शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

images
आइतबार, फागुन ४ २०८१
images
images
बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न नौ अर्ब ६६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

images
images

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो।

images
images
images

हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए।

images
images

आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उनले जानकारी दिए। उनका अनुसार कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ। 

images
images
images

विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ। 'सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बीपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो', योगेशले भने।

उनका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत सुरु भएको हो। योगेशले भने, 'मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ।' 

साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो। 

निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताएका थिए। उनले शुक्रबार मन्त्रालयको दुईसय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बीपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराएका थिए।

मन्त्री दाहालले स्रोतको अभावका कारण क्षतिग्रस्त उक्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामासमेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचना बनिरहेको बताए। राजमार्गको पुरानो रेखांकन र स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले पुनःनिर्माणका क्रममा नीतिगत समस्या र स्रोतको अभाव भएको उनको भनाइ थियो।

यसैबीच कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब नौ अर्ब ५० करोड रूपैयाँभन्दा बढी लाग्ने देखाएको थियो। प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न नौ अर्ब ६६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको हो।

उक्त सडकमा तीन किसिमका वाल (आरसीसी रिटेनिङ, प्लम र गेभिएन) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ। 'अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिएको छ। तर पहिला पुल बनाउने कि, वाल भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ', इञ्जिनीयर योगेशले भने। उनका अनुसार खोला आउन सक्ने ठाउँमा आरसीसी वाल लगाउनुपर्ने देखिएको छ, भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ।

पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक निर्माण हुने यागेशले बताए। यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास एकसय ६० किमी सडक) निर्माण सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। 

तत्कालीन अवस्थामा २६ विलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक विलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो। केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग बाढीपहिरोले क्षति पुर्‍याएपछि कतै एकतर्फी, कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ। रासस


प्रकाशित : आइतबार, फागुन ४ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend