काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद-२०२५’ मा सहभागी हुन आग्रह गरेका छन्। टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) को वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा सिईओ जोशीले उक्त आग्रह गरेका हुन्।
सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन उनले आग्रह गरेको पर्यटन बाेर्डले जनाएको छ।
सम्मेलनका क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौतासमेत सम्पन्न भएको बोर्डको भनाइ छ। जसअन्तर्गत ‘टुरिजम ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य हुनेछ। त्यसैगरी सीईओ जोशीले विश्व पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।
उक्त मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाको प्रबद्र्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ। ‘हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिनसक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ’, बोर्डका सीईओ जोशीले भने।
‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सिइओ जोशीले नेपालको इको-टुरिज्म मोडल, समुदाय-आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलका बारेमा जानकारी गराएका छन्। उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गरेका थिए।
बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल’ का प्रमुख कार्यकारी अधिकृत डा. र्याण्डी डब्रयान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सिइओ जोशीले जानकारी गराएका छन्।
सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविदहरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ। सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डको भनाइ छ। रासस