काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरी घर भइ काठमाडौं बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी घर भइ ललितपुर बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन्।
पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।