काठमाडौं- भरतपुर महानगरपालिकाले एक अर्ब रुपैयाँको लागतमा पीपीपी मोडलमा बहुउद्देश्यीय व्यावसायिक भवन 'भरतपुर मेट्रो प्लाजा' निर्माण गर्ने भएको छ।
महानगरले सार्वजनिक निजी साझेदारीमा ३ हजार ८ सय ५५ वर्गमिटर क्षेत्रफलमा प्लाजा निर्माणका लागि मनशायपत्र आह्वान गरेको छ।महानगरपालिकाले संक्षिप्त सूचीमा छनोट गर्नका लागि इच्छुकसँग मनशायपत्र मागेको छ। प्लाजाको डिजाइन, विकास निर्माण, वित्त सञ्चालन तथा हस्तान्तरण पद्धतिबाट कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।
परियोजना निर्माणको लागत एक अर्ब रुपैयाँ अनुमान गरिएको छ। परियोजनामा प्लाजासहितको बहुप्रयोग बहुउद्देश्यीय व्यावसायिक भवन, मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थानहरू विकास गर्ने, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधासहितको भवन, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुँरा, दुईतले वेसमेन्ट पार्किङ र मनोरञ्जनलगायतका क्षेत्रहरु रहने गरी प्लाजा निर्माणका लागि मनशायपत्र मागेको हो।
मनशायपत्र बुझाउने कम्पनीले १० वर्षदेखि सहरी पूर्वाधार परियोजना डिजाइन, निर्माण तथा विकस पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ।
यसैगरी समान प्रकृतिको परियोजनाको सञ्चालन र व्यवस्थापनमा विगत १० वर्षमा सम्पादन गरेको कम्तिमा एउटा परियोजनाको अनुभव आवेदकसँग हुनुपर्ने सर्त राखिएको छ।
इच्छुक कम्पनीले फागुन ९ गतेसम्म आवेदन पेस गरिसक्नु पर्ने छ र संक्षित सूची महानगरले फागुन २६ गतेभित्र छनोट गर्ने जनाएको छ।
यसअघि ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का लागेको दुई वर्ष नाघ्दासमेत काम सुरु नभएपछि भरतपुर महानगरपालिकाले आर्या विल्डर्स इन्जिनियरिङ प्रालिसँगको ठेक्का सम्झौता २०८० मंसिरमा तोडेको थियो।
२०७८ साल भदौमा पुष्पकमल दाहाल प्रचण्डले प्लाजाको शिलान्यास गरेका थिए। सार्वजनिक निजी साझेदारीमा तीन वर्षमा निर्माण गर्ने भनिए पनि ठेक्का पाएको कम्पनीले काम सुरु नगरेपछि ठेक्का तोडिएको थियो। अहिले पुन: मनशायपत्र माग गरिएको छ।