शुक्रबार, वैशाख २८ गते २०८१    
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

रोजगारीमा जाने र बुद्ध धर्मावलम्बीलाई आकर्षित गर्न सकेमात्रै पनि सफल हुन्छ

images
images
images
रोजगारीमा जाने र बुद्ध धर्मावलम्बीलाई आकर्षित गर्न सकेमात्रै पनि सफल हुन्छ
images
images

काठमाडौं- बुद्ध जयन्तीको दिन २६ मे २०२२ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विधिवत रुपमा व्यवसायिक उडान सञ्चालन हुने तयारी भइरहेको छ। जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कामहरू तीब्रताका साथ भइरहेको छ।

images
images
images

विमानस्थल निर्माणको काम सम्पन्न भइसकेको छ। विमानस्थल सञ्चालनको लागि आवश्यक क्यालिब्रेसन उडान पनि यही फागुन ६ गतेबाट सुरु हुँदै छ। करिब ६० वर्षसम्म आन्तरिक विमानस्थल सञ्चालनको इतिहास बोकेकोयो विमानस्थल अब अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिणत हुँदै छ।

images

प्राधिकरण तथा मन्त्रीले घोषणा गरेजसरी सञ्चालनमा आएमा नेपालको नागरिक उड्डयनले नयाँ इतिहास कोर्नेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आउने छ। भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीनिकट निर्माण भएको विमानस्थल सञ्चालनबाट विश्वका बौद्ध धर्मालम्बीहरू एवं अन्य पर्यटकहरूलाई लुम्बिनी भ्रमणमा अवश्य सहजता हुनेछ।

images

धार्मिक पर्यटनको माध्यमबाट समृद्ध राष्ट्र निर्माणको सपना पूरा गर्न पनि सहयोग हुनेछ। हवाई पर्यटक तथा यात्रुहरूलाई सहज रुपमा सेवा दिन सक्ने, रोजगारी सिर्जना गर्न सक्ने अवस्था बढ्ने छ। साथै यस क्षेत्रको आर्थिक विकाससँगै देशको अर्थतन्त्र विकासमा सहयोग पुग्ने छ। साघुँरो हुँदै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा समेत प्रयोग हुने देखिन्छ।

images
images

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गतको यो आयोजना निर्माणको काम २०१५ जनवरीबाट सुरु भएको थियो। तीन वर्षभित्रै विमानस्थल निर्माणको काम सम्पन्न गर्दै व्यवसायिक उडान सुरु गर्ने लक्ष्य भए पनि २०१५ अप्रिलको भूकम्प, ठेकेदार कम्पनी तथा स्थानीयबीच भएको असमझदारी, कोभिड-१९ का कारण भएको लकडाउन जस्ता कारणले आयोजना २०१८ मा सम्पन्न हुन नसके पनि लामो समयपछि अर्थात २०२२ को सुरुवातसँगै सुरुमै विमानस्थल निर्माणको काम सम्पन्न भएको छ।

हवाई यातायात सबैभन्दा सुरक्षित एवं भरपर्दो यातायातको साधनको रुपमा परिणत भइसकेको छ। सन् २०१९ मा विश्वमा नियमित हवाई उडानबाट आवतजावत गर्ने हवाई यात्रुको संख्या साढे ४ अर्ब रहेको थियो। सन् १९७० पछिको हवाई यात्रुको संख्यालाई अध्ययन गर्दा प्रत्यके १५ वर्षमा हवाई यात्रुको संख्या दोबर भएको देखाउँछ।

सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोभिड-१९ को महामारीका कारण सन् २०२० र सन् २०२१ मा हवाई यात्रा गर्ने यात्रुको संख्या अत्यन्त्तै न्यून रहेको छ। तथापी कोभिड भ्याक्सिन उपलब्धताको कारण संसारभरका पर्यटकहरूको आवातजावत बढ्न थालेको छ। विस्तारै यात्रा बढ्दो छ।

आईकाओको अध्ययनअनुसार सन् २०३० सम्ममा ६ अर्ब ४ करोड मानिसहरूले नियमति उडानबाट हवाई यात्रा गर्ने छन्। हवाई यातायातमा भइरहेको यो वृद्धिले नेपालमा पनि स्वभाविक प्रभाव पर्ने छ।

जसका कारण नेपालको एकमात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो ट्राफिकको कारण विगतमा जस्तै समस्या सामना गर्नुपर्ने अवस्था सृजना हुने देखिन्छ। तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालले १० वर्षसम्मको समस्या भोग्न पर्दैन। सन् २०१८ को तथ्यांकअनुसार यात्रु आगमनको संख्या १ करोड नाघिसकेको छ। 

आन्तरिक र अन्तर्राष्ट्रिय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन ७२ लाख रहेको छ। नेपालको हवाई यात्रुको वृद्धि निरन्तर भइरहेको छ। कोभिडको समयलाई अपवादमा लिने हो भने पनि नेपालको हवाई यात्रुको संख्या वार्षिक ९ प्रतिशतले बढिरहेको छ। सोही आधारमा हेर्ने हो भने सन् २०२४ सम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्या १ करोडभन्दा बढी हुने छ। जसलाई विमानस्थलको क्षमताले धान्न सक्ने देखिँदैन।

यस्तो परिस्थितिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएमा यसमा उडान सञ्चालनको लागि नयाँ अवसर प्राप्त हुनेछ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढ्दो ट्राफिकलाई समेत कम गर्न सकिन्छ।

अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने समयको घोषणासँगै यसको उपादेयताबारे विभिन्न कोणबाट प्रश्नहरू उठेका छन्। सबैभन्दा महत्वपूर्ण प्रश्न अवतरण र उडान पथको सेकेन्डरी क्षेत्र भारतीय वायुक्षेत्रमा पर्ने विषय आएको छ। भारतले उसको वायुक्षेत्र प्रयोग गर्न नदिँदासम्म विमानस्थल सञ्चालन हुन केही समस्या छन्।

यसबाट के विषयमा स्पष्ट हुनपर्ने छ भने यो अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गतको हो। यो परियोजनको सफलता भनेको दक्षिण एसियाली पर्यटन प्रद्धर्दनमा सहयोग पुर्‍याउने भएकाले भारतको समेत सहयोगले यो विमानस्थल सञ्चालनमा हुने निश्चित छ। 

अन्तर्राष्ट्रिय विमानस्थलहरू जुन देशको बोर्डरनजिक पर्ने हुन्छ त्यसको लागि नियर बोर्डर अपरेसनसम्बन्धी समझदारी हुनु पर्दछ। जसका लागि नेपालले उच्चस्तरीय हवाई कुटनीति प्रयोग गर्नु जरुरी छ।

हवाई रुट, उडान तथा अवतरण विधिको निर्माण र प्रयोग गर्दा छिमेकी देशसँग समन्वय हुन जरुरी छ। जुन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हकमा पनि त्यतिकै रुपमा लागु हुन्छ। यसको लागि नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित निकायहरूबाट गम्भीर पहलकदमी हुन जरुरी छ। 

नयाँ विमानस्थल निर्माण भइसकेपछि उडान सञ्चालनको लागि गर्नु पर्ने विभिन्न तयारीहरू सफलतापूर्वक सम्पन्न गरिसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले प्रतिपादन गरेको मापदण्डअनुसार विमानस्थल सञ्चालन भएको विधिवत जानकारी सबै पक्षलाई गराउनु पर्छ। जानकारी गराइकेपछि अन्तर्राष्ट्रिय वायुयान कम्पनीहरूले सो विमानस्थलबाट उडान गर्नको लागि अध्ययनपश्चात दिगो उडानको सम्भावना भएका उडान सञ्चालनको तयारी गर्ने गर्दछन्।

नयाँ विमानस्थलमा उडान गर्न प्रोत्साहन गर्न सरकारले विभिन्न सुविधाहरू दिनु पर्ने हुन्छ। हाम्रो हकमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढ्दो ट्राफिकका कारण नयाँ आउने कम्पनी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान गर्न चाहने वायुसेवा कम्पनीहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न अनुमति प्रदान गर्न पनि सकिन्छ।    

अर्को विषय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान कसरी सम्भव होला भन्ने विषय आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपालको पर्यटन तथ्यांक २०१९ अनुसार १० लाख पर्यटकले हवाई मार्गको प्रयोग गरेका छन्।

सोही तथ्यांकअनुसार सोही वर्ष करिब ४२ लाख हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको देखिन्छ। जसअनुसार करिब ५० प्रतिशत अन्तर्राष्ट्रिय यात्रु रहेका छन्। सोही तथ्यांकअनुसार लुम्बिनी भ्रमण गर्ने १ लाख ७३ हजार पर्यटकहरूले हवाई मार्ग प्रयोग गरेका छन्। जसमा भारतीय पर्यटकलाई समावेश गरिएको छैन। यसबाट के देखिन्छ भने करिब १७ प्रतिशत पर्यटकहरू लुम्बिनी भ्रमणका लागि आउने गरेका छन्। 

यसैगरी नेपालको लेवर माइग्रेसन रिपोर्ट २०२० अनुसार २०१८/०१९ मा २ लाख ३६ हजार श्रमिक माग्रेसन भएको थियो भने २ लाख ७२ हजारले श्रमिक श्रम स्वीकृति नवीकरण गरेका थिए। सोही प्रतिवेदनअनुसार नेपालबाट बाहिर जाने माइग्रेट कामदारको संख्या कुल हवाई यात्रुको करिब २५ प्रतिशतदेखि ३० प्रतिशत रहेको पाइन्छ।

त्यो संख्यामा पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशबाट २३ प्रतिशत र गण्डकी प्रदेश र मधेश प्रदेशबाट ३८ प्रतिशत रहेको छ भने बाँकी बागमती र प्रदेश १ को रहेको पाइन्छ। यही तथ्यांकको आधारमा अन्तर्राष्ट्रिय पर्यटकमध्ये १७ प्रतिशत लुम्बिनी भ्रमणलाई आउने भएकाले उनीहरू सिधै लुम्बिनी आउने सम्भावन पर्याप्त हुनेछ।

यसैगरी रोजगारीका लागि विदेश जानेमध्ये करिब २३ प्रतिशत (सूदुरपश्चिम, कर्णाली र लुम्बिनी) गौतमबुद्ध विमानस्थलबाटै सिधै उडान गराउन सकिन्छ र यसका लागि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकता पर्न सक्छ र पार्न सकिन्छ।

यसको अलावा विश्वमा रहेका करिब ५० करोड बुद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको छ। बुद्ध धर्मावलम्बीहरूको संख्यालाई हेर्ने हो भने कुल जनसंख्याको ९० प्रतिशतभन्दा माथि जापानदेखि पश्चिम भारतसम्म बसोबास गर्ने भएकाले त्यो जनसंख्याको न्यून प्रतिशतलाई मात्रै लुम्बिनी भ्रमण गराउन सकेमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उडान सञ्चालनको दृष्टिकोणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा बढी महत्वपूर्ण हुने सक्ने देखिन्छ।

तर निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्तो गौरवको आयोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिने संस्था, व्यक्ति, सरोकारवाला निकाय र सरकारको सकारात्मक सहयोग भने आवश्यक छ। एकले अर्कोलाई देखाएर पन्छिने छुट कसैलाई छैन। 

यसैगरी साघुँरो हुँदै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा यो विमानस्थल नेपालका लागि नै वैकल्पिक विमानस्थल अवश्य बन्ने छ। लुम्बिनी आउने पर्यटकको संख्या र सम्भावना, विदेश जाने कामदारको संख्या र सो क्षेत्रमा सहभागी हुनेहरू, विदेश भ्रमणमा जानेको संख्यालाई मूल्यांकन गर्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सक्ने सम्भावनहरू प्रशस्त रहेको छ।

नेपाल सरकार र सम्बन्धित निकायहरूले विमानस्थलको प्रर्वद्धन, अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई उक्त विमानस्थलमा आकर्षित गर्नका लगि विभिन्न सुविधाहरूको उपलब्धता एवं अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने सहज सुविधाहरू उपलब्ध गराउन सकिएमा उक्त विमानस्थलहरूको प्रभावकारी सञ्चालन हुने सक्नेमा दुईमत हुँदैन। 

(लेखक गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)

images

प्रकाशित : आइतबार, फागुन १ २०७८०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend