काठमाडौं- राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको समितिले आगामी वर्षका लागि बजेटका लागि १९ खर्बको स्रोत उपलब्ध हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
समितिले अर्थ मन्त्रालयलाई स्रोतको अनुमानसँगै खर्चको सीमा पनि निर्धारण गरेर प्रतिवेदन बुझाएको छ। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार आगामी वर्षको बजेट १९ खर्बको सीमाभित्र रहेर तयार पार्न सुझाव दिएको छ।
राजस्व संकलनको दबाब कायमै भएको र चालु वर्षको बजेटको कार्यान्वयन पनि संकुचित हुने देखिएको सन्दर्भमा समितिले यो अनुमान पेस गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको पूर्वानुमान अर्थमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण भएसँगै आयोगले सबै संवैधानिक निकाय, विषयगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायका लागि आगामी खर्चको सीमा तथा स्रोतसँगै खर्च संरचनाको खाका तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाइसकेको छ।