काठमाडौं- दक्षिण एसियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलन (एलएलए) को स्तरोन्नति र त्यसमा देखा परेका चुनौतीहरू, असल अभ्यास तथा अवसर विषयक एक कार्यशाला बुधबारबाट काठमाडौंमा सुरु भएको छ।
वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेसन (जीसीए) र डीसीएको आयोजनामा आयोजित उक्त कार्यशालाको मुख्य उद्देश्य दक्षिण एसिया क्षेत्रका स्थानीय अनुकूलन योजनासँग सम्बन्धित नीति-नियम र अभ्यासको अनुभव साटासाट गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यशालाको उद्देश्य दक्षिण एसियामा स्थानीय अनुकूलन योजनाका लागि उपलब्ध संस्थागत र आर्थिक सहायताका बारेमा सरोकारवालाहरूका बीच समान धारणाको विकास गर्नु र भविष्यमा अनुकूलन योजनाको स्तरवृद्धिका उपायहरू पत्ता लगाउनु रहेको आयोजकको भनाइ छ।
कार्यशालामा खाद्य सुरक्षा, पानीको स्रोत व्यवस्थापन, सहरी विकास, जलवायु वित्तलगायतका प्रमुख जोखिमयुक्त क्षेत्रका कार्यक्रमहरूमा चरणबद्ध छलफल हुनेछ।
कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै द ग्लोबल सेन्टर अन एडप्टेसनका ग्लोबल लिड अञ्जु शर्माले भनिन्, 'यो कार्यशालाले दक्षिण एसियाली क्षेत्रका स्थानीय नेतृत्वमा आधारित अनुकूलनका उत्कृष्ट अभ्यासहरू साझा गर्ने र ती अभ्यासहरूलाई विस्तार गर्नका लागि अवसरहरू पहिचान गरी संवेदनशील समुदायलाई तत्काल सहयोग पुर्याउने कुरामा जोड दिनेछ।'
वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले भने, 'बढ्दो जलवायु परिवर्तनको असरलाई सामना गर्नका लागि स्थानीय अनुकूलन योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक छ। यस कार्यशालाले ठोस सुझावहरू तयार गर्न सक्ने विश्वास व्यक्त गर्छु।'
डीसीएको राष्ट्रिय निर्देशक सम्झना विष्टले भने, 'जलवायु परिवर्तन र अन्य विपद् जोखिमका कारण सबैभन्दा बढी स्थानीय समुदाय प्रभावित हुने भएकाले, उनीहरूको विपद् उत्थानशीलता बढाउन आवश्यक छ।'
कार्यशालामा 'स्थानीय अनुकूलन अभ्यासका सिकाइहरू' नामक पुस्तकको विमोचन पनि गरिएको छ।
कार्यशालामा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरू र यस क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ।
कार्यशाला तीन दिनसम्म चल्नेछ र यसमा स्थानीय अनुकूलन कार्यक्रमसँग सम्बन्धित आठ सेसनमा समूहगत छलफल हुनेछ, जसले नयाँ रणनीति र योजना तयार गर्नमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।