शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

images
सोमबार, माघ १४ २०८१
images
images
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्। कुल ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रूपैयाँभन्दा बढी भित्रिएको छ।

images
images

म्याग्दी- रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन्। उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन्।

images
images
images

बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन्। यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए। 'पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ', मगरले भने।

images
images

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो। तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ। गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्। कुल ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रूपैयाँभन्दा बढी भित्रिएको छ।

images
images
images

पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रूपैयाँको सुन्तला बिक्री भएकोमा यसवर्ष दोबरले आम्दानी बढेको जानकारी दिए।

'पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ', पाइजाले भने। 

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। विसं २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेतीलाई विस्तार गर्दै लगेका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ। नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ।

दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन्। विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन्।

बेनीमा व्यवसाय गर्दै आएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तलाखेती गरेका छन्। अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छिन्।

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ। दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुँदै आएको छ। सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताइन्।

'अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ', गर्वुजाले भनिन्। 

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ। बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ। गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ। 

सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए। जिल्लामा यसवर्ष ३३ करोड ४६ लाख रूपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए

म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चारसय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एकसय २० रूपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्। रासस


प्रकाशित : सोमबार, माघ १४ २०८११२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend