मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३
वर्ष २०८१

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १२.५७ प्रतिशतले बढ्यो, ३१ प्रतिशत युवाको रोजाइमा यूएई

रोजगारीका लागि बाहिरिनेमध्ये ११ प्रतिशत महिला कामदार

सोमबार, वैशाख ८ २०८२
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १२.५७ प्रतिशतले बढ्यो, ३१ प्रतिशत युवाको रोजाइमा यूएई

वर्ष २०८१ मा कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ११.०३ प्रतिशत महिला कामदार रहेका छन्।

काठमाडौं- वर्ष २०८१ मा नेपालबाट विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर ८ लाख १० हजारभन्दा बढी युवा बाहिरिएका छन्।

देशमै रोजगारीको सम्भावना र अवसर नपाएपछि युवाको रोजाइमा वैदेशिक रोजगारी परेको हो। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्ष २०८१ मा ८ लाख १० हजार १ सय ८ जना युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका हुन्।

वर्ष २०८० को तुलनामा वर्ष २०८१ मा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या १२.५७ प्रतिशतले बढेको छ। वर्ष २०८० मा नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या  ७ लाख ८ हजार २ सय ५६ रहेको थियो।

वर्ष २०८१ को मंसिरमा एकै महिनामा सबैभन्दा बढी कामदार विदेश जाने महिनाको रेकर्ड समेत बनेको थियो। वर्ष २०८१ को मंसिरमा एकै महिनामा ८४ हजार २ सय २६ जना युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए।

वर्ष २०८० मा भने सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए। वर्ष २०८० को चैतमामा ७० हजार ९ सय ३३ जना युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार खाडीको यूइई, साउदी अरब र  कतार जाने कामदारको संख्या मात्रै ५ लाख ४३ हजार ४ सय ७३ जना रहेको छ। यो संख्या कुल वैदेशिक रोजगारीका जाने कामदारको भन्दा ६७ प्रतिशतले बढी हो।

वर्ष २०८१ मा वैदेशिक रोजगारीमा जाने कामदारको महिनागत संख्या

वर्ष २०८१ मा विदेश जाने कामदारको महिनागत संख्या.png

म्यानपावरमार्फत रोजगारीमा जाने कामदारको संख्या भने ३ लाख ५३ हजार ३ सय ८५ रहेको छ। यो कुल वैदेशिक रोजगारीमा जाने कामदारको संख्याको ४३.६२ प्रतिशत हो।  

म्यानपावर मार्फत रोजगारीमा जानेको महिनागत संख्या.png


११ प्रतिशत महिला कामदार

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या पनि बढेको छ। वर्ष २०८१ मा कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ११.०३ प्रतिशत महिला कामदार रहेका छन्।

२०८१ मा वैदेशिक रोजगारीका लागि जाने महिला कामदारको संख्या ८९ ला ३ सय ७३ रहेको छ। वर्ष २०८० मा भने कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये महिला कामदारको हिस्सा १०.९५ प्रतिशत थियो।

वर्ष २०८० मा कुल वैदेशिक रोजगारीमा जाने कामदार संख्या ७ लाख ८ हजार २ सय ५६ थियो। त्यसमध्ये ७७ हजार ६ सय ४ जना महिला कामदार थिए।

पुरुष र महिला कामदारको महिनागत विवरण.png

 ३१.११ प्रतिशतको रोजाइमा यूएई

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी युवाको रोजाइमा यूएई परेको छ। वर्ष २०८१ मा २ लाख ५२ हजार ५७ जना कामदार युएई पुगेका छन्।

यो संख्या कुल कामदार संख्याको आधारमा ३१.११ प्रतिशत हो। यसैगरी दोस्रो बढी कामदार जाने देशमा साउदी अरब रहेको छ। वर्ष २०८१ मा साउदी अरब जाने कामदारको संख्या १ लाख ५३ हजार ७ सय ५६ रहेको छ। साउदी अरब जाने युवाको हिस्सा १८.९७ प्रतिशत रहेको छ।

यसैगरी तेस्रो बढी कामदार जाने देशमा कतार रहेको छ। कतार जाने कामदारको संख्या १ लाख ३७ हजार ६ सय ६० जना रहेको छ। यो कुल संख्याको १६.९९ प्रतिशत हो। यसबाहेक अन्य देश जाने कामदारको संख्या २ लाख ६६ हजार ६ सय ३५ रहेको छ। यो कुल संख्याको ३२.९१ प्रतिशत हो।

chart.png

किन यूएई रोजाइमा पर्‍यो?

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईले बंगलादेश र पाकिस्तानबाट अहिले कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसको कारण नेपालीको माग बढेको छ। नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको माग बढी छ।

व्यवसायीहरूका अनुसार कामदार नपाएकै कारण अझै यूएई जानेको संख्या कम भएको हो। मागअनुसार कामदार पाएको भए अझै यो संख्या बढ्ने थियो।

युवाको रोजाइमा यूएई पर्नुको अर्को कारण त्यहाँबाट युरोप तथा अमेरिका छिर्न सहज छ। साथै मलेसियाको रोजगारी बन्द हुँदा युवाको रोजाइमा यूएईलगायतका खाडी देश नै परेको छ। 


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend