काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र संघीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ।
बुढानीलकण्ठ-३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बुढानीलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र संस्कृतिविद्, विज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार आदिको संलग्नतामा छलफल एवं अन्तरक्रिया गर्दै यसलाई निरन्तरता दिने भएको छ।
नगरपालिका कार्यालयले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कला सम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ।
कार्यक्रममा प्रा दिनेशराज पन्त, धर्मसंस्कृतिविद् डा गोविन्द टण्डन, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, साहित्यकार- लेखक - पत्रकार स्नेह सायमी, श्याम रिमाल र श्रीश भण्डारी, विज्ञ हरिवंश किरात र प्रा विष्णु श्रेष्ठले युनेस्को सूचीमा सूचीकरण गर्न मन्दिरको वास्तुकला तथा मूर्तिको प्रस्तरकला उत्कृष्ट र विशिष्टीकृत हुनुपर्ने र त्यसको प्रमाण दिन सक्नुपर्ने बताए। सोका लागि विशेषगरी शिव, नारायण र बुद्धको संयुक्त रूपयुक्त मूर्ति, वरिपरिका पाटीपौवा, मन्दिर, धारा, शिलालेख र आसपासका बस्ती, गुम्बा, आश्रमहरूको समग्र गहन अध्ययन हुनुपर्नेमा जोड दिए।
उनीहरूले मूर्ति र मन्दिर क्षेत्रको सांस्कृतिक पक्ष तथा शिवपुरी-बुढानीलकण्ठ क्षेत्रको प्राकृतिक पक्षकै समग्र अध्ययन-अनुसन्धान गरी मिश्रित सम्पदाका दृष्टिले पनि सूचीमा पार्ने दृष्टिकोण हुनुपर्ने सुझाव पनि दिए।
विज्ञ तथा जानकारहरूले मन्दिर क्षेत्रको इतिहास, आस्था र भावना एक ठाउँमा भए पनि यसको वस्तुगत अवस्था, संस्कृति आदिको अध्ययन-विश्लेषण गर्न विज्ञ टोली तयार गरी युनेस्को मापदण्ड भेट्ने गरी प्रतिवेदन तयार गर्नुपर्ने सुझाव पनि दिए।
मन्दिर क्षेत्रमा पहिचान मेटिने गरी जथाभाबी घर, भवन, पसल आदि संरचना बन्न दिन नहुनेतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूले कार्ययोजनासहित मन्दिर क्षेत्रको विकासका लागि गुरूयोजना बनाउन र सरोकार निकायका रूपमा आधिकारिक क्षेत्र विकास र सांस्कृतिक, प्राज्ञिक प्रतिष्ठान स्थापना गर्न आग्रह गरे।
पुरातत्त्व विभाग, विश्वसम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले विश्वसम्पदा क्षेत्रमा समावेश गर्नका लागि तिलौराकोट, पनौती र जनकपुरको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त भएको र सम्भाव्य सूचीमा संरक्षित स्मारक क्षेत्र भएका १५ सम्पदा रहेको जानकारीका साथ सांस्कृतिक सघनता भएको क्षेत्र बुढानीलकण्ठ नगरपालिकाका सांस्कृतिक सम्पदामा अतिक्रमण हुन दिन नहुने र सम्पदा एकाइ स्थापना गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत केदारकुमार खड्का, पूर्वप्रमुख उद्धव खरेल र नगरपालिका उद्योगवाणिज्य बोर्डका महेश भण्डारीले मन्दिर क्षेत्रका परम्परागत हिती हटाइएको, रूख काटिएको, शिलालेखहरू हटाइएको र जथाभाबी ढङ्गले घरलगायत संरचना बनिरहेको, घण्ट, मूर्ति आदि धार्मिक वस्तुहरू पनि जसले पनि चढाउने र राख्ने काम भइरहेको गुनासो गर्दै यस क्षेत्रको समग्र अध्ययन र उत्खनन गरी सांस्कृतिक-प्राकृतिक क्षेत्र बनाइने प्रतिबद्धता व्यक्त गरे।
उनीहरूले स्थानीय तह र गुठी संस्थानबिच समन्वय हुन नसकेको पनि औँल्याउँदै अब व्यवस्थित र एकीकृत अध्ययन गर्नाका साथ यस क्षेत्रसम्बन्धी पुस्तक, लेखरचना, दस्तावेज आदि संकलन गरिने र विश्वसम्पदा सूचीमा पार्न निरन्तर बहस तथा छलफल थालिने जानकारी दिए।
नगरपालिका पर्यटन बोर्डले तपोभूमि र प्रकृतिको सङ्गम सो क्षेत्रलाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा परिचित गराउँदै प्रचारप्रसार गर्न ‘घुमौँ बुढानीलकण्ठ’ नामक पुस्तिका प्रकाशन गरेको छ।
अर्जुनप्रसाद पाण्डे अध्यक्ष रहेको बोर्डले ऐतिहासिक -धार्मिक-पुरातात्त्विक महत्त्वको बुढानीलकण्ठ मन्दिर, सांस्कृतिक बस्ती चुनिखेल, इस्कोन, कपन र नागी गुम्बा, विपश्यना ध्यान केन्द्र, जाम्चेन विजया स्तूप, कृषि र साहसिक पर्यटन, पदयात्रा, लामो पदयात्रा, शिवपुरी, वागद्वार, विष्णुद्वार, तारेभिर, होमस्टे र रिसोर्ट आदिको परिचय झल्कने पुस्तिका प्रकाशन गरेको हो।
आगामी दिनमा सो क्षेत्रमा पर्यटन विकासका लागि बृहत्तर योजना बनाई अघि बढाउन बोर्ड गठन गरिएको अध्यक्ष पाण्डेले स्पष्ट पारे।