काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले भारतमा ठूलो लगानी गरेर विद्युतीय कार उत्पादन प्लान्ट खोल्ने योजना बाहिर आएको थियो। भारतीय साझेदार र राज्य सरकारका अधिकारीहरुसँग छलफल भएको थियो।
बीवाईडीको भारतमा लगानीबारे सञ्चारमाध्यममा आएपछि यसका तथ्यहरु बाहिर आउन थालेका छन्। लगानीको योजनाबारे छलफल गर्न बीवाईडीका उच्च अधिकारीहरु भारत आउने तयारीमा थिए। तर भारतको केन्द्र सरकारले बीवाईडीका उच्च अधिकारीको भिसा दिन इन्कार गरिरहेको पाइएको छ।
बीवाईडीका उच्च अधिकारीहरु भारतमा रहेका साझेदार तथा सरोकारवालासँग छलफल गर्न आउने तयारीमा थिए। सोहीअनुसार भारत आउन भिसा प्रक्रिया थालेपनि भारतको केन्द्र सरकारले भिसा दिन ढिलाइ गरेको वा दिन इन्कार गरिरहेको सम्बद्ध स्रोतलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ। बीवाईडीले भारतको तेलंंगनामा उत्पादन प्लान्ट राख्ने योजना बनाएको कुरा बाहिर आएको थियो।
अघिल्लो साता यसबारेमा भारतीय सञ्चारमाध्यममा निक्कै ठूलो चर्चा भएको थियो। भातर सरकारले भिसा दिन अलटाल गरेपछि बीवाईडीले आफूहरुको योजना मूर्त भइनसकेको बताएको छ। भारतमा प्लान्ट खोल्ले र लगानी गर्ने योजना बीवाईडीले असत्य भएको बताएको बिजनेस स्ट्यान्डर्डले लेखेको छ। गत साता हैदराबालमा बीवाईडीले उत्पादन प्लान्ट खोल्ने र त्यहाँ करिब १० अर्ब डलर लगानी गर्ने कुरा बाहिर आएको थियो।
बीवाईडी कम्पनीले भने यसबारेमा कसैसँग सम्झौता र लगानी योजनाबारे छलफल नभएको दाबी गरेको छ। दक्षिण एसियामा आक्रामक बजार विस्तारमा रहेको बीवाईडीको भारत यात्रा भने त्यति सहज देखिँदैन। भारतमा ठूलो लगानीसहित उत्पादन प्लान्ट खोल्ने योजना भने धेरैअघि बनाएको हो।
हाल भारतमा बीवाईडी इन्डिया नामक सहायक कम्पनीमार्फत बीवाईडीले कार बिक्री गरिरहेको छ। भारतमा विद्युतीय कार र ठूला विद्युतीय बस बिक्रीमा केन्द्रित रहेको छ।
तेलंगना सरकारले प्लान्ट स्थापना गर्न जग्गा व्यवस्थापनदेखि धेरै कुरामा बीवाईडीलाई सहयोग तथा सहजीकरण गरिरहेको प्रतिवेदनहरु आएका छन्। बीवाईडीको प्लान्टका लागि हैदराबाद नजिकैका सम्भावित ३ स्थान पहिचान गरिएको छ। बीवाईडीका प्रतिनिधिहरुले अन्तिम स्वीकृति नपाए पनि साइटको मूल्यांकनमा लागेका छन्।
केह्री वर्षदेखि भारतमा सानै स्केलमा भए पनि व्यवसाय गर्दै आएको बीवाईडीका लागि उत्पादन प्लान्ट नै स्थापना गरेर मास मार्केटमा जान त्यति सहज छैन। अहिले बीवाईडीले चीनबाट विद्युतीय कार आयात गरेर बिक्री गरिरहेको छ। भारतमा आयातित कारमा मूल्यअनुसार ६० देखि १ सय प्रतिशतसम्म कर लाग्छ।
भारतमै उत्पादन प्लान्ट स्थापना गरेर कार बनाइ बिक्री गर्दा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्न सकिने दाउमा बीवाईडी रहेको छ। पछिल्लो दुई वर्षदेखि बीवाईडी भारतमा उत्पादन प्लान्ट स्थापना गर्न जोडबल गरिरहेको छ।
तर भारतले चिनियाँ लगानीमा निक्कै कडाई गरिरहेको छ। २०२० ताका पनि भारत सरकारले चिनियाँ कम्पनीले प्रस्ताव गरेको १ अर्ब डलर लगानीको प्रस्ता स्वीकृत नगर्दा ग्रेटवाल मोटरले भारतमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्न सकेन। परिणमतः ग्रेटवाल मोटर भारतमै प्लान्ट स्थापना गर्ने निर्णयबाट पछिहट्न बाध्य भएको थियो।
२०२३ मा भारत सरकारले बीवाईडीकै लगानी समेत अस्वीकृत गरिदिएको थियो। बीवाईडी र उसको भारतीय साझेदार मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेडले २०२३ मा १ अर्ब डलर लगानी गर्ने प्रस्ताव भारत सरकार समक्ष गरेका थिए। उक्त प्रस्तावमा भारतमै विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्ने भनिएको थियो।
पछिल्लो पटक गरिएको प्रस्तावमा ८ खर्ब भारु लगानी गर्ने भनिएको र त्यो वाणिज्य तथा उद्योग मन्त्रालयले अध्ययन गरिरहेको छ।
त्यस्तै केन्द्रको ठूला उद्योग मन्त्रालय, विदेश मन्त्रालय, गृह मन्त्रालय पनि अध्ययन गरिरहेका छन्। बीवाईडीको उक्त प्रस्ताव भारत सरकारले अस्वीकृत गर्ने निश्चितप्रायः छ।
भारत सरकार विद्युतीय कार उत्पादन गर्ने चिनियाँ कम्पनीको साटो अमेरिकी कम्पनीलाई ल्याउने याजनामा रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही महिनाअघि भएको अमेरिका भ्रमणमा अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई भेटेका थिए। त्यसलगत्तै भारतले विद्युतीय सवारी सम्बन्भी नयाँ नीति समेत ल्याइसकेको छ।