काठमाडौं- अमेरिकाले गएको बुधबार सार्वजनिक गरेको भन्सार नीतिले विश्वभर हलचल ल्याएको छ। अमेरिकाले १८० देशका वस्तुमा जस्ताको तस्तै भन्सार लगाउने घोषणा गरेपछि विश्वभरबाट यसमा प्रतिक्रियाहरू आइरहेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ भन्सारदरमा अमेरिका सबैभन्दा बढी चीनकेन्द्रित भएको छ। जसमा चीनका लागि हाल तोकिएको २० प्रतिशत भन्सार महसुल र बुधबार सार्वजनिक गरिएको ३४ प्रतिशत भन्सारदरसहित चीनबाट आयात हुने सामानमा अबदेखि ५४ प्रतिशत भन्सार लाग्ने छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमलाई आलोचकले व्यापार युद्ध भएको प्रतिक्रिया दिइरहेका छन्।
चीनले पनि यसैगरी नीति परिवर्तन गरेमा विश्वव्यापी आर्थिक विकासमा असर पर्ने प्रारम्भिक प्रतिक्रिया दिएको भन्दै विश्वभरबाट चिन्तासमेत व्यक्त भएका छन्। ह्वाइटहाउसले भने पछिल्लो घोषणाले अमेरिकाको व्यापार असन्तुलनको अवस्थालाई सन्तुलन गर्ने, २८ लाख थप रोजगारी सिर्जना हुने, प्रत्येक घरपपिरवारको आम्दानी ५.७ प्रतिशतले बढ्ने र अमेरिकी अर्थतन्त्रमा ७२८ अर्ब अमेरिकी डलर थप हुने प्रक्षेपण गरेको छ।
विश्वका अन्य देशमा मात्रै नभएर नेपाली वस्तुमा निर्यातमा पनि थप १० प्रतिशत भन्सार लगाउने घोषणा ट्रम्प प्रशासनले गरेको छ। यसअघि शून्य भन्सारदर भएका नेपाली वस्तुमा १० प्रतिशत भन्सारदर लगाउने उक्त निर्णयमा रहेको छ। भलै अन्य मुलुकमा लगाइको दरभन्दा निकै न्यून दर हो। यसकारण नेपाली वस्तु निर्यातकर्ताहरूले नेपाललले फाइदा लिनसक्ने विश्लेषण गरेका छन्। शून्य भन्सार सुविधा पाइरहेका नेपाली वस्तुमा अब थप १० प्रतिशत भन्सार शुल्क लाग्ने छ।
२०७२ बैशाखको भूकम्पपछि नेपाललाई सहयोग गर्न अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोगामअन्तर्गत ७७ वटा वस्तु आयात गर्दा १० वर्षसम्म शून्य दरमा भन्सार लाग्ने सुविधा दिएको थियो। त्यसैगरी जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) सुविधाअन्तर्गत पनि धेरै नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार दर लाग्दै आएको छ। अब त्यसमा अमेरिकाले १० प्रतिशत भन्सार शुल्क लगाएको हो।
शून्य भन्सार दर नै भएपनि अहिलेसम्म नेपालले भने फाइदा लिन सकेको थिएन। गत आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालले कुल १७ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ मूल्यका ४ सय बढी वस्तु अमेरिका निर्यात गरेको थियो। सोही आर्थिक वर्षमा नेपालले अमेरिकाबाट १९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ मूल्यका वस्तु आयात गरेको थियो।
चालु आवको ६ महीनासम्ममा नेपालबाट कुल ८ अर्ब ६३ करोड रुपैयाँका वस्तु निर्यात गरेको छ। उक्त अवधिमा अमेरिकाबाट १२ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात नेपालले गरेको छ। यसबाट भन्सारदरकै कारणले निर्यात हुन नसक्ने भन्दै वस्तुलाई प्रतिस्पर्धी बनाएर कसरी फाइदा लिन सकिन्छ भन्नेमा लाग्नुपर्ने विज्ञहरूको जोड छ।
नेपालका धेरै प्रतिस्पर्धी देशका वस्तुमा भने नेपाली वस्तुलाई भन्दा उच्चदरमा भन्सार लगाइएको छ। यसले नेपालले फाइदा लिनसक्ने व्यवसायीहरूले बताएका छन्। विश्वमै तयारी पोशाक निर्यातमा आफूलाई स्थापित गरेको नेपालको छिमेकी मुलुक बंगलादेशका वस्तुमा थप ३७ प्रतिशत भन्सारदर लगाएको छ।
यसले नेपाली तयारी पोशाक निर्यातमा अवसर हुने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले चिनियाँ वस्तुमा ३७ र भारतीयमा २६ प्रतिशत भन्सार लागाएको छ। दक्षिण एशियाली देशमध्ये सबैभन्दा धेरै भन्सार भने श्रीलंकाली वस्तुमा लगाउने घोषणा गरिएको छ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार अरू गार्मेन्ट उत्पादन र निर्यात गर्ने मुलुकको दाँजोमा नेपाललाई लगाइएको भन्सार कम भएकोले अवसर हुनसक्ने अनुमान गर्दछन्। अध्यक्ष पाण्डेका अनुसार नेपालबाट अहिले छुर्पी, कार्पेटका केही उत्पादन, झण्डाको कपडा, हर्बल तेलजस्ता वस्तु शून्य भन्सारमा अमेरिका निर्यात हुने गरेको छ।
अमेरिकाले लिएको भन्सार नीतिअनुसार अन्य प्रतिस्पर्धी देशको तुलनामा नेपालको गार्मेन्ट अमेरिकामा बढी निर्यात बाटो खुलेको उनको भनाइ छ।