भोजपुर- च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ। पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल संरक्षणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगेको हो।
सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा दुई करोड रूपैयाँभन्दा बढी लागतमा पोखरी संरक्षण भइरहेको छ। गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरिरहेको छ। पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुआब्जा दिएर यहाँका दुईवटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको छ।
सम्झौताअनुसार विसं २०८२ को जेठ १४ गतेसम्ममा पूर्ण रुपमा काम सम्पन्न गर्नेगरी दुई करोड १३ लाख रूपैयाँ लागतमा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। पोखरी निर्माणको वित्तीय प्रगति ६५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए।
'च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण भइरहेको छ,' प्रशासकीय अधिकृत भट्टराईले भने, 'हालसम्म यहाँको ७५ प्रतिशत काम सम्पन्न भएको छ। आगामी जेठ महिनासम्म काम सक्नुपर्ने सम्झौता रहेको छ। तोकिएको समय अवधिमा सम्पन्न गराउने लक्ष्यका साथ काम अघि बढाएका छौँ।' केन्द्र सरकारबाट आउने बजेट समयमा नआउँदा काममा ढिलाइ हुने गरेको उनको भनाइ छ।
संरक्षण भइरहेको पोखरीलाई पर्खालले घेर्ने, मन्दिर निर्माण गर्ने, पोखरी वरिपरि बगैँचा निर्माण गर्ने, शौचालय, विश्रामस्थल, बालबालिका र ज्यष्ठ नागरिकका लागि पार्क बनाउने र पोखरीमा ‘बोटिङ’ गर्न सक्नेगरी संरचना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर थप विकास तथा संरक्षणको गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको अध्यक्ष राईको भनाइ छ। पालिका केन्द्रको मुख्य पर्यटकीय क्षेत्र रहेकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम भइरहेको उनको भनाइ छ।
'गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ,' अध्यक्ष राईले भने, 'यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डीपीआर बनाइसकेका छौँ। च्याङ्ग्रे पोखरी र पञ्चकञ्या देवस्थलको संरक्षण गरिरहेका छौँ। तर स्थानीय सरकारलाई आएको बजेटबाट सबै काम गर्न निकै समस्या छ। यो स्थानलाई स्थापित पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ।'
पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेकाले यसको विकाससँगै प्रचारप्रसारमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ। पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकहरु पुग्ने गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन्। परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको कथन छ।
परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासी निरबहादुर फुयालले बताए। 'च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको छुट्टै धार्मिक तथा ऐतिहासिक महत्व छ,' उनले भने, 'यसको विकासमा स्थानीय सरकारले गरिरहेको काम प्रशंसायोग्य छ। यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्छ। मैले पनि पोखरीको संरक्षणका लागि जग्गा प्रदान गरेको छु।'
यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ। अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रुपमा विस्तार भएको छ। विश्राम गर्ने, घुम्ने, डुल्न, तस्बिर लिन, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँका आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए। यसको संरक्षणपश्चात् यहाँको पयर्टनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ।
विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुने स्थानीयवासीको भनाइ छ। ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्नसके आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ। यहाँको पर्यटकीय क्षेत्रको थप विकासका लागि यो पोखरी नजिकै रहेको काली खोलामा झोलुंगे पुलसमेत निर्माण सम्पन्न भएको छ। यो पुलमा पुगेर मानिसहरुले पोखरीको दृश्यावलोकन गर्दै आएका छन्। रासस