काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले सरकारले संसदमा प्रस्तुत गरेका अध्यादेश चाँडै पारित हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा महतले आर्थिक मन्दीलाई समाप्त पारेर आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे।
'आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो। दुई महिनाभित्रै समस्या टुंगो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ', उनले भने, 'कहीँकतै कन्टेन्टमा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको विरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन।'
सांसद डा महतले मुलुकको आर्थिक विकासलाई तीव्रता दिन विद्यमान ऐन कानूनलाई समयसापेक्ष बनाइ एकरुपता दिएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनले भने, 'लगानीका लागि विश्वव्यापी प्रतिस्पर्धा छ। कानूनलाई समयसापेक्ष नबनाए लगानी भित्रिन समस्या हुन्छ। लगानीप्रतिको कानूनलाई नसच्याउने हो भने स्वदेशी लगानी नहुने र विदेशी लगानी पनि नभित्रिने खतरा रहेकाले लगानीसम्बन्धी विधेयक चाँडै संसदबाट पारित हुन्छ।'
उनले विधेयक पारित गरेपछि सहजरुपमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
‘निजी क्षेत्र लगानीको इन्जिन हो’
सांसद डा महतले निजी क्षेत्र लगानीको इन्जिन भएको उल्लेख गर्दै निजी क्षेत्रलाई लगानी सहजीकरणका लागि सरकारले उपयुक्त वातावरण बनाइदिनुपर्नेमा जोड दिए। उनले मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने खाँचो औँल्याए।
सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेतर्फ संकेत गर्दै उनले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रुपमा राजनीतिकरण गर्नु नहुने बताए।
सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस