चितवन- भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र रूपमा अघि बढेको छ। महानगरले संघ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रंगशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो।
महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एकसय ५० मजदुरले दैनिक काम गरिरहेका छन्। दुई दिनपछि कामदार थप गरी दुईसय १० पुर्याइने जनाउँदै उनले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताए।
प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिए। उनले भने, 'हामीले १५ प्रतिशत हाराहारी काम गरेका छाैँ। बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ। हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख रूपैयाँ अग्रिम भुक्तानी गरिएको छ।'
महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइन्। संघीय सरकारले चालु आर्थिक यस वर्ष विनियोजन गरेको २५ करोड रूपैयाँ भने आइनसकेको उनले बताइन्। सहरी विकास मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उनले विश्वास व्यक्त गरिन्।
महानगरप्रमुख दाहालले भनिन्, 'दुई महिना अघि अर्थ मन्त्रालयमा फाइल पुगेको छ। अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ। केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु।' प्रदेश र संघीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उनले बताइन्।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माण अगाडि बढाएको हो। रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुईवटा भीआईपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ।
धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिए।
गत असार २३ गते ७८ करोड ५० लाख रूपैयाँमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ। रंगशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिने छ।
महानगरप्रमुख दाहालले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रंगशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताइन्। रासस