मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

कोशी पर्यटन वर्ष : पूर्वतयारीबिनै पूर्वीनेपाल घुमाउने भद्रगोल योजना

images
मंगलबार, वैशाख ९ २०८२
images
कोशी पर्यटन वर्ष : पूर्वतयारीबिनै पूर्वीनेपाल घुमाउने भद्रगोल योजना

कोशी प्रदेशमा भारत, बंगलादेश र भुटानका पर्यटक भित्र्याउने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन अभियान चलाइरहेको छ।

images
images

विराटनगर- स्वदेशी तथा विदेशी (विशेषगरी भारतीय पर्यटक) लाई केन्द्रित गरेर कोशी पर्यटन वर्ष २०८२ सुरु भएको छ।

images
images
images

प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटन गरेकै भोलिपल्ट भोजपुरमा भारतीय पर्यटक कुटिए। पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्र मुन्दुम ट्रेलको प्रस्थान बिन्दु चखेवा भञ्ज्याङमा भारतीय पर्यटक रतुल रोक्सलाई मरणासन्न हुनेगरि कुटपिट भयो।

images
images

कुटपिटपछि रोक्सले भिडियोमार्फत नेपाल घुम्न जानु गल्ती भएको बताए। भारतको विहार केन्द्रित मिडियाले भारतीय पर्यटक नेपालमा कुटिएको समाचार बनाए। कोशी सरकार प्रचारको लागि भारत नपुग्दै नेपालमा पर्यटक कुटिन्छन् भन्ने समाचार फैलियो। क्यामेरा र हेल्मेट खोसेर कुटेको भन्दै रोक्सले चित्त दुखाएका छन्। स्थानीयले समेत भारतीय भनेर हेपाहा व्यवहार गरेको उनले सार्वजनिक गरेका छन्।

images
images

कोशी प्रदेशमा भारत, बंगलादेश र भुटानका पर्यटक भित्र्याउने उद्देश्यले सरकारले पर्यटन अभियान चलाइरहेको छ। पर्यटन वर्षमा एकपछि अर्का झन्झटको सामना सरकारले गरिरहेको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीदेखि प्रकृतिको समेत साथ पाएन। गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँस नफुलेपछि दमकलबाट बोटमा पानी हालियो। तर पनि गुराँस फुलेन।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह आए। सिंहले सम्बोधन गर्ने समयमा स्थानीय र आगन्तुक कार्यक्रमस्थलबाट बाहिरिएपछि त्यसलाई मजाक बनाइयो।

तेह्रथुमको लालीगुराँस गाउँपालिकाका अध्यक्ष अर्जुन माबुहाङले सम्बोधन गर्दै सहरमा छेलोखेलो विकास गरेर गाउँमा पर्यटक नआउने बताए। सहरी विकास मन्त्रालयको नाम परिवर्तन गरेर ‘गाउँ विकास मन्त्रालय’ बनाउन उनले सुझाव दिए।

kosi bhraman barsa (1).jpg

ग्रामीण क्षेत्रमा मौलिक प्रकृतिको विकास गर्नुपर्ने बताउँदै उनले मौलिकता देखाएर मात्र पर्यटन प्रवर्द्धन हुने धारणा राखे। पर्यटक प्रवर्द्धनमा भएको समस्या र सहरमा भएको विकासबारे मन्त्री, मुख्यमन्त्रीलाई नै लज्जित बनाउने भाषण गरेर बिदा भए माबुहाङ। 

लालीगुराँस गाउँपालिका अध्यक्षको जस्तै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा पर्यटनसम्बन्धी कार्यक्रम सहरमा मात्रै केन्द्रित भएको बताउँछन्। मकालु वरुण राष्ट्रिय निकुञ्जको कारण बाटो बनाउन नसक्ने अवस्था भएपछि पर्यटकीय प्रवर्द्धन हुन नसकेको उनले बताए। मकालु बेस क्याम्पसम्म पर्यटक पुग्न चाहेको तर पूर्वाधारको अभावका कारण थप गतिविधि गर्न नसकेको शेर्पाको भनाइ छ। 

दुवै पालिका अध्यक्षलाई प्रमाणित गर्ने गतिविधि पर्यटन बोर्डबाट भइरहेका छन्। नेपाल पर्यटन बोर्डले गत फागुनमा आयोजना गरेको इस्टर्न टुरिजम मार्ट इटहरी, धरान र विराटनगर केन्द्रित भयो। सोल्टी वेस्टर्नमा आयोजित उद्घाटन समारोहमा देखिएको भद्रगोलले पर्यटक ल्याउने योजनामा केन्द्रितभन्दा पनि कार्यक्रम सिध्याउन हतारो भएको देखियो।

