शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पिप्लेबेँसीमा सक्खर उत्पादन, वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
images
images
पिप्लेबेँसीमा सक्खर उत्पादन, वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी

किसान कण्ठ कार्कीले यस वर्ष यहाँ करिब छ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताए। यहाँ उत्पादन हुने धेरैजसो सक्खर घरबाटै बिक्री हुने गरेको उनले बताए।

images
images

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ। सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो। हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन्। 

images
images
images

यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन्। यहाँ विसं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन्। अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान।

images
images

स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्यसबाट बनेको खुदोलाई पुनः आगोको भुङ्ग्रोमा पकाएर परम्परागत रूपमा सक्खर बनाउने काम यहाँको पुर्ख्यौली पेसाको रूपमा रहेको बताए।

images
images
images

'पुर्खाका पालादेखि काठको कोलमा उखु पेल्दै आएका थियौँ, पछि २०३८ सालमा किसानहरू मिलेर फलामे मेसिन ल्यायौँ। उक्त मेसिन सबैको पायक पर्ने ठाउँमा जडान गरेर पालैपालो उखु पेल्ने गरिएको छ। आजपर्यन्त त्यसैको प्रयोग गरिरहेका छौँ', उनले भने। 

यस मेसिनमा किसानले बिहान र दिउँसो पालैपालो हल गोरुसहित उखु पेल्ने गरेका छन्। यसरी उत्पादित सखरको डल्ला बनाएर बिक्री गर्ने गरिएको कार्कीले जानकारी दिए। यहाँ ८०० रुपैयाँमा एक धार्नी बिक्री हुने गरेको छ। 

अर्का किसान कण्ठ कार्कीले यस वर्ष यहाँ करिब छ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताए। यहाँ उत्पादन हुने धेरैजसो सक्खर घरबाटै बिक्री हुने गरेको उनले बताए।

'एक रोपनी जग्गामा लगाएको उखुबाट सखर बनाएर बिक्री गर्दा एक लाखसम्म आम्दानी हुने गरेको छ। यसरी वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ', कार्कीले भने, 'उत्पादित सक्खर बिक्रीका लागि बजारको कुनै समस्या छैन, बरु मागअनुसार उत्पादन गर्न सकिएको छैन। आगामी दिनमा उखुखेती विस्तार गर्ने योजनामा छौँ।'

सुक्खाग्रस्त क्षेत्रमा पर्ने वडा नं १ र वडा नं ११ राजापानीको भाँडबेँसीमा मात्र सक्खर उत्पादन हुँदै आएको छ। यस नगरपालिकामा उखुसँगै गहत, जुनेलो, बदाम, कपासलगायत परम्परात कृषिखेती हुँदै आएको छ। ११ वडा रहेको उक्त नगरपालिकामा परम्परागत रुपमा किसानले गर्दै आएको रैथाने बाली प्रवर्द्धनका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ। सोही नीतिअनुसार भाँडबेँसीमा उखु किसानलाई लक्षित गरी नगरपालिकाले उखु पेल्ने मेसिन उपलब्ध गराएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिए। 

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिने गरिएको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८११२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend