काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आईटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए। उनले भने, 'हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भइ काम गरिरहेका छौँ।'
उनका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आईटी पार्कलगायतका आईटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ।
सरकारले ल्याएको अध्यादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए।
मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे। उनले नेपालमा आईटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताए। रासस