काठमाडौं- पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एकसय १६ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए। उनका अनुसार आगालागीबाट एकसय ९० घर, एकसय ३० गोठ, एउटा सरकारी कार्यालय र चारसय ५५ पशुचौपायको क्षति भएको छ।
आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। आगालगीबाट करिब ५० करोड रूपैयाँबराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए।
सबैभन्दा बढी कोशी प्रदेशमा तीनसय ३१ स्थानमा आगलागी भएका छन्। प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुईसय ६९, बागमतीमा ७०, काठमाडौं उपत्यकामा एकसय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एकसय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन्।
दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजोमात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए।
दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए। रासस