काठमाडौं- अवैधरूपमा भन्सार छलेर लैजान लागेको सुनसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरी ईटहरी उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय शिवशंकर चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइछिपाइ भन्सार छलेर लैजान लागेको सुनसहित फेला पारी पक्राउ गरिएको हो।
प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान र शिव शंकरको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।