काठमाडौं- बीमा प्राधिकरणको अध्यक्षमा अनुभवी प्रतिस्पर्धीलाई पाखा लगाउँदै आर्थिक पत्रकार शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बीमा क्षेत्रको नियामक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको छनौट समितिले गरेको सिफारिसबाट सरकारले ओझालाई चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी दामोदर बस्यौला र ओझालाई समितिले सिफारिस गरेको थियो। सोही सूचीबाट ओझालाई अध्यक्ष नियुक्त गरिएको हो।
विशेषत: आर्थिक पत्रकारितालाई मुख्य पेसा बनाएर काम गरिरहेका ओझा वकालत र अध्यापनमा पनि संलग्न थिए। पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव र तोकिएका क्षेत्रमा स्नाकोत्तरको योग्यता चाहिने अध्यक्षका लागि ओझाले पूर्व सचिवसहितका अनुभवीहरूलाई उछिनेका हुन्।
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशरण महतले ओझाको पक्षमा पैरवी गर्दै आएका थिए। त्यस्तै शेरबहादुर देउवासँग पारिवारिक निकटता भएका ३३ वर्षीय ओझालाई कांग्रेसको कोटाबाट अध्यक्ष नियुक्त गरिएको हो।