काठमाडौं- नेपालबाट निर्यात सुरू भएको छोटो समयमै सिमेन्ट उद्योगीहरू निरास हुन थालेका छन्। सिमेन्ट निर्यातबाट उत्साहित भए पनि त्यो उत्साह एक वर्ष पनि टिकेन।
भारतमा सिमेन्ट निर्यातका लागि लिनुपर्ने भारतीय गुणस्तरको प्रमाणपत्र नवीकरण नहुँदा अधिकांश उद्योगको निर्यात अवरुद्ध भएको हो। यसअघिकै प्रमाणपत्र बहाल भएका केही उद्योगको सिमेन्टको मात्र निर्यात निरन्तर भइरहेको छ भने नवीकरण मिति समाप्त भएकाहरूको निर्यात रोकिएको छ।
भारतमा सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर प्रमाणपत्र अनिवार्य लिनुपर्छ। निश्चित समयका लागि यस्तो प्रमाणपत्र दिइन्छ जुन मिति समाप्त भएपछि अनिवार्य नवीकरण गराउनुपर्छ। यही प्रमाणपत्र नवीकरण नहुँदा नेपालका उद्योगले सिमेन्ट निर्यात गर्न पाएका छैनन्।
नेपालबाट निर्यात गर्ने उद्योगहरूले लिएको यस्तो प्रमाणपत्रको अवधि अधिकांशको सकिएको छ। एउटा उद्योगककोमात्र जुलाई/अगष्टसम्म रहेको छ। उक्त उद्योगबाहेक धेरैको अवधि सन् २०२४ को अन्त्यमै सकिएको छ भने कतिपयको २०२५ को सुरूवाततिर सकिँदैछ।
अवधि सकिएपछि सबैले नवीकरणका लागि आवेदन दिएपनि त्यसमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्डले निर्णय गरिदिएको छैन। निर्णय नहुँदा सिमेन्ट निर्यात अवरुद्ध भएको छ।
स्रोतका अनुसार नेपालले विभिन्न भारतीय वस्तुको आयातमा प्रतिबन्ध लगाएको र त्यसलाई खुकुलो बनाउन निरन्तरको दबाब पनि नमानेपछि प्रतिक्रिया स्वरुप सिमेन्ट निर्यातमा अड्को थापेको हो। ‘डेरी उत्पादनमा नेपालले लगाएको प्रतिबन्ध खोल्न भारतीय पक्षले निरन्तर लविङ गरिरहेको छ। जुन नमान्दा प्रतिक्रियास्वरुप सिमेन्टको निर्यातमा अड्को थाप्ने नीति लिएको देखिन्छ’ एक उद्योगीले भने।
सिमेन्ट उद्योगीहरूले नेपाल सरकारलाई यस विषयमा निरन्तर रुपमा जानकारी गराउँदै आएका छन्। गतसाता सम्पन्न वाणिज्य वार्ताभन्दा अघि पनि यसबारेमा सरकारलाई उनीहरूले जानकारी गराएका थिए।
आर्थिक वर्ष २०७९/८० देखि नेपालबाट भारतमा सिमेन्ट निर्यात सुरू भएको थियो। बजेटबाट सिमेन्टलाई पनि निर्यातमा प्रोत्साहन दिने व्यवस्था गरेपछि उद्योगीहरूले निर्यात थालनी गरेका थिए। पहिलो वर्ष १० लाख ३ हजार टन सिमेन्ट निर्यात भएको थियो। त्यसपछि दोस्रो वर्ष ३ अर्ब ८५ करोड रुपैयाँको २८ लाख ३९ हजार टन सिमेन्ट निर्यात भएको थियो।
यो वर्षको छ महिनामा ९ लाख टन सिमेन्ट निर्यात भएको छ। यद्यपि यो अवधिमा अधिकांश उद्योगको प्रमाणपत्र बहाल भएकाले निर्यात राम्रै देखिएपनि वृद्धि भएको छैन। यो वर्षको बाँकी छ महिना धेरैको प्रमाणपत्रको बहाल मिति गुज्रिने भएकाले निर्यात करिब ठप्प जस्तै हुने उद्योगीहरूले बताएका छन्।