काठमाडाैं- सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितीले संघीय सरकारसँगको सहमती गण्डकी प्रदेशले कार्यान्वयन नगरे बुधबारबाट आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चतावनी दिएको छ। मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिका अध्यक्ष बिजयबहादुर स्वाँरले यस्तो चतावनी दिएका हुन्।
साथै विभिन्न सञ्चार माध्यमहरुमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको समाचार आएपनि उक्त विषय नटुंगिएको विज्ञप्तिमा उल्लेख छ।
‘मंगलबारका दिनसम्म सरकारसँग वार्ता र संवाद जारी रहेकाले आन्दोलन निरन्तर छ, कुनै भ्रममा नपरी आन्दोलनलाई सशंक्त बनाउन यातायात मजदुर तथा कर्मचारी साथीहरुलाई जानकारी गछौँ’ विज्ञप्तिमा भनिएको छ।
बुधबारबाट थप सशक्त बनाउने आन्दोलनका कार्यक्रमहरु पत्रकार सम्मेलन गरेर जानकारी गराउने अध्यक्ष स्वाँरले जानकारी गराएका छन्। गण्डकी प्रदेश सरकारले अनलाइनमार्फत सवारी सेवा (राइड सेयरिङ) र भाडामा गाडी दिने (सेल्फ ड्राइभ) प्रणालीलाई कानूनी दायरामा ल्याउन मस्यौदा तयार गर्दैछ।
उक्त विषयको विरोधसहित अन्य माग राखेर सार्वजनिक यातायात व्यवसायीहरुले सोमबारदेखि देशभरीको यातायात सेवा अवरुद्ध पारेका छन्। यद्यपि गण्डकी प्रदेशमा भने अघिल्लो सातादेखि नै सार्वजनिक यातायात सेवा अवरुद्ध छ।
सोमबार राती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीका प्रतिनिधि र सरकारका कर्मचारीबीच गण्डकी प्रदेशले तयार गरेको मस्यौदालाई स्थगित गर्न पत्राचार गर्ने सहमती भएको थियो। सरकारले उक्त सहमती पछि यातायात सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीहरुले सहमती कार्यान्वय नै हुनुपर्ने अडान राख्दै आएका छन्।