शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठेपुल मुक्त बन्यो हल्दिबारी

images
बुधबार, माघ १६ २०८१
images
images
काठेपुल मुक्त बन्यो हल्दिबारी

विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो। अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका छन्।

images
images

झापा- हल्दिबारी गाउँपालिकाले विगत ६ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो।

images
images
images

अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन्। पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए। उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए।

images
images

पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको बताए। 'पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका सबै पुल कच्ची र काठबाट निर्मित थिए,' उनी भन्छन्, 'पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नुपर्ने अवस्था थियो।'

images
images
images

अध्यक्ष लिङ्देनले नै वि.सं. २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गरेका थिए। पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट विनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो।

पाँचवटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ। सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउँछन्।

एकसय वटा पक्की पुल निर्माण गर्न १० करोड रूपैयाँ खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताए। यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उनले जानकारी दिए।

पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ। विगत ६ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताए। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend