शनिबार, माघ १२ गते २०८१    
शनिबार, माघ १२ २०८१
images
images

सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि प्रधानमन्त्री ओलीले भने - अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ११ २०८१
images
images
सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि प्रधानमन्त्री ओलीले भने - अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन

यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट-नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भइ सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ।
 
‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ।
 
प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनी सो कार्यक्रममा सरिक भएका हुन्।
 
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरुलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे।

images
images
images

उनले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए।
 
यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट-नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भइ सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए।
 
'सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो। अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन। मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश। फाइदा हुने कामकुराहरुमा सरकारको ध्यान जानेछ। हाम्रा प्रयासहरु सदैव यसैतर्फ केन्द्रित छन्' उनले भने। 
 
कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए।

images

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन

images
images
images

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरु, मूख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत र यहाँ उपस्थित हुनुुभएका सम्पूर्ण महानुुभावहरु!

आज खुसीको दिन हो। हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ। केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउनुुभएको थियो- ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड?’ भनेर। साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो। यो बाटो नबन्दा हरेकौँ वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुुःखदायी अवस्था थियो। त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे। त्यो गीत त्यसैकारण उब्जिएको थियो-‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत। त्यो जनताको आवाज गीतका रुपमा घन्किएको थियो। जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे। 

आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड। अब सुरुङका रुपमा बन्यो। अब पहिरो नजाने र नभत्किने गरी बन्यो। बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो। सफलतापूर्वक बन्यो। म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए। तर हुन्छ, हुँदोरहेछ। सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ।

यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छु। बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडबाडदेखि लिएर सबै कुराहरुको आदानप्रदान गर्न सक्नुहुन्छ।

आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुुर्‍याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुहुन्छ। अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ। यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थ्रू भइसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन।

अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्यूठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ। त्यसै गरेर कालीगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ। जसबाट सडकको एउटा सञ्जालका रुपमा यसले काम गरेको छ। यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु। छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकामा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु। यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ।

मैले धेरै अगाडि, जतिबेला नागढुुङ्गा-नौबिसे सुरुङखण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युगमा प्रवेश गरेका छौँ। अब विस्तारैविस्तारै दुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन।

धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाका रुपमा सुरुङ मार्गबाट वल्लोबेँसीबाट पल्लोबँसी र अझ पल्लोबेँसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ। पहाडका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौँ।

हामी त्यहाँ लिङ्क रोडहरु बनाउँछौँ, रिभर करिडोरहरु बनाउँछौँ। नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ। त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुुगम बनाउँदै लानेछौँ। विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङमार्गहरु, झोलुङ्गे पुलहरु, पुलहरु, हवाई यातायात, हवाईमार्गहरु, मैदानलगायतका अनेक केबलकारहरुजस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुुगम र रमाइला ठाउँहरु र विकसित ठाउँका रुपमा परिणत गर्नेछौँ। त्यसकारण अब नेपाल विस्तारै दुर्गमबाट सुगम रुपमा, पिछडिएका देशबाट अगाडि बढेको देशका रुपमा, अल्पविकसित देशबाट विकासिल देशका रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुदैछ भन्ने यी कुराहरुले देखाएका छन्। 

म दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईं हामीको खुुसीको हो। यो सिङ्गै देशको खुुसी हो। यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुसी हो। त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व-पश्चिम जानुपर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङमार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो। त्यसकारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुरहरुलाई, इञ्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु।

स्थानीय जनता, जसले यस सुरुङमार्गको निर्माणका लागि सरकारलाई झक्झक्याउने काम, हामी सबैलाई झक्झक्याउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु। यो हामी सबैको सफलता हो। यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ।

यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ। यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ। हामी आशावादी बन्न सक्नुुपर्दछ। अहिलेको सरकार विकासका लागि बनेको छ। यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ। यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ।

अहिले अघिल्लो पटक सुरु भएका कामहरु अगाडि बढेका छन्। अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ।

यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ। तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरुको पनि सहयोग लिन सक्छौँ, अरुको लगानी आमन्त्रण गर्न सक्छौँ, अरुको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकताअनुसार स्वीकार गर्न सक्छौँ। जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ।

यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ। यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्नेछौँ। म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना।


प्रकाशित : शुक्रबार, माघ ११ २०८११७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend