काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दैछ। समीक्षाका बारेमा निर्णय गर्न राष्ट्र बैंकले आजै सञ्चालक समितिको बैठक बोलाइसकेको छ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीसँग छलफल गरेका छन्। मौद्रिक नीतिको समीक्षाका बारेमा गभर्नर, अर्थसचिव, राजस्व सचिव र प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाबीच छलफल भएको हो।
अर्थ मन्त्रालयमा भएको छलफलमा गभर्नर अधिकारीले मौद्रिक नीतिको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए। समीक्षाबाट सम्बोधन गर्नुपर्ने सरकारी आसय उनले खोजेका थिए।
छलफलमा अर्थमन्त्रीले अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई सहजीकरण हुनेगरी नीतिगत परिवर्तन गर्नसक्ने अवस्थासम्म गर्न सुझाव दिएका थिए।
मौद्रिक नीतिले गर्नसक्नेसम्म गर्दै आएको र यो समीक्षाबाट पनि केही गर्नसक्ने ठाउँ भए गर्न सहभागी अरुले पनि सुझाव दिएका थिए।
गभर्नर अधिकारीले भने आफ्नो कार्यकालको अन्तिम महिना भएकाले यो समीक्षाबाट महत्वपूर्ण नीतिगत परिवर्तन अलि कठिन हुने राय व्यक्त गरेका थिए। मुख्य परिवर्तन मौद्रिक नीतिबाटै गर्नुपर्ने तर अहिले केही गर्न सकिने ठाउँसम्म आफूहरूले गर्ने उनको भनाइ थियो।
गभर्नर अधिकारीको कार्यकाल चैतमा सकिँदैछ। कार्यकालको अन्तिम समयमा उल्लेखनीय परिवर्तनको पक्षमा अधिकारी देखिंदैनन्। तर पनि सरकारले भने सकारात्मक सन्देशको अपेक्षा यो समीक्षाबाट गरेको छ।
प्रणालीलाई खासै प्रभाव नपार्ने खाली मनोवैज्ञानिक उपकरणका रुपमा रहेका केही नीति रहेको र त्यस्ता नीतिमा हेरफेर गर्दा खासै फरक नपर्ने खतिवडाले बताएका थिए।