इटहरी- सिमेन्ट उद्योगको कारण निर्माण व्यवसायीदेखि व्यापारी र उपभोक्तासम्म मारमा परेका छन्। पछिल्लो समय हरेक साता हुने मूल्यवृद्धिले समस्यामा परेका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
७० प्रतिशतसम्म मूल्य वृद्धि भएको जनाउँदै आन्दोलन गरिरहेका ठूला व्यापारीको मागमा उद्योगीहरू मौन छन्। उद्योगीले बेवास्ता गरेपछि सरकारसम्म पुगेका व्यवसायीको गुनासो अझै सम्बोधन हुन सकेको छैन।
गत मंसिरमा पीपीसी सिमेन्टको मूल्य आम उपभोक्ताले ४ सय ८५ रूपैयाँ तिर्दै आएका थिए। सोही समयमा ओपीसी सिमेन्टको मूल्य ५ सय ९० पर्थ्यो। तर पुसको अन्तिम साता पीपीसीको मूल्य ७ सय ५० र ओपीसी ८ सय ५० मा किन्नुपर्ने अवस्था आयो।
आम उपभोक्ताले सिमेन्टको भाउ अचाक्ली बढेपछि व्यापारीलाई कालोबजारी गरेको आरोप लगाउँदै आएका छन्। एक सातामै ४० देखि ८० रूपैयाँसम्म मूल्य फरक परेपछि उपभोक्ताले व्यापारीलाई प्रश्न गरिरहेका छन्।
विराटनगर हार्डवेयर व्यवसायी संघका महासचिव देवीप्रसाद पोखरेल उद्योगले सिन्डिकेट लागु गरेको बताउँछन्। खुला बजारमा कोटा प्रणाली लागु गर्ने र एउटा डिलरलाई तीन गाडीको सीमा तोकेर अभाव सृजना गराउने काम भएको उनले बताए। बजारमा सिमेन्टको कृत्रिम अभाव सृजना गराउने र एक सातापछि भाउ बढाएर दुःख दिएको उनको भनाइ छ।
थप प्रस्ट पार्दै उनले भने, ‘यसबीचमा विद्युत महसुल, पेट्रोलियम पदार्थ तथा कोइला वा अन्य कुनै कच्चा पदार्थको भाउमा कुनै तलमाथि नभएको अवस्था छ। तर पनि ६ वटा उद्योगीको सिन्डिकेटले यो समस्या सृजना भएको हो। सिमेन्ट किन्न पालो पर्खिनुपर्ने। उपभोक्ताले एउटा मूल्यमा भाउ काटिरहेको हुन्छ। पछि गोदाममा अर्कै मूल्यमा आउँछ। त्यस्तो अवस्थामा व्यापारीले कालोबजारी गरेको भन्छन्। अनि कसरी व्यापार गर्ने?’
हार्डवेयर व्यवसायी संघले पश्चिमबाट आएका सिमेन्टका गाडीलाई रोक्न ढुवानी व्यवसायी संघलाई आग्रह गर्यो। अनिश्चितकालका लागि रोकिराख्न आग्रह गरेको संघले उपभोक्तासम्म उद्योगको ज्यादतीबारे सचेत गराउन उद्घोष गरेको छ।
झापा विर्तामोडका व्यापारी देवेन्द्र केसीको गुनासो पनि उस्तै छ। ६ वटा क्लिंकर भएका सिमेन्ट उद्योगीहरूको सिन्डिकेटकै कारण समस्या भएको उनको बुझाइ छ। दिनको ९० हजार बोरा उत्पादन गर्ने उद्योगले १९ हजार बोरामात्र उत्पादन गरेर विकास निर्माणको मौसममा खेलबाड गरेको केसी बताउँछन्।
दिनको २ हजार बोरा सिमेन्ट बिक्री गर्ने गरेका उनले पालो पर्खिँदासम्म मूल्य बढाएर मागभन्दा आधा सिमेन्ट आउने गरेको बताए। पाथीभरा ट्रेडिङ हाउसका मालिक उनले १० वर्षदेखि सिमेन्टको थोक बिक्री गरिरहेका छन्।
नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले पनि उद्योगले सिन्डिकेट लगाएको भन्दै विरोध जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरको व्यवसायीको संयुक्त भेलाले असान्दर्भिक र अस्वाभाविक मूल्य वृद्धिले व्यापारीलाई समस्या भएको बताएको छ। सिमेन्टको कृत्रिम अभाव सृजना गराउने कदमको संघले विरोध जनाएको हो।
निर्माण व्यवसायी शारदा प्रसाद ढकाल सिमेन्ट उद्योगको कारण निर्माण व्यवसायमा तनाव बढेको बताउँछन्। सरकारले भुक्तानी नदिएर समस्या भोगिरहेका व्यवसायीले निजी क्षेत्रबाटै अर्को प्रहारको सामना गर्नुपर्ने दुखद अवस्था सृजना भएको उनको भनाइ छ। निर्माण व्यवसायीको कामको चाप बढेको समयमा भाउ बढाउने नियत सही नभएको बताउँदै उनले यसमा सरकारको समेत समर्थन रहेको अनुमान गरेका छन्।
बिजनेस न्युजसँग कुरा गर्दै उनले भने, ‘हामीले सिमेन्टको मूल्यको आधारमा निर्माण कार्य जिम्मा लिएका हुन्छौँ। अब अत्यधिक भाउ बढेपछि ठूलो निर्माण कार्यमा घाटा धेरै हुन्छ। सरकारले पुरानै भुक्तानी दिएको छैन। यही बीचमा सिमेन्टको मूल्यमा अत्यधिक वृद्धि भएको छ। यस्तो अवस्थामा हामी धेरै समस्यामा छौँ।
सुनसरीमा माधव पाठकको संयोजकत्वमा हार्डवेयर व्यवसायी संघर्ष समिति गठन भएको छ। समितिले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहे पनि कुनै सुनुवाइ भएको छैन। उद्योगीले ग्राहकलाई मार्ने काम गरेको बताउँदै संयोजक भण्डारीले कालोबजारीमा सरकारले आँखा चिम्लिएको बताए।
कात्तिक अन्तिममा ३ सय ७५ मूल्य भएको रहेको सिमेन्ट अहिले आएर ६ सय ५० रूपैयाँ पुग्नुमा सरकारसमेत दोषी रहेको उनको भनाइ छ।
उनले भने, ‘कृत्रिम अभाव सृजना गराउने काम भयो। हरेक दिन २० देखि ४० रूपैयाँ बढाउने काम भएको छ। ७० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ। यो केको लागि भइरहेको छ हामीलाई थाहा छैन।’
झापा, मोरङ र सुनसरीमा मात्रै १८ सय हार्डवेयर व्यवसायी छन्।