२०७५ सालमा कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको इलामको सूर्योदय नगरपालिकाकामा पनि पर्यटन वर्षको उत्साह छैन। स्थानीय पर्यटनकर्मीले पर्यटन वर्षको आधारमा कुनै नयाँ योजना बनाएका छैनन्। त्यतिमात्र होइन पर्यटकसँग पहिलो सम्पर्क हुने यातायात मजदुर तथा व्यवसायीलाई यसबारे जानकारी समेत छैन।

kosi paryatan - padmarga.jpg

प्रदेश सरकारले लिएको १० लाख पर्यटकको लक्ष्य लिएको छ। ८२ वटा पर्यटकीयस्थलको छनौट गरेको सरकारले त्यहाँसम्म कसरी पर्यटक पुर्‍याउने तयारी गरेको छैन। तर पर्यटनसँग जोडिएर प्रचार गरिरहेका अभियन्तासँग सरकारले सहकार्य र संवाद गरेको छैन।

पूर्वीब्लुज नामको च्यानलबाट नेपालका घुम्न लायक ठाउँमा प्रचार गरिरहेका सचिन न्यौपानेले सरकारको चासो अपेक्षा नगरेको बताए। बिजनेस न्युजसँग कुरा गर्दै उनले सरकारी पक्षबाट पर्यटकीय गन्तव्य पहिचानै हुन नसकेको प्रष्ट पारे।

सरकारसँग पर्यटन व्यवसायी, पर्यटन अभियन्ता र पर्यटकीय स्थलको रेकर्ड नै नभएको संशय व्यक्त गर्छन् उनी। ‘गाउँमा पर्यटकीय चेतनाको विकास भएकै छैन। निजी स्तरबाट आफै भएका बाहेक सरकारी तवरबाट कुनै प्रयत्न भएको पाइँदैन। अथाह सम्भावना भएका धेरै क्षेत्रहरू छन्। पर्यटकीय सम्भावना अथाह छ तर नागरिकलाई पर्यटक आउँछन् भन्ने विश्वास नै छैन,’ उनले भने। पछिल्लो समय स्थानीय सरकारले केही प्रयास गरेपनि पर्याप्त नभएको उनको भनाइ छ।

यसअघि माघ १० गते कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै एक्वा वर्डमा आयोजित मूल आयोजक समितिको बैठकको दृश्य लज्जास्पद देखियो। आयोजकको व्यवस्थापन र हस्पिटालीटीले पर्यटनकर्मी र आगन्तुक हेरेकोहेर्‍यै भए। खानाको परिकार, वेटर्स र तत्कालीन परिदृश्यले भद्रगोल अवस्था देखायो।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले पर्यटनमार्फत रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताएका छन्। गाउँमा रोजगारीको लागि पर्यटन एकमात्र विकल्प भएको बताउँदै उनले आर्थिक विकासमार्फत समृद्धिको बाटो तयगर्ने दाबी गरेका छन्।

kosi bhraman barsa (4).jpg

अभियानको सिद्धान्त, प्राथमिकता र कार्यक्रम बारे पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले प्रस्तुत गरेको वक्तव्यमा समेत सोही कुरा दोहोरिएको छ। स्थानीय उद्यमी, पर्यटन व्यवसायी, यातायात क्षेत्र, कृषकहरू, पर्यटन सम्बद्ध उद्योगहरूको प्रवर्द्धनमा अभियान सहयोगी बन्ने मन्त्रालयले उल्लेख गरेको छ। रोजगारीको अवसर सृजना गर्ने र युवाहरूमा व्याप्त निराशालाई चिर्दै उद्यमी उत्पादन गर्ने सरकारको लक्ष्य छ।

कोशी प्रदेश सरकारले सगरमाथा राष्ट्रिय निकुञ्ज, केचना कवल, कञ्चनजंघा, तिम्वुङपोखरी, सन्दकपुर, माइपोखरी, सभापोखरी, ह्ययातुङ झरना, अरुण उपत्याका लगायतलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडी सारेको छ।

सरकारकै भनाइअनुसार पर्यटकमैत्री नीति कानून, पर्यटकमैत्री व्यवहारलगायतका विषयमा ध्यान दिन जरुरी रहेको छ। ट्राभल्स, ट्रेकिङ, होमस्टे, सवारी चालक, गाइड एवं भरियाहरूको प्रशिक्षण र संरक्षणसम्बन्धी सचेतना कार्यक्रमहरू आवश्यक रहेको बताएको सरकारले भ्रमण वर्षको राम्रो तयारी गरेको देखिँदैन। 


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend