सोमबार, कात्तिक १२ गते २०८१    
images
images
पूर्वपश्चिम राजमार्ग ४ लेन विस्तार

नारायणगढपूर्व काम सुस्त; बुटवलपूर्व म्याद थप गरिँदै, चनौटापूर्व डीपीआर, बाँकीमा भएन स्रोत सुनिश्चितता

images
सोमबार, माघ १७ २०७८
images
images
नारायणगढपूर्व काम सुस्त; बुटवलपूर्व म्याद थप गरिँदै, चनौटापूर्व डीपीआर, बाँकीमा भएन स्रोत सुनिश्चितता

४२ महिनामा निर्माण सक्नेगरि सम्झौता भएको थियो। तर अहिले उक्त आयोजनाको काम करिब १५ प्रतिशत मात्र सकिएको छ। 

images
images

काठमाडौं- सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजनासँगै दातृ निकायको सहयोगमा काम अघि बढाएको हो। १ हजार २८ किलोमिटर लामो राजमार्गलाई स्तरोन्नती गरि चौडा बनाउन लागिएको हो। 

images
images
images

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सबैभन्दा पहिले नारायणगढ-बुटवल खण्ड विस्तार सुरु भएको हो। उक्त खण्डको निर्माण कार्य २०१९ को मार्चमा सुरु भएको थियो। ४२ महिनामा निर्माण सक्नेगरि सम्झौता भएको थियो। तर अहिले उक्त आयोजनाको काम करिब १५ प्रतिशत मात्र सकिएको छ। 

एसियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वपपश्चिम राजमार्गका विभिन्न खण्डको विस्तारको काम भइरहेको छ। यो राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको छ। काँकडभिट्टादेखि लौकही, लौकहीदेखि कञ्चनपूर, कमला ढल्केबरदेखि पथलैया, पथलैयादेखि नारायणगढ र नारायणगढदेखि बुटवलसम्म कुनै न कुनै रुपमा काम भइरहेको छ। बुटवलदेखि चनौटासम्म डीपीआर तयार गर्ने काम भइरहेको छ। 

images

पूर्वपश्चिम राजमार्ग चार लेनमा विस्तार गर्न एडीबी र विश्व बैंकले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। चनौटादेखि पश्चिम महेन्द्रनगरसम्म भने विस्तारका लागि हालसम्म स्रोत सुनिश्चितता भइसकेको छैन। यो खण्ड विस्तारका लागि विश्व बैंकले चासो देखाएको सडक विभागले जनाएको छ। 

images

पूर्वपश्चिम राजमार्ग सहरी क्षेत्रमा ६ लेनको र अन्यत्र चार लेनमा विस्तार गर्ने गरि काम भइरहेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए। ‘पूर्वपश्चिम राजमार्ग चार लेनमा विस्तार गर्न एडीबी र विश्व बैंकको सहयोगमा विभिन्न खण्डमा काम भइरहेको छ,’ उनले भने, ‘बुटवल पूर्व स्रोत सुनिश्चितता भइसकेकाले कतै ठेक्का लागेर काम भइरहेको छ भने कतै डीपीआर बनाउनेसहितका पूर्व तयारी भइरहेको छ।’ 

चनौटाभन्दा पश्चिम तर्फका लागि हालसम्म स्रोत सुनिश्चितता भइनसकेकाले विस्तारको ठोस काम हुन नसकेको उनले बताए। ‘यो खण्डको विस्तारको सम्भाव्यता अध्ययनका लागि विश्व बैंकले चासो देखाइरहेका छ,’ उनले भने ‘सरकार र विश्व बैंकबीच यसबारे थप छलफल भइरहेको हुनुपर्छ। 

काँकडभिट्टादेखि लौकही खण्डको डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। एडीबीको सहयोगमा उक्त खण्डको विस्तारका लागि डीपीआर बनाउने काम ९० प्रतिशत सकिएको छ। लौकहीदेखि कञ्चनपुर खण्डमा कोशीटप्पु वन्यजन्तु अरक्ष परेकाले त्यसबारेमा निर्णय भइनसकेको सडक विभागले जनाएको छ। 

त्यस्तै कमला ढल्केवर पथलैया खण्डको निर्माणमा विश्व बैंकको सहयोगमा निर्माण हुनेछ। यो खण्डको पनि डीपीआरको काम भइरहेको छ। पथलैयादेखि नारायणगढ खण्डको विस्तार पनि एडीबीले गर्ने छ। यो खण्डको पूर्वतयारीका काम भने सुरु भइसकेको छैन। 

बुटवल चनौटा खण्डको डीपीआर एडीबीले बनाउने भएको छ भने निर्माणका लागि विश्व बैंकले चासो देखिएको सडक विभागले जनाएको छ। एडीबीले डीपीआर निर्माण गरेर उक्त डीपीआर अनुसार विश्वले लगानी गरेर सो खण्ड विस्तार गर्ने छ। 

कमला कञ्चनपूर र नारायणगढ बुटवल खण्डमा भने विस्तारको काम सुरु भइसकेको छ। कमलादेखि कञ्चलनपुरसम्मको ८७ किलोमिटर खण्डको निर्माण दुई प्याकेजमा भइरहेको छ। २०२० अक्टोबरमा सो खण्डको निर्माण सम्झौता भएको थियो। तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरि सम्झौता भएपनि १४ महिना बितिसक्दा ४ प्रतिशतमात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। 

कोभिडका विभिन्न लहरले सबैलाई सताउँदा भौतिक प्रगति सोचेअनुसार हुन नसकेको एडीबी आयोजना निर्देशनालयका उपनिर्देशक राकेश महर्जनले बताए। ‘कमलादेखि कञ्चनपुरसम्मको ८७ किलोमिटर खण्ड दुई प्याकेजमा काम भइरहेको छ,’ उनले भने, ‘कोभिडका कारण सबै क्षेत्र प्रभावित भएकाले काम निक्कै प्रभावित हुन पुग्यो। तेस्रो लहरअघि कामले गति लिँदै थियो तर पुनः काममा प्रभाव गरेको छ।’ यो खण्डको निर्माण गर्न १५ अर्ब रुपैयाँमा सम्झौता भएको थियो। 

यता नारायणगढदेखि बुटवलसम्मको १ सय १३ किलोमिटर खण्डको हालसम्मको भौतिक प्रगति कबिर १५ प्रतिशतमात्र भएको छ। यो खण्डमा पनि दुई प्याकेजमा काम भइरहेको छ। ४२ महिनामा सक्ने गरि सम्झौता भएको यो आयोजनाको सम्झौता अवधि यही २०२२ को अगस्टमा सकिँदै छ। यो आयोजनाको म्यादथपका लागि प्रक्रिया सुरु भइरहेको छ। परामर्शदातासँग छलफल चलिरहेकाले अबको केही समयमा उक्त आयोजनाको म्याद थप हुने आयोजनाका इन्जिनियर प्रदीप शाक्यले जानकारी दिए।


प्रकाशित : सोमबार, माघ १७ २०७८०१:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend