काठमाडौं- पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग सोमबार सरकारले वार्ता गर्ने भएको छ।
सोमबार गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको हो। एमाले नेता योगेश भट्टराईका अनुसार भोलि साँझ ६ बजे गृहमन्त्रीसहितको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच वार्ता हुन लागेको हो।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँहरूले माननीय गृह मन्त्रीज्यूसमक्ष भेटेर आफ्ना कुरा राख्न चाहनुभएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ। माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु।’
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गर्नसमेत उनले अनुरोध गरेका छन्।
आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो। आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए।
आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो। तर वार्ता हुन नसकेपछि आन्दोलनकारी पक्षले वार्ता नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका थिए।