्कृतिक बन्धनभित्र बसेर कष्टपूर्ण जीवन बिताउँदै आएका छन्। यही समाजमा जन्मिएकाले स्मृतिको भोगाई पनि पृथक छैन। 'बुबा संघर्षशील भएकाले हामीले धेरै अभावको सामना त गर्नुपरेन तर समाजको संरचनाभित्र रहँदा पटकपटक अपमानको सामना गर्नुपर्यो। विगतमा मात्रै होइन, कतिपय अवस्थामा अचेल पनि जातको कुरा आएपछि अपमान भोग्नुपर्छ', उनले भनिन्, 'त्यो बन्धन, अपमान छिचोलेर यहाँसम्म पुगेकी छु, अब आफ्नो सम्पूर्ण जीवन आत्मसम्मान, समाजको हित र चिकित्सा सेवा तथा शिक्षामार्फत समाजमा जागरण ल्याउने हुनेछ।'
बाल्यकालका धेरै अपमानका कथाहरू डा स्मृतिको मनस्पटलमा कति छन् कति। ती सबै सम्झेर साध्य छैन। चिकित्सा शिक्षा पढ्दै गर्दा भोगेको एउटा घटना भने मनमा ‘खिल’ झै गडेको छ। 'चिकित्सा शिक्षा अध्ययनकै क्रममा समुदायमा अभ्यासमा गएको एकदिन एउटा घरमा बच्चालाई बिस्कुट दिएँ। लगत्तै उसको अभिभावकले जात सोध्नुभयो, चमार भनेपछि बच्चाले खाइरहेको बिस्कुट खोसेर फालिदिए', उनले सम्झिइन्, 'यसले निःशब्द बनायो। केही बोलिन तर आफैँसँग प्रश्न गरेँ, आखिर यसमा मेरो के गल्ती भयो? म चमार जातिमा जन्मिनु मेरो पाप हो? त्यो घटना सम्झिँदा निकै दुःख लाग्छ।'
यसैकारण डा स्मृति आफ्नो उपलब्धिलाई केवल आफ्नो र परिवारको विषय मात्र बनाउन चाहँदिनन्। यो आफ्नो समुदायकै आत्मसम्मानको सुरुवात हो भन्नेमा प्रष्ट छिन्। 'यो केबल मेरो व्यक्तिगत सफलता होइन, त्यसैले अबको मेरो लक्ष्य केबल जागिर गर्ने मात्र होइन, समाजमा जागरण ल्याउने पनि हो। समाजसेवा, समान अधिकारको पैरवी, हिजो विविध कारणले हामी दबिएका थियौँ तर अब उठका छौँ भनेर संसारलाई भन्नु छ', उनको कथन छ।
बुबा सन्तराम पनि पढाइ र विभिन्न समस्यामा घर, जग्गा, सम्पत्ति बन्धकी राखेर लिएको करिब ४० लाख रूपैयाँको हिसाबकिताबमा कम, आफूजस्तै अरु छोरीहरूमा शिक्षा र चेतनाको ‘भोग’ जगाउनमा बढी लागेको देख्ने चाहना सुनाउँछन्। 'अब घरको जिम्मेवारी बाँडिएको छ। माइली छोरी, छोरा र स्मृतिले पनि त्यो जिम्मेवारी उठाउलान्। त्यसैले चिन्ता घटेको छ। अब मेरा सन्तानले समाजका लागि केही गर्छन् कि गर्दैनन् भनेर अर्को चिन्ता थपिएको छ। त्यसका लागि पनि म उत्प्रेरक बनिरहने छु', उनले भने।
चिकित्सा शिक्षा अध्ययनमा प्रत्यक्ष जोडिएका जानकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा धर्म सुवेदी पनि राज्य र आफूहरूले दिएको अवसरलाई स्मृतिले समाज र देशको हितमा लगाउने अपेक्षा रहेको बताउँछन्। 'उहाँमाथि अभिभावक मात्रै होइन, राज्यले ठूलो लगानी गरेको छ। हाम्रो योगदान पनि त्यत्तिकै छ। त्यसैले अब स्मृतिले आफूजस्तै सीमान्तकृत समुदायको हितमा पनि काम गर्न सक्नुपर्छ', उनले भने। रासस