शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सीप सिकेर आयआर्जन गर्दै दाङका महिला

images
मंगलबार, माघ १५ २०८१
images
images
सीप सिकेर आयआर्जन गर्दै दाङका महिला

प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार बनाउनका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौनालगायत सामग्री बुन्ने सीप प्रदान गरेको छ।

images
images

दाङ- यहाँका महिला सीप सिकेर आयआर्जन गर्दै आएका छन्। घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।

images
images
images

अहिले यहाँ एकमहिने होजियारी सीपमूलक तालिम सञ्चालन भइरहेको छ। यो तालिम सञ्चालनका लागि उपमहानगरपालिकाले दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। त्यसले गर्दा निःशुल्क रुपमा सीप सिक्न पाउँदा महिला उत्साहित भएका छन्।

images
images

आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्दै आएको घोराही-१३ की चम्फा चौधरीले बताइन्। उनले भनिन्, 'सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।'

images
images
images

यसअघि उनले सुइटर, टोपी, मोजालगायत बुन्न सिकिसकेको बताइन्। विगत एक वर्षदेखि उद्योगमा जोडिएकी उनले ‘डिजाइनर’ समेत भएर अरूलाई सिकाउन थालेकी छिन्।

प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार बनाउनका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौनालगायत सामग्री बुन्ने सीप प्रदान गरेको छ। केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाइसम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ।

ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर देशबाहिर पठाउने गरेको उनले बताइन्। 'यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ', उनले भनिन्, 'सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ।'

यसअघि चुलोचौको र पानी पँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन्।

घोराही-१४ की ३० वर्षीया अनिता डाँगी पनि तालिममा सहभागी भएकी छिन्। अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्न समय नहुने गरेको उनले बताइन्। उद्योगबाट धेरै कुरा सिक्न पाएको उनको भनाइ छ। फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको आशा रहेको छ।

महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदीले सीप सिकाउँदै आएकी छिन्। केन्द्रमा हाल १२ महिलाले सीप सिक्दै आएका छन्। प्रशिक्षक सुवेदी सीप सिकेर व्यावसायिकरुपमा अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्छिन्।

सिकेको सीपले बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उनको अनुभव छ। 'सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको केही समस्या छ', उनले भनिन्, 'स्थानीय सरकारले यसको बजारीकरणका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो।' हाल यही समस्या रहेकाले मुख्य कुरा बजारीकरणका लागि हरेक निकायले पहल गरिदिए सहज हुने उनको भनाइ छ।

साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुने हुँदा अहिले स्थानीय सरकारको सहयोगमा सीप प्रदान गर्न सहज भएको उनी बताउँछिन्। कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदी बताउँछिन्। प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आएकी छिन्।

एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाउने उनको भनाइ छ। तालिमपश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफूले काठमाडौं लगेर बजारीकरण गरिदिने उनी बताउँछिन्। रासस


प्रकाशित : मंगलबार, माघ १५ २०८११२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend