काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आईटी पार्क’ स्थापना गर्ने बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने, 'काठमाडौंमा यस वर्षभित्रै आईटी पार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।'
कम्प्युटर एशोसिएशन महासंघ नेपाल(क्यान महासंघ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक-२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए।
सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आईटी पार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उनले आफू मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आईटी नीति, एआई नीति लगायतका भौतिक र कानूनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए।
'डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ', मन्त्री गुरुङले भने, 'यस वर्ष जसरी पनि काठमाडौंमा एउटा आईटी पार्क बनाउछौँ।' त्यस्तै, मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए। साथै यसै वर्षभित्र सातसय ५३ पालिकामा फोर जी सबैका घर-घर पुर्याउने र फाइभ जी काठमाडौंबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए।
साउथ एसियामै एआईको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुरुङले भने, 'सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समयमा हामी निकै पछि पर्नेछाौँ।'
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो। सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानून ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले क्यान जस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राखे। क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डेलेका अनुसार सरकारले अध्यादेश देशमार्फत ल्याएको कानूनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताए।
सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताए।