आइतबार, कात्तिक ११ गते २०८१    
images
images

किन घटे टीभी हेर्ने दर्शक? 

images
शनिबार, माघ १५ २०७८
images
images
किन घटे टीभी हेर्ने दर्शक? 

पछिल्लो समय दर्शकहरु लामो समय दिनुपर्ने टेलिभिजन कन्टेन्ट भन्दा पनि छोटा क्लिपमै रमाउन थालेको, टुक्रे कन्टेन्ट टीभीमा नआउने, टीभीको आधारभुत फर्म्याटमा चासो नदिने पस्ताको उदय भएको व्यवसायीहरूको बुझाइ छ। 

images
images

काठमाडौं- कोरोना महामारी सुरु भएपछि भौतिक सम्पर्क नहुने आमसञ्चारका माध्यम लोकप्रिय भए। रेडियो, टेलिभिजन, इन्टरनेटमा आधारित समाचार पोर्टलहरू चले। 

images
images
images

समाचारमात्रै होइन मनोरञ्जनका माध्यमहरू पनि भौतिक सम्पर्क नहुने नै चल्तीमा आए। लगभग महामारी प्रभावित ठाउँमा यस्तै भयो। पछिल्ला अध्ययनहरूले पनि यस्तै आँकडा देखाएका छन्। 

नेपालमा पनि लगभग यस्तै रह्यो। चलचित्र हल बन्द भएपछि व्यक्तिगत डिभाइसमा उपलब्ध हुने कन्ट‍ेन्टमा उपभोक्ताको आकर्षण बढ्यो। तर नेपालमा सबै कुरामा यो लागू भएको छैन। 

images

घरमै पारिवारिक उपकरणका रुपमा स्थापित टेलिभिजन सेटमै टीभी हेर्नेको संख्यामा यही बेला कमी आएको छ। नेपालमा टेलिभिजन प्रसारणको सेवा दिइरहेका व्यवसायीहरूको भनाइ मान्ने हो भने पछिल्लो समय टेलिभिजन सेटमै टीभी हेर्नेहरूको संख्या आधा घटेको छ।

images

नेपाल केवल टीभी व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय नेपालमा टेलिभिजन सेटमा हेर्नेहरूको संख्या ५० प्रतिशत घटेको छ। 

यसको व्यवस्थिति तथ्यांक त छैन तर व्यवसायीहरूको अनुमानका आधारमा आधा घटेको छ। हामीले यो विषयमा टेलिभिजन प्रसारणको सेवा दिइरहेका अन्य व्यवसायीहरूसँग पनि कुरा गरेका थियौँ, उनीहरूको भनाइ पनि शर्माको भन्दा फरक छैन। 

व्यवसायीहरूका अनुसार पछिल्लो समय टीभी हेर्नेको संख्या कम्तिमा ४० प्रतिशत ग्राहक घटेका छन्। सेवा बापतको शुल्क तिर्नका लागि प्रयोग हुने रिचार्ज गर्ने ग्राहकको संख्या सबैको घटेको छ। लकडाउन भएपछि ग्राहक बढ्ने र आम्दानी बढ्ने अनुमानमा बसेका व्यवसायीहरू उल्टो परिणाम भोग्न बाध्य भएका छन्। 

‘सबै डिजिटल माध्यमहरू बुम हुँदा टेलिभिजनमात्र यस्तो सेवा भयो जसको चमक घट्यो। यस्तो घट्नुमा धेरै कारण छन्’ शर्माले भने। 

नेपालमा आधा घरपरिवारले टेलिभिजन सेवा लिने गरेको अनुमान छ। नेपाल घरपरिवार सर्वेक्षण २०१६/१७ का अनुसार ४४ प्रतिशत घरपरिवारले केवल टेलिभिजन सेवा लिएका थिए। अर्थात् नेपालका ४४ प्रतिशत परिवारले केवल टेलिभिजन सेवा नियमित लिएका थिए। 

पछिल्लो समय यस्तो अनुपात बढेको थियो। शर्माका अनुसार क्लिनफिड लागू हुनुभन्दा पहिले नेपालमा ४० लाख परिवारले टेलिभिजन सेवा लिएका थिए। तर अहिले यो संख्या घटेको उनको भनाइ छ। 

व्यवसायीहरूले सिधै टीभीमा हेर्ने ग्राहको संख्या घट्नुमा पहिलो कारण क्लिनफिड भएको बताएका छन्। त्यस्तै इन्टरनेटमा आधारित स्ट्रिमिङ सेवाले पनि परम्परागत रुपमा टेलिभिजन सेटमा हेर्ने ग्राहकको संख्या घट्दै गएको छ। 

टेलिभिजनमै हेर्ने ग्राहकको संख्या नेपालमा मात्र होइन संसारका प्रमुख अर्थतन्त्रमा पनि घटेको छ। दर्शकको रूचीमा परिवर्तन, कन्टेन्टमा विविधता र रोजाइको अवसर फैलिएकाले सबैको रोजाइमा टीभी पर्न छाडेको पछिल्ला बजार अध्ययनहरूले देखाएका छन्। 

तर नेपालमा भने ‘अधुरो क्लिनफिड’ का कारणले ग्राहक घटेको शर्माको बुझाइ छ।

नेपालमा क्लिनफिड लागू भएपछि विदेशी च्यानलहरू महंगो भएका, उनीहरूको सबै सेवा नेपालमा उपलब्ध नभएको र टीभी बाहेकका अन्य डिजिटल माध्यममा सहजै उपलब्ध भएकाले टीभी हेर्ने ग्राहकको संख्या घटेको शर्माको भनाइ छ। 

‘क्लिनफिड त लागू गरियो। तर त्यो टेलिभिजन सेटमा आउने कन्टेन्टलाईमात्र भयो। अहिले कन्टेन्ट त अन्य माध्यमबाट पनि आइरहेका छन्। उपभोक्ताले विकल्प खोजे’ उनले भने ‘एकातिर क्लिनफिडका कारणले उपलब्ध च्यानल पनि महंगा भए अर्कोतिर पहिलेजस्तो च्यानल तथा कन्टेन्ट आएनन्।’ 

इन्टरनेटमा आधारतित प्रसारण सेवा क्लिनफिड फ्री भएकाले त्यहाँ कन्टेन्ट सुलभ र सस्तो भएको, विविधता पनि धेरै भएकाले ग्राहकहरूले पछिल्लो समय टेलिभिजन सेवामा रिचार्ज गर्न छाडेको शर्माको बुझाइ छ।    

क्लिनफिड बाहेक अरु कारण पनि छन्। जसले गर्दा टेलिभिजनका लागि शुल्क तिर्ने ग्राहक घटे। नयाँ पुस्ताका लागि टेलभिजनमा आउने कन्ट‍ेन्ट रोजाइमा पर्न छाडेका छन्। यसको विकल्पमा डिजिटल स्ट्रिमिङमा कन्टेन्टमा विविधता छ। त्यसमै उनीहरूको ध्यान गएको छ। सबैभन्दा धेरै खर्च गर्ने र जोडबल गर्ने पुस्ता नै टीभी बाहेक अन्यत्रै आकर्षित भएपछि स्वत: दर्शक घटेको एक टीभी प्रसारण सेवाप्रदायक बताउँछन्। 

‘ग्राहक घटे, व्यापार नै सकियो भनेर भन्दा मलाई व्यक्तिग रुपमा पनि कठिन हुन्छ। तर साँचो के हो भने स्वात्तै घटेका छन्। व्यापार अझै अवस्था यस्तै रहे एक्लै व्यापार गर्न सकिन्न’ एक व्यवसायीले भने। 

पछिल्लो समय दर्शकहरू लामो समय दिनुपर्ने टेलिभिजन कन्टेन्ट भन्दा पनि छोटा क्लिपमै रमाउन थालेको, टुक्रे कन्टेन्ट टीभीमा नआउने, टीभीको आधारभुत फर्म्याटमा चासो नदिने पुस्ताको उदय भएको व्यवसायीहरूको बुझाइ छ। 

‘अर्को मुख्या कारण भनेको हाम्रो देशभित्रका च्यानलहरूले युटुबमा नि:शुल्क कन्टेन्ट दिइरहेका छन्। जस्ता कार्यक्रम भए पनि टीभीसँगै युटुबमा लाइभ हुन्छन्। यस्तोमा पैसा तिरेर किन टीभी हेर्छन्’ ती व्यवसायीले भने। 


प्रकाशित : शनिबार, माघ १५ २०७८०७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend