म्याग्दी- जिल्लाका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक ८ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ। २४ किलोमिटर लामो यो सडकको स्तरोन्नति ८ वर्षअघि थालिएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार ४५ करोड रुपैयाँको लागतमा बेनीबाट मंगला गाउँपालिका-२ सिमसम्म १२ दशमलव ५ किलोमिटर र १० करोड ७० लाख रुपैयाँ लागतमा सिम-पानाबगर खण्डको ४ किलोमिटर कालोपत्र भइसकेको छ।
मंगला गाउँपालिका-२ रणवाङबाट मालिका गाउँपालिका-६ दरवाङ जोड्ने ८ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा २२ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म ३ किलोमिटर कालोपत्र गरेको छ।
दरबाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप ९२ करोड रुपैयाँ बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ। रासस