पर्वत- पर्वतको मोदी गाउँपालिका-४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुईसय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो।
कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो। गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए।
पुनका अनुसार दुईसय ११ घर, एक विद्यालय र चारवटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ। यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए। उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए।
खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार पाँचसय ६० रूपैयाँको लागतमा सम्पन्न भएको हो। जसमध्ये १९ लाख ७१ हजार नौसय रूपैयाँ बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत एक करोड १६ लाख ८६ हजार छ सय ६० रूपैयाँ खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए।
आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुईवटा इन्टेक ट्यांकी, दुईवटा फिल्टर ट्यांकी, एक वितरण चेम्बर, पाँचवटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ। बस्तीभन्दा माथि रहेको जंगलका लाटा खर्क र सिस्नेरा गरी दुईवटा मुहानबाट पानी ल्याइएको छ। कुल ६ हजार सातसय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए।
घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पुनले बताए। स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन्। वर्षौँदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए।
मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै गएको छ। ढुंगैढुंगाले छाएका घरहरु, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गर्दछन्।
अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गका रुपमा विकास भएको नयाँपुल-देउपुर-लप्सीबोट-देउराली-लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुनहिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन्। रासस