मुस्ताङ- च्याङ्ग्राको भुवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन्। खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भुवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुुन्।
फल्याकका किसान राजु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन्। ‘शरीरबाटै झरेर खेर जाने गरेको थियो’ उनले भने, ‘बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भुवा निकाल्न दक्षजनशक्तिसमेत व्यवस्था गरेकाले आजदेखि भुवा निकाल्न थालेका छौँ।’
नेपाल पश्मिना उद्योग संघले काठमाडौंमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भुवाको बजार सुुनिश्चित गरेको छ। बैशाख/जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो। च्याङुग्राको भुवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो।
भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ। डेढ वर्षअघि मुुस्ताङबाट नमूना संकलन गरेर मंगाेलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको थियो। प्रयोगशालाको प्रतिवेदनअनुुसार मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताए।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ। घरघरमा थोरै संख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन्। फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र-५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताए।
यसवर्ष करिब दश किलोग्राम भुवा संकलन हुुने अनुमान गरिएको छ। किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो चार हजार पाँच सय रुपैयाँका दरले भुवा खरिद गर्छन्। मुुस्ताङ र डोल्पाको छार्काका किसानले २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भुवा बिक्री गरेका छन्।
पश्मिना व्यावसायी आबद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ। नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ। संघका अनुसार नेपालबाट वार्षिक ६ अर्ब रुपैयाँको पश्मिना निर्यात हुन्छ।
वार्षिक पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ।ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन्। मुस्ताङी च्याङ्ग्राको भुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग संघमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए।
अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइसीटी) को सहयोगमा नेपाल पश्मिना संघले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुुणस्तरीय भुवा उत्पादन र संकलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ। बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भुवालाई कीटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुवा निकाल्नु अघि डिपिङ ट्यांकीमा च्याङग्राको शरीर डुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको हाे।
अन्तर्राष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुक्त र गुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भुवाको दिगोपना र गुणस्तरमा ह्रास आउन नदिन किसानलाई सीप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताए। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भुवा निकाल्ने गरिएको छ। रासस