सुर्खेत- केही समय पहिला रोजाइमा नपरेको कृषि पेसामा पछिल्लो समय बिस्तारै युवा आकर्षित हुन थालेका छन्। विदेश जानुभन्दा स्वेदशमा बसेर जीविकोपार्जन गर्ने उद्देश्यले यहाँका युवा पशुपालन, तरकारीखेतीमा आकर्षित हुन थालेका हुन्।
'सुरुवात आफैँबाट गरौँ, परिवर्तन सम्भव छ', भन्ने सोचका साथ वीरेन्द्रनगर-९ लाटीकोइली सुर्खेतका दीपेन्द्र कार्की व्यावसायिक कृषि पेसा थालेको १७ वर्ष भयो। पढेलेखेको युवाले माटो, गोठ, गोबर अनि गाईबस्तु छुन हुन्न भन्ने विचार परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
कार्कीले भने, 'पछिल्लो समय कक्षा १२ पढेर सक्नेबित्तिकै विदेश जाने युवाको लर्काे लाग्ने गर्छ। तर १४ महिना इजरायलमा बसेपछि विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर स्वदेश फर्किएको हुँ।'
सन् २०१६ मा इजरायल पुगेका कार्कीले त्यहाँबाट कृषि प्रणाली, पशुपालन, तरकारीखेतीका बारेमा सिकेको सीप अहिले आफ्नै गाई फार्म र तरकारीखेतीमा प्रयोग गर्दै आएको बताए। अहिले उनले कोपिला एग्रिकल्चर एण्ड लाइभस्टक प्रालिको रूपमा आफ्नो फार्म दर्ता गरी २४ वटा गाई पालनसँगै दुई बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन्। ३२ लाख रूपैयाँमा व्यक्तिगत लगानीमा उनले गाईपालन र तरकारीखेती सुरु गरेका हुन्।
कार्कीले अहिले दैनिक रूपमा एकसय १० लिटर दूध बिक्री गर्दै आएको बताउँदै प्रतिलिटर ८० रूपैयाँमा बिक्री हुने जानकारी दिए। उनले भने, 'गाईपालन र तरकारीखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ, यो पेसाबाट एकदमै सन्तुष्ट छु।' दुई व्यवसायलाई एकसाथ सञ्चालन गर्न केही गाह्रो भए पनि यी व्यवसाय एक अर्कोका परिपूरक भएका उनको भनाइ छ।
'सबैभन्दा ठूलो र उपयोगी फाइदा भने टनेलबाट निस्कने घाँसपात गाईबस्तुका लागि र गाईबस्तुका मलको उपयोग तरकारीमा भइरहेको छ', कार्कीले भने। सोही कारण आफ्नो फार्मलाई प्राङ्गारिक फार्मका रूपमा स्थापना गर्न सकेको उनले उल्लेख गरे।
गाईको गोबरबाट एक वर्षमा ८५ टन प्रांगारिक मल उत्पादन गर्ने गरेको उनले बताए। उनले होलसेलमा प्रतिकिलो २० रूपैयाँ र फुटकरमा २५ रूपैयाँमा मल बिक्रीवितरण गर्दै आएका छन्।
उनको फार्ममा अहिले तीन जनाले रोजगारी पाएका छन्। कामदारको काम र दक्षता हेरेर १० देखि २२ हजार रूपैयाँसम्म तलब दिने गरेको उनले जानकारी दिए। उनले भने, 'एक महिनामा गाईलाई दाना पानी र कर्मचारीलाई तलब दिएर ८० हजार रूपैयाँ बचाउने गरेको छु, महिनामा ८० हजार रूपैयाँ बचत गर्नसके किन जानुपर्यो विदेश।' कार्कीले अहिले स्थायी प्रकृतिका १० वटा टनेलमा काउली, बन्दा, टमाटर, बेमौसमी बोडी, सिमी लगाएका छन्।
वीरेन्द्रनगर-२ दौलतपुर सुर्खेतका गोपालराज सुनारले पनि दुई बिघा जग्गामा तरकारीखेती गर्दै आइरहेका छन्। उनको मुख्य आयआर्जनको स्रोत नै कृषि हो। कुनैबेला विदेशिएका साथीभाइको प्रगति देखेर मन बदल्न खोज्नुभएका गोपालले अहिले घरमा बसेर प्रशस्त आम्दानी गरेका छन्।
'जलवायुमैत्री कृषि कार्य गर्न वीरेन्द्रनगर नगरपालिका, कृषि शाखाबाट आर्थिक अनुदान लिएर स्थायी टनेल बनाएको छु', गोपालले भने, 'अहिले एक सिजनमा ६० हजार रूपैयाँ आम्दानी हुन्छ।'
उनीसँग अहिले पाँच वटा पक्की टनेल र दुईवटा कच्ची टनेल छन्। जसमा साग, काउली, भ्यान्टा, सिमी, बेमौसमी बोडी, टमाटर र च्याउ लगाएका छन्। विसं २०७४ देखि तरकारी व्यवसायमा लागि परेका गोपालले थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बताए।
गोपालले तरकारीमा हाल्न गड्यौला मल उत्पादन गर्ने गरेको उल्लख गर्दै झोल मल कीरा नियन्त्रणका लागि उत्तम औषधि भएका जानकारी दिए। उनले बजारमा पाइने विभिन्न किटनाशक विषादी तरकारीमा अहिलेसम्म प्रयोग नगरेको बताए।
गोपालले भने, 'विषादी प्रयोग नगरेर तरकारी फलाउँदा बजार खोज्न पनि जानुपर्दैन, घरबाटै बिक्री हुन्छ।' स्वस्थकर तरकारी उत्पादनले झन बढी आम्दानी दिने र माटोको उर्वराशक्ति कमजोर पनि नहुने उनको भनाइ छ।
दीपेन्द्र र गोपाल जस्तै वीरेन्द्रनगर-१० नयाँगाउँका कृषक ज्ञानबहादुर चौधरी पनि अहिले व्यावसायिक च्याउखेतीमा रमाइरहेका छन्। उनलाई च्याउखेती गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाले बीउ उपलब्ध गराएको थियो।
ज्ञानबहादुरले भने, 'दैनिक सात किलोसम्म च्याउ बेच्छु, सिजनमा क्विन्टल आलु, प्याज, धनियाँ, लसुन र खुर्सानी बेचिरहेको छु, घरखर्च यहीँबाट पुग्छ।' प्रतिकिलो तीनसय रूपैयाँमा च्याउ बिक्री गर्ने गरेको उनले उल्लेख गरे। उनले धान तथा तरकारी खेतीमा आफैँले तयार पारेको गोठेमल हाल्ने गरेको बताए।
ज्ञानबहादुरले भने, 'पछिल्लो समय युरियाजस्ता विषादीले तरकारीको उत्पादन बढाएको छ, तर मानव स्वास्थ्यमा नराम्रो असर परिरहेको छ।'
जलवायुमैत्री कृषि प्रविधि प्रवर्द्धन गर्न र किसानको जीविकोपार्जनमा सुधार ल्याउन वीरेन्द्रनगर नगरपालिकाले किसानलाई अर्गानिक तरकारीखेती गर्नका लागि विभिन्न कार्यक्रम ल्याएको नगरपालिकाको कृषि विकास शाखाका कृषि अधिकृत निशा केसीले जानकारी दिइन्।
नगरपालिकाले नगरका १६ वटै वडामा कृषिक्षेत्र पकेट पहिचान गरी तरकारीखेती गर्न सहयोग गर्दै आइरहेको उनले बताइन्। सहरी क्षेत्रमा कौशीखेती, ग्रामीण भेगमा तरकारीखेती प्रवर्द्धन कार्यक्रम गर्दै आएको उनको भनाइ छ। बीउबीजन वितरण गर्ने, पक्की टनेल निर्माणमा ५० प्रतिशत अनुदान दिने गरेको केसीले जानकारी दिइन्। रासस