काठमाडौं- स्थापनाको निकै छोटो समयमै ठूलो फड्को मारेको ग्लोबल आइएमई बैंक अहिले ‘नम्बर वान बैंक’ बनेको छ। गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको हो।
विभिन्न २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ मा ‘ग’ वर्गको आईएमई फाइनान्सलाई प्राप्ति गरेपछि 'ग्लोबल आईएमई बैंक' बनेको थियो।
वाणिज्य बैंकहरूमा यसले सन् २०१४ मा कमर्स एण्ड ट्रष्ट बैंक, २०१९ मा जनता बैंक र २०२३ जनवरीमा बैंक अफ काठमाण्डूसँग मर्जर गरेको छ। यस्तै सन् २०१३ सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग एक्वायर गरेको यस बैंकले २०१५/१६ मा आएर थप दुई विकास बैंकहरू प्यासेफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभपलमेन्टलाई प्राप्ति गरेको थियो।
यस्तै ग्लोबल आईएमई बैंकले सन् २०१२ मा आईएमई फाइनान्स कम्पनी र लर्ड बुद्ध फाइनान्स कम्पनी साथै सन् २०१९ मा हाथवे फाइनान्स कम्पनीलाई एक्वायर गरेको थियो।
वित्तीय सूचकमा समेत अब्बल बन्दै ग्लोबल ग्लोबल आइएमई बैंक वित्तीय सूचक आधारमा समेत मजबुत बन्दै गएको छ। मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानदेखि ठूलासम्म वित्तीय सेवा पुर्याउनेगरी अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिएको छ।
सबै क्षेत्र र समाजका ग्राहकहरूलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा 'सबैका लागि बैंक' भन्ने दृष्टिकोणसहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
त्यसो त आकार र वित्तीय सूचांकमा मात्र ठूलो देखिनु होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ।
जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने उपर्युक्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठूलो र अब्बल बैंक बन्न सफल भएको छ।
सात महिनामै बैंकले गर्यो ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा
ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँ खुद गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेकोमा एकै महिनामा ८२ करोड खुद नाफा थपेको छ।
यस अवधिमा बैंकले २६ अर्ब ३० करोड रुपैयाँ ब्याज आम्दानी गर्दै १६ अर्ब ५६ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। यस्तै यस अवधिमा बैंकले कमिसनबापत २ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ।
गत वर्ष १ अर्ब २७ करोडले वितरणयोग्य घाटामा रहेको ग्लोबल आईएमई बैंकले समीक्षा अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ वितरणयोग्य बनाउन सफल भएको छ। ग्लोबल आईएमई बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक हो। यस बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। सबैभन्दा बढी नाफा गर्ने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहँदै आएको छ।
यस बैंकले ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब १६ अर्ब रुपैयाँ निजी क्षेत्रतर्फ कर्जा लगानी गरेको छ। यस बैंकले सरकारी ऋणपत्रहरुमा करिब ९५ अर्ब रुपैयाँ लगानी गरेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले आफ्ना सम्पूर्ण सूचकहरु अब्बल राख्न सफल छ। बैंकले प्राथमिक पुँजीकोष १०.२९ प्रतिशत र न्यूनतम पुँजीकोष १२.५९ प्रतिशत राखेको छ।
राष्ट्र बैंकले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र न्यूनतम पुँजीकोष ११ प्रतिशत राख्नपर्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा बैंकले खराब कर्जा घटाउने र असुली बढाउने प्रयास गरिरहेको छ।
बैंकले कर्जा नोक्सानी घटाइरहेकाले आगामी समयमा बैंकको नाफा बढ्न सक्ने देखिएको छ। कर्जा नोक्सानी व्यवस्था घटाएर बैंकले वितरणयोग्य नाफा बढाउँदै आगामी समयमा लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य लिएको छ।
सोहीअनुरुप बैंकले विवेकशील ढंगबाट आफ्ना व्यावसायिक गतिविधिहरु अगाडि बढाइरहेको छ। हाल बैंकको खराब कर्जा ४.८६ प्रतिशत र नेट एपीएल १.८८ प्रतिशत रहेको छ।
ग्लोबल आईएमई बैंक 'ग्लोबल फाइनान्स'को 'बेष्ट बैंक अवार्ड २०२४' र 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट समेत सम्मान प्राप्त गरेको छ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